विराटनगर आइपुग्याे कार्गो रेल, तस्बिरहरू
सारांश
- कोलकाता बन्दरगाहबाट नेपालका लागि पहिलो पटक सञ्चालन गरिएको रेल कार्गो सेवा अन्तर्गत पहिलो रेल विराटनगरस्थित नेपाल भन्सार यार्डमा आइपुगेको छ।
- यस रेल कार्गो सेवाले तेस्रो मुलुकबाट आयात हुने मालसामानको ढुवानीलाई सहज, सुरक्षित र सस्तो बनाउने उद्देश्य राखेको छ।
- यस सेवाको विस्तारले पूर्वी नेपालका उद्योगी तथा आयातकर्तालाई ठुलो राहत पुग्ने र पारवहन लागत घट्ने अपेक्षा गरिएको छ।
विराटनगर। भारतको कोलकाता बन्दरगाहबाट नेपालका लागि पहिलो पटक सञ्चालन गरिएको कार्गो रेल विराटनगर आइपुगेको छ। तेस्रो मुलुकबाट आयात हुने मालसामानको ढुवानीलाई सहज, सुरक्षित र सस्तो बनाउने उद्देश्यले सुरु गरिएको रेल कार्गो सेवा अन्तर्गत पहिलो रेल आज विराटनगरस्थित नेपाल भन्सार यार्डमा आइपुगेको हो।
कोलकाताबाट प्रस्थान गरेको उक्त रेलमा नेपालको स्वस्तिक आयल इन्डस्ट्रिजका लागि तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ बोकेका ४० फिटका ४० वटा कन्टेनर रहेका छन्। मर्सक लाइनका ती कन्टेनरमा सुरक्षित ढुवानीका लागि इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टमसमेत जडान गरिएको छ।
नेपालका लागि पहिलो पटक कोलकाता बन्दरगाहदेखि विराटनगरसम्म रेलमार्फत कार्गो ढुवानी सेवा सञ्चालनमा आएको हो। नेपाली महावाणिज्यदूतावास, कोलकाता भन्सार, कोलकाता पोर्ट तथा भारतीय कन्टेनर निगम लिमिटेडको समन्वय र सहकार्यमा यो सेवा सञ्चालनमा आएको हो।
यसअघि तेस्रो मुलुकबाट आयात हुने मालसामानको रेल कार्गो सुविधा नेपालको वीरगञ्ज नाकामा मात्र सीमित थियो। अब विराटनगर नाकासम्म समेत रेल कार्गो सेवा विस्तार भएपछि पूर्वी नेपालका उद्योगी तथा आयातकर्तालाई ठुलो राहत पुग्ने उद्योग सङ्गठन माेरङका अध्यक्ष नन्दु राठीले बताए।
रेल कार्गो सेवा पूर्ण रूपमा सञ्चालनमा आएपछि एकैपटक ४५ वटासम्म ४० फिटका कार्गो कन्टेनर रेलमार्फत विराटनगर ल्याउन सकिनेछ। सडक मार्गको तुलनामा रेलमार्गबाट हुने ढुवानी सुरक्षित, भरपर्दो र कम लागतमा हुने भएकाले आयातकर्ताको ढुवानी खर्च घट्ने उद्योगी सुयष प्याकुरेल बताउँछन्।
कोलकाताबाट विराटनगरसम्म रेलमार्फत करिब २४ घण्टामै मालसामान आइपुग्ने भएकाले ढुवानी समयसमेत घट्नेछ। यसबाट बन्दरगाहमा नेपाली आयातकर्ताले व्यहोर्नुपर्ने विलम्ब शुल्क, कन्टेनर डिटेन्सन चार्ज तथा सडक ढुवानीको अतिरिक्त भार कम हुने विश्वास गरिएको छ।
नेपाल–भारत पारवहन सम्झौताले तेस्रो मुलुकबाट हुने आयात–निर्यातका लागि सडक, रेल तथा जलमार्ग प्रयोग गर्न पाउने व्यवस्था गरेको छ। सोही व्यवस्थाअनुसार भारत सरकारको केन्द्रीय अप्रत्यक्ष कर तथा भन्सार बोर्डले इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टमसम्बन्धी नियमावली संशोधन गरी कोलकाता, हल्दिया र विशाखापट्टनम बन्दरगाहबाट रेलमार्फत विराटनगर भन्सारसम्म कार्गो ढुवानी गर्न सकिने व्यवस्था गरेको थियो।
त्यसपछि नेपाली महावाणिज्यदूतावासको पहलमा कोलकाता भन्सारले जोगबनीस्थित भारतीय भन्सार यार्ड हुँदै विराटनगरस्थित नेपाल भन्सार यार्डसम्म रेलमार्फत मालसामान ढुवानी गर्ने प्रक्रियागत व्यवस्था मिलाएको हो।
विराटनगरसम्म रेल कार्गो सेवा सञ्चालनमा आएसँगै पूर्वी नेपालका उद्योगी तथा आयातकर्ताको पारवहन लागत घट्नुका साथै नेपाली उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमता थप बलियो हुने अपेक्षा गरिएको छ।
_dvzzGnzTFs.jpg)
_RTTv5dVaK4.jpg)
_iydNlhYqeG.jpg)
_S9TJ4KkC2G.jpg)
_S929HL7A2w.jpg)
_f8aLDEJWy0.jpg)
_0ouxtDxHil.jpg)
_6IcmjiikCC.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण