यो वर्षको ‘भीपी अग्रवाल उत्कृष्ट शिक्षक अवार्ड’ पाँच शिक्षकलाई
काठमाडौँ । देशभरका सामुदायिक विद्यालयहरूमा कार्यरत शिक्षकहरूमध्येबाट पाँच जना शिक्षक शिक्षिकाहरूलाई यो वर्षको ‘भीपी अग्रवाल उत्कृष्ट शिक्षक अवार्ड’ प्रदान गरिएको छ। भीपी अग्रवाल साइन्स फाउन्डेसनद्वारा शुक्रबार राजधानीमा आयोजित एक विशेष समारोहकाबिच उनीहरूलाई सो पुरस्कार वितरण गरिएको हो।
पुरस्कृत हुनेहरूमा मंगल माध्यमिक विद्यालय कीर्तिपुर (काठमाडौँ) की नेपाली विषयकी शिक्षिका अञ्जना महर्जन, सोही विद्यालयकी अङ्ग्रेजी विषयकी शिक्षिका शर्मिला प्रधान छन् ।
त्यस्तै, नारायणी नमुना माध्यमिक विद्यालय भरतपुर (चितवन)का गणित विषयका शिक्षक राजकुमार कँडेल, श्रम राष्ट्रिय माध्यमिक विद्यालय, टुसाल (काठमाडौँ) का सामाजिक अध्ययन विषयका शिक्षक प्रकाश आचार्य र सोही विद्यालयका विज्ञान विषयका शिक्षक मुकुन्द प्रसाद काफ्ले रहेका छन्। पुरस्कृत हुनेहरूलाई जनही २ लाख २२ हजार २ सय २२ रुपैयाँ नगद पुरस्कारका साथै सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा रहेकी फाउन्डेसनकी उपाध्यक्ष तथा प्राध्यापक डाक्टर भीपी अग्रवालकी धर्मपत्नी श्रीमती ललिता अग्रवाल र फाउन्डेसनका अध्यक्ष दिलीप अग्रवालले संयुक्तरुपमा पुरस्कार वितरण गरेका थिए।

- के हो भीपी अग्रवाल उत्कृष्ट शिक्षक अवार्ड
यो पुरस्कार देशका सामुदायिक विद्यालयहरूमा निरन्तर ५ वर्षभन्दा बढी समयदेखि अध्यापन गराइरहेका शिक्षकहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले भीपी अग्रवाल साइन्स फाउन्डेसनले स्थापना गरेको हो।
पुरस्कार छनोट समितिका संयोजक तथा पूर्व सचिव केदार बहादुर अधिकारीका अनुसार, पुरस्कारका लागि देशभरबाट आवेदन आह्वान गरिएको थियो। जसमध्येबाट १११ जना शिक्षकहरूको आवेदन प्राप्त भएको थियो। आवेदनको मूल्याङ्कन विभिन्न चरणमा गरिएको थियो।

पहिलो चरणमा विद्यालयको उत्तीर्ण प्रतिशत र विषयगत ग्रेडका आधारमा अङ्क प्रदान गरिएको थियो। त्यसपछि, छनोटमा परेका उत्कृष्ट छ जना शिक्षकहरूको शैक्षिक विवरणको परीक्षण गरिएको थियो।
अन्तिम चरणमा, तीन जना विज्ञहरूको समितिले शिक्षकहरूको प्रस्तुतीकरणको मूल्याङ्कन गरेको थियो। मूल्याङ्कनका आधारहरूमा विषयवस्तुको ज्ञान र प्रस्तुति, शिक्षणमा सिर्जनशीलता र नवीन प्रयोग, विद्यार्थीको सिकाइ स्तरमा सहयोग, आफूले गरेको प्रयोगप्रतिको आत्मविश्वास, सहकार्यको अभ्यास र आवश्यकता अनुसार शिक्षण विधिको छनोट गर्ने क्षमता जस्ता विषयहरू समावेश थिए।

- को हुन् भीपी अग्रवाल ?
प्राध्यापक डाक्टर विश्वनाथ प्रसाद अग्रवाल (भीपी अग्रवाल) नेपालको विज्ञान र शिक्षा क्षेत्रका मूर्धन्य व्यक्तित्व थिए। उनले त्रिभुवन विश्वविद्यालयमा रसायन शास्त्रको प्राध्यापकको रूपमा लामो समय सेवा गर्नुभएको थियो। अमेरिकाबाट कृषि रसायनमा विद्यावारिधि र जर्मनीमा हम्बोल्ट फेलोसिप मार्फत अनुसन्धान गरेका उनले विदेशमा सिकेको ज्ञान र अनुसन्धानको सीपलाई आफ्नै देशमा प्रयोग गर्ने अठोटका साथ नेपाल फर्केका थिए ।
उनीले नेपालमै पहिलोपटक निजी अनुसन्धान संस्था रिसर्च ल्याब्रोरेटरी फर बायोटेक्नोलोजी एण्ड बायोकेमेस्ट्री स्थापना गरेका थिए । रकफेलर फाउन्डेसन जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूबाट अनुदान प्राप्त गरी सो ल्याबमा उनले थुप्रै युवा विद्यार्थीहरूलाई अनुसन्धानमा संलग्न गराएका थिए । उनी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्राज्ञ र संविधान सभा सदस्य पनि थिए ।

शिक्षण पेसालाई नै आफ्नो जीवनको प्रमुख उद्देश्य बनाएका उनले आफ्नो घरमै पनि गाउँका विपन्न विद्यार्थीहरूलाई राखेर पढाउने गर्थे । महिला शिक्षामा उनको विशेष योगदान रहेको छ।
काठमाडौँ वुमेन्स कलेजको स्थापना र गाउँघरमा विद्यालय तथा कलेजहरूको स्थापनामा उनको सक्रिय भूमिका थियो। अग्रवालले आफ्नो निधन हुनु अगावै शिक्षा र विज्ञानको क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले यो फाउन्डेसनको स्थापना गरेका थिए ।

पुरस्कार ग्रहण गर्दै मंगल माध्यमिक विद्यालयकी शिक्षिका अञ्जना महर्जनले शिक्षण पेसा आफ्नो लागि जागिर मात्रै नभई समाज र राष्ट्र निर्माणको महत्त्वपूर्ण दायित्व भएको बताइन् ।
‘आज प्राप्त यो सम्मानले मेरो जिम्मेवारीलाई अझ बढाएको अनुभूति गरेकी छु,’ उनले भनिन्, ‘उनले यो सम्मानलाई सम्पूर्ण शिक्षक समुदायप्रतिको सम्मानको रूपमा लिएकी छु ।’
त्यसैगरी, नारायणी नमुना माध्यमिक विद्यालयका गणित शिक्षक राजकुमार कँडेलले आफ्नो लागि यो पुरस्कार मात्रै नभएर, यो मेरो सहकर्मी, मेरो विद्यालय, मेरो अभिभावकहरू, मेरो शैक्षिक अभिभावकहरू, मेरा प्यारा विद्यार्थी भाइबहिनीहरू सबैको विश्वास र सहयोगको प्रतिफल समेत भएको बताए । उनले गणित जस्तो कठिन विषयमा पनि विद्यार्थीहरूले राम्रो नतिजा ल्याउँदा आफूलाई खुसी लाग्ने बताए।
कार्यक्रममा फाउन्डेसनका अध्यक्ष दिलीप अग्रवालले शिक्षा प्रदान गर्नलाई नभईकन नहुने एउटा विषय शिक्षक भएको भन्दै उत्कृष्ट शिक्षकहरूलाई खोजी खोजी सम्मान गर्ने र उनीहरूलाई अरू शिक्षकहरूका लागि पनि प्रेरणाको स्रोत बनाउने फाउन्डेसनको उद्देश्य रहेको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
-
१ करोड १० लाख खर्च भइसकेको विद्यालय भवन ६ वर्षदेखि बेहाल
-
संसदीय सुनुवाइ समितिको बैठक बस्दै, प्रस्तावित निर्वाचन आयुक्तका सम्बन्धमा प्राप्त उजुरीमाथि छलफल हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण