शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
एमाले महाधिवेशन

कर्णाली भूगोलमा ओली प्यानलको ‘क्लिन स्विप’

पूर्वमाओवादी र फ्लोर क्रस गर्ने पराजित
बिहीबार, ०३ पुस २०८२, १५ : ४७
बिहीबार, ०३ पुस २०८२

सारांश

  • एमालेको ११औँ महाधिवेशनमा कर्णाली प्रदेशबाट केपी ओली प्यानलका सबै उम्मेदवार विजयी भएका छन्।
  • खुला, महिला र ४० वर्ष मुनिको खुला केन्द्रीय सदस्य पदमा ओली प्यानलका उम्मेदवारहरूले जित हासिल गरे।
  • पराजित भएका केही उम्मेदवारहरू पूर्व माओवादी र विवादित पृष्ठभूमिबाट आएका थिए।

सुर्खेत । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (भूगोल) तर्फको कर्णाली प्रदेशको मतपरिणाम अनुसार केपी ओली प्यानलबाट लडेका सबै जना निर्वाचित भएका छन् ।

बिहीबार सार्वजनिक मतपरिणाम अनुसार कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने खुला, महिला र ४० वर्ष मुनिको खुला केन्द्रीय सदस्य पदमा ओली प्यानलका सबै उम्मेदवार विजयी भएका हुन् । कर्णाली भूगोल (खुला) तर्फ ५ सिटका लागि भएको निर्वाचनमा जित बहादुर मल्ल सर्वाधिक १९५६ मत ल्याएर विजयी भएका छन् ।

हाल कर्णाली प्रदेश सभा सदस्य समेत रहेका मल्ल पूर्वमन्त्री समेत हुन् । मल्ल मुगुबाट प्रतिनिधित्व गर्छन् । यस्तै, प्रभावशाली युवा नेता विष्णु रिजालले १७९० मत प्राप्त गरी विजय सुनिश्चित गरे । उनी यसअघि पनि केन्द्रीय सदस्य थिए । 

खुलातर्फ नै नवराज रावत (१७४८ मत), दल फडेरा (१६०९ मत) र डम्बर बहादुर सिंह (१५८८ मत) विजयी भएका छन् । पूर्व स्वास्थ्य राज्यमन्त्री रावत यसअघि पनि केन्द्रीय सदस्य नै थिए । 

भूगोल खुल्ला केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गरेका कुर्मराज शाही (७८६), ठम्मर बहादुर विष्ट (८७५) र लाल बहादुर महतारा (७८३) भने पराजित भएका छन् । पराजित भएकाहरूको नाम ईश्वर पोखरेलको प्यानलमा समावेश छ ।

पराजित भएका कुर्मराज शाही विवादित पात्र हुन् । तत्कालीन नेकपा कालमा एमालेको निर्णय विरुद्ध ‘फ्लोर क्रस’ गरेर बदनाम पात्र हुन् उनी । मन्त्री पद पाउनकै लागि पार्टीको निर्णय विरुद्ध गएका उनी एमाले विभाजनपछि एकीकृत समाजवादीमा लागेका थिए ।

फेरि अहिले एमालेमा फर्किएका उनलाई प्रतिनिधिले पत्याएनन् । उनी कालिकोटका हुन् । यस्तै पराजित भएका अर्का पात्र ठम्मरबहादुर विष्ट पूर्व माओवादी नेता हुन् । उनी पनि सांसद हुँदै गर्दा एमालेमा प्रवेश गरेका थिए ।

सुर्खेतका विष्टले ओली समूहबाट टिकट नपाएपछि पोखरेल समूहबाट उम्मेदवारी दर्ता गरेका थिए । उनी यसअघि मनोनीत केन्द्रीय सदस्य थिए ।

केन्द्रीय सदस्य भूगोल कर्णाली (महिला) तर्फको ३ सिटका लागि भएको भिडन्तमा मोहन माया ढकाल (भण्डारी) सर्वाधिक १९२३ मतसहित विजयी भएकी छिन् । वीरेन्द्रनगर नगरपालिकाकी मेयर समेत रहेकी ढकाल यसअघि पनि केन्द्रीय सदस्य थिइन् ।

कुनै बेला विद्या भण्डारीको खास मान्छेका रूपमा चिनिने मोहनमाया पछिल्लो समय ओलीतिर खुलेर लागेकी छिन् । सोही अनुसार केन्द्रीय सदस्यको टिकट पाइन् । महिलातर्फ नै इन्दिरा कुमारी पन्थी (सञ्ज्याल) ले १८५२ र मिनासिंह रखालले १८१४ मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । दैलेखकी रखाल यसअघि केन्द्रीय सदस्य नै थिइन् ।

यहाँ मेनुका पछाई (१०९२ मत) पराजित भइन् । उसो त उनी ओली समूहकै भनेर चर्चा थियो । तर, उनले टिकट नपाएपछि बागी उम्मेदवारी दिएकी थिइन् । विद्यार्थी राजनीतिबाट उदाएकी जुम्लाकी युवा नेतृ हुन्, उनी ।

यसैगरी, भूगोल कर्णाली (४० वर्ष मुनि) को १ सिटका लागि भएको प्रतिस्पर्धामा रुद्रबहादुर शाही भारी मतान्तरले विजयी भएका छन् । शाहीले १४१६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी तपेन्द्र बहादुर शाहीले ८११ मत मात्र प्राप्त गरे । उनीहरू दुवै जना ओली समूहकै हुन् ।

यद्यपि तपेन्द्र शाहीले टिकट नपाएपछि पोखरेल समूहका उनको नाम समावेश छ । विजयी भएका रुद्रबहादुर शाही युवासंघमा लामो समय काम गरेका युवा नेता हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप