सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

एम्बाप्पेलाई पछि पार्दै गोल्डेन बुट जित्ने मेसीका लागि अन्तिम अवसर

आइतबार, ०३ साउन २०८३, २२ : ३६
आइतबार, ०३ साउन २०८३

सारांश

  • फिफा विश्वकप २०२६ को गोल्डेन बुटको दौडमा किलियन एम्बाप्पे १० गोल र ४ असिस्टसहित शीर्ष स्थानमा छन् ।
  • लियोनेल मेसी ८ गोल र ४ असिस्टसहित दोस्रो स्थानमा छन्, जसका लागि गोल्डेन बुट जित्नु चुनौतीपूर्ण छ ।
  • मेसीले गोल्डेन बुट जित्नका लागि फाइनलमा कम्तीमा ३ गोल वा २ गोलसहित १ असिस्ट गर्नुपर्नेछ ।

काठमाडौँ । फिफा विश्वकप २०२६ को गोल्डेन बुट (सर्वाधिक गोलकर्ता) को प्रतिस्पर्धा निकै रोमाञ्चक मोडमा पुगेको छ । तेस्रो स्थानका लागि भएको खेलमा फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पेले इंग्ल्यान्डविरुद्ध दुई गोल र एक असिस्ट गरेपछि गोल्डेन बुटको दौडमा आफ्नो अग्रता बलियो बनाएका छन् ।

तथ्याङ्क अनुसार एम्बाप्पे अहिले १० गोल र ४ असिस्टसहित शीर्ष स्थानमा छन् । उनले प्रतियोगिताभरि कुल ७६९ मिनेट मैदानमा बिताएका छन् ।

यसअघि गोल्डेन बुटको दौडमा अर्जेन्टिनाका कप्तान लियोनेल मेसी एम्बाप्पेभन्दा अगाडि थिए । तर आइतबारको खेलपछि एम्बाप्पे दुई गोलले अगाडि निस्किएका छन् । मेसी अहिले ८ गोल र ४ असिस्टसहित दोस्रो स्थानमा छन् । नेपाली समय अनुसार सोमबार बिहान १२ः४५ बजे स्पेनविरुद्ध हुने फाइनल खेल मेसीका लागि उपाधिसँगै गोल्डेन बुट हात पार्ने अन्तिम अवसर हुनेछ । यद्यपि, एम्बाप्पेलाई उछिन्न मेसीका लागि गणितीय रूपमा निकै चुनौतीपूर्ण समीकरण बनेको छ ।

मेसी र एम्बाप्पे दुवैको हाल समान ४–४ असिस्ट छ । फिफाको नियम अनुसार गोल संख्या बराबर भएमा पहिले असिस्ट संख्या हेरिन्छ । यदि असिस्ट पनि बराबर भएमा मैदानमा कम समय बिताउने खेलाडी विजेता बन्छ । हाल मेसीले ७१२ मिनेट मैदानमा बिताएका छन् । यदि उनले फाइनलमा थप कुनै असिस्ट नगरी मात्र २ गोल गरेमा उनको पनि १० गोल र ४ असिस्ट पुग्नेछ । तर, फाइनल खेलमा ५७ मिनेटभन्दा बढी मैदानमा बिताएमा उनको कुल समय एम्बाप्पेको ७६९ मिनेटभन्दा बढी हुने भएकाले टाइब्रेकरका आधारमा एम्बाप्पे नै गोल्डेन बुटको हकदार बन्नेछन् ।

यस्तो अवस्थामा मेसीले स्पष्ट रूपमा गोल्डेन बुट जित्नका लागि फाइनल खेलमा कि त कम्तीमा ३ गोल गर्नुपर्नेछ, वा २ गोल गर्नुका साथै कम्तीमा थप १ असिस्ट (कुल ५ असिस्ट) गर्नुपर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप