सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फिफा विश्वकप २०२६

विश्वकप फाइनल: स्पेनको टिम यथावत्, अर्जेन्टिनाको सुरुवाती ११ मा तीन परिवर्तन

सोमबार, ०४ साउन २०८३, ०० : ०३
सोमबार, ०४ साउन २०८३

सारांश

  • स्पेन र अर्जेन्टिना नेपाली समय अनुसार सोमबार बिहान १२:४५ बजे फिफा विश्वकप २०२६ को फाइनलमा भिड्दैछन् ।
  • स्पेनले सेमिफाइनलको विजयी टोलीलाई नै फाइनलमा पनि निरन्तरता दिएको छ भने अर्जेन्टिनाको सुरुवाती ११ मा तीन परिवर्तन गरिएको छ ।
  • यो फाइनल विश्वकप इतिहासमा सर्वाधिक गोलकर्ताको कीर्तिमानका लागि पनि महत्त्वपूर्ण छ, जहाँ एम्बाप्पे मेसीभन्दा एक गोलले अगाडि छन् ।

काठमाडौँ । युरोपियन च्याम्पियन स्पेन र साबिक विश्वविजेता अर्जेन्टिना नेपाली समय अनुसार सोमबार बिहान १२ः४५ बजे फिफा विश्वकप २०२६ को बहुप्रतीक्षित फाइनलमा आमनेसामने हुँदैछन् ।

यस ऐतिहासिक महाभिडन्तका लागि दुवै टोलीको सुरुवाती ११ सार्वजनिक भएको छ । कोपा अमेरिका विजेता अर्जेन्टिना आफ्नो जर्सीमा चौथो तारा थप्ने लक्ष्यका साथ मैदान उत्रँदैछ भने यूरो विजेता स्पेन दोस्रो पटक विश्वकपको उपाधि उचाल्ने अभियानमा रहेको छ ।

उपाधि भिडन्तका लागि स्पेनका मुख्य प्रशिक्षक लुइस डे ला फुएन्टेले सेमिफाइनलमा फ्रान्सलाई पराजित गर्दाकै विजयी सुरुवाती टोलीलाई मैदान उतारेका छन् । स्पेनको टोलीमा कुनै पनि परिवर्तन गरिएको छैन । स्पेनको रक्षापंक्ति मार्क कुकुरेला, एम्रिक लापोर्टे, पाउ कुबार्सी र पेड्रो पोरोले सम्हाल्नेछन् भने गोलपोस्टको जिम्मेवारी उनाई सिमोनको काँधमा रहनेछ । मिडफिल्डमा फाबियन रुइज, रोड्री र एलेक्स बाएना रहनेछन् । त्यस्तै, आक्रमणको मोर्चा ड्यानी ओल्मो, लामिन यमाल र मिकेल ओयारजाबालले सम्हाल्नेछन् ।

अर्कोतर्फ, अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले सेमिफाइनलमा इंग्ल्यान्डविरुद्ध जित निकाल्दाको सुरुवाती टोलीमा तीनवटा महत्त्वपूर्ण परिवर्तन गरेका छन् । नाहुएल मोलिना, ग्युलियानो सिमिओनी र लिआन्द्रो पारेडेस बेन्चमा फर्किँदा सुरुवाती ११ मा गोन्जालो मोन्टिएल, रोड्रिगो डी पल र निको गोन्जालेजले स्थान बनाएका छन् । अर्जेन्टिनाको गोलपोस्टमा एमिलियानो मार्टिनेज रहनेछन् भने रक्षापंक्तिमा निकोलस टाग्लियाफिको, लिसान्ड्रो मार्टिनेज, क्रिस्टियन रोमेरो र गोन्जालो मोन्टिएल रहनेछन् । मिडफिल्डमा एन्जो फर्नान्डेज, एलेक्सिस म्याक एलिस्टार र रोड्रिगो डी पल रहनेछन् भने अग्रपंक्तिमा निको गोन्जालेज र जुलियन अल्भारेजसँगै कप्तान लियोनेल मेसीले चुनौती प्रस्तुत गर्नेछन् ।

यसैगरी, विश्वकप इतिहासमै सर्वाधिक गोलकर्ताको कीर्तिमानको हिसाबले पनि यो फाइनल निकै महत्त्वपूर्ण बन्नेछ । फ्रान्सका किलियन एम्बाप्पे हाल २२ गोलसहित पुरुष फिफा विश्वकपको इतिहासमै सर्वाधिक गोलकर्ताको रूपमा शीर्ष स्थानमा रहेका छन् । उनले अर्जेन्टिनी कप्तान लियोनेल मेसीलाई पछि पारेका हुन्, जसले २१ गोलसहित आफ्नो विश्वकप यात्राको अन्तिम खेल खेल्दैछन् । यो खेल मेसीका लागि आफ्नो व्यक्तिगत कीर्तिमान सुधार्ने र अर्जेन्टिनालाई लगातार दोस्रो पटक च्याम्पियन बनाउने स्वर्णिम अवसर हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप