सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रधानमन्त्रीबाटै जेनजी विद्रोहीलाई अपराधी करार गर्न खोजिँदैछ : विप्लव

शनिबार, १२ पुस २०८२, १७ : ४१
शनिबार, १२ पुस २०८२

काठमाडाैँ । नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री सुशीला कार्कीले जेनजी विद्रोहीहरुलाई अपराधी करार गर्ने प्रयास गरिरहेको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो आरोप लगाएका हुन् ।

महासचिव विप्लवले जेनजी विद्रोहले बनाएको सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले काँग्रेस, एमाले र माओवादीका कार्यकर्तालाई देखाएर जेनजी विद्रोहीहरुलाई अपराधी करार गर्ने काम गरिरहेकाले देशको अवस्था बेहाल हुन पुगेको जिकिर समेत गरे । विभिन्न फुटेजहरु हेरेर काँग्रेस, एमालेका कार्यकर्ताहरुले मेरो घर जलाएको रहेछ भन्न लगाएर सरकारले जेनजी विद्रोहीहरुलाई घुमाउरो पाराले अपराधी बनाउने कोशिस गरिरहेको उनको भनाइ थियो ।

महासचिव विप्लवले जेनजी विद्रोह असफल भइसकेको र त्यसमा सरकारको भूमिका रहेको दाबी समेत गरे । उनले भने, ‘हामी के देख्छौ भने नेपालको राजनीति संक्रमणकालिन अवस्थामा नै छ । संकट पनि छ । जेनजी विद्रोह असफल नै भइसक्यो । जेनजीको असफलतालाई लगेर फेरि अर्को ठाउँमा यसलाई दुरुपयोग गर्न खोजेको, अपव्याख्या गर्न खोजेको देखिन्छ । जसरी हिजो माओवादीलाई उग्रवादी आतंककारी भनेर अहिले ब्याख्या गर्न खोजिँदैछ ।'

उनले थप भने, ‘जेनजीबाट पनि त्यस्तै के । अहिले जेनजीको तरिका के छ भने फोटो हेरीहेरी, सीसीटीभीको फुटेज हेरीहेरी मेरो घरमा त काँग्रेस जलाउन आएको रहेछ भन्छ । मेरो घरमा एमालेले जलाएको रहेछ, मेरो घर त एमाले भित्रैकाले जलाएको रहेछ । कस्तो व्याख्या हो यो ? विद्रोह त्यस्तो हुन्छ त ? त्यसमा सहमत भएर जति पनि लडन गए नि । ती विद्रोही हुन नि । २३ र २४ गते जति पनि युवाहरु, नागरिकहरु, जेनजीहरु सडकमा निस्किए । त्यो त यो व्यवस्थाबाट वाक्क दिक्क भएको, भ्रष्टाचारबाट वाक्क दिक्क भएर परिवर्तन गर्न हिँडेका हुन् नि । ती एमाले भएर निस्केका हुन र । ती काँग्रेस, माओवादी भएर निस्केको मान्छे होइनन् नि । ती यसलाई फेर्नुपर्छ भनेर सडकमा आएका मान्छे हुन् नि । अब त्यही विद्रोहबाट सुशीला कार्कीजीको सरकार आउने । अनि उहाँले आफूलाई सत्तामा ल्याउने मान्छेलाई अपराधी करार गर्न खोज्ने हो भने अनि यो देशको हालत के हुन्छ ?'

विगतमा विद्रोहलाई पनि आतंककारी भनेर बद्नाम गर्न खोजिएको भन्दै महासचिव विप्लवले अहिले जेनजी विद्रोहलाई पनि बदनाम गराउने काम भइरहेको बताए । –न्युज एजेन्सी नेपाल

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप