मधेस प्रदेशमा सवारी दुर्घटना बढे पनि मृत्युदर घट्यो
सारांश
- आर्थिक वर्ष २०८२/८३ मा मधेस प्रदेशमा सवारी दुर्घटनाको सङ्ख्या बढे पनि मृत्युदर अघिल्लो वर्षको तुलनामा घटेको छ।
- यस अवधिमा प्रदेशभर ११ हजार ४१६ सवारी दुर्घटना भएका थिए जसमा ५३४ जनाको मृत्यु भयो, जुन अघिल्लो वर्षको तुलनामा ३० जनाले कम हो।
- जनचेतना कार्यक्रम, नियम कडाइका साथ कार्यान्वयन र निगरानीले दुर्घटना बढे पनि मृत्युदर घटाउन सकारात्मक प्रभाव पारेको प्रहरीको निष्कर्ष छ।
रौतहट । मधेस प्रदेशमा सवारी दुर्घटनाको सङ्ख्या बढे पनि दुर्घटनाबाट ज्यान गुमाउनेको सङ्ख्या भने घटेको छ।
आर्थिक वर्ष २०८२/८३ मा प्रदेशभर भएका सवारी दुर्घटनामा ५३४ जनाको मृत्यु भएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३० जनाले कम हो।
प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रमुख एसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार आर्थिक वर्ष २०८२/८३ मा प्रदेशभर ११ हजार ४१६ सवारी दुर्घटना भएका थिए। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ७ हजार ४४३ दुर्घटनामा ५६४ जनाको मृत्यु भएको थियो भने १२ हजार १२३ जना घाइते भएका थिए। ट्राफिक प्रहरीले सञ्चालन गरेका जनचेतनामूलक कार्यक्रम, नियम कार्यान्वयनमा कडाइ तथा निगरानीका कारण दुर्घटना बढे पनि मृत्युदर घटाउन सकारात्मक प्रभाव परेको प्रहरीको निष्कर्ष छ।
प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नवराज न्यौपानेका अनुसार एक वर्षमा यात्रुवाहक बस १९३, माइक्रो १०५, जिप ७१६, ट्र्याक्टर ३३२, टेम्पो ८३६ तथा मोटरसाइकल ७ हजार ८५१, शारीरिक ९६५, अन्य ४३ सहित कुल ११ हजार ४१६ सवारी दुर्घटनामा परेका थिए। तथ्याङ्क अनुसार सबैभन्दा धेरै दुर्घटना मोटरसाइकलको भएको छ।
अन्य सवारीसाधनको तुलनामा मोटरसाइकलको सङ्ख्या धेरै हुनु, तीव्र गति, ट्राफिक नियम उल्लङ्घन, हेल्मेटको प्रयोगमा लापरबाही, जोखिमपूर्ण ओभरटेक, अनुभवहीन चालक, मोबाइल प्रयोग गर्दै सवारी चलाउने बानी, मदिरा सेवनपछि सवारी चलाउने प्रवृत्ति, कमजोर सडक अवस्था तथा वर्षायाममा चिप्लो सडक मोटरसाइकल दुर्घटनाका प्रमुख कारण रहेको डीएसपी न्यौपानेले जानकारी दिए।
आर्थिक वर्ष २०८२/८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने १ लाख १० हजार ७५५ सवारीसाधनलाई कारबाही गरिएको थियो। ती कारबाहीबाट ११ करोड १५ लाख ६५ हजार २१० रुपैयाँ राजस्व सङ्कलन भएको छ। यस्तै, सोही अवधिमा यातायात व्यवस्था कार्यालयमार्फत ८४८ ओभरलोड सवारीसाधनलाई कारबाही गर्दा १ करोड ५४ लाख ४९ हजार २५७ रुपैयाँ राजस्व सङ्कलन भएको छ।
जिल्लागत रूपमा हेर्दा पर्सामा सबैभन्दा बढी १३ हजार ७८९ सवारीसाधन कारबाहीमा परेका छन्। त्यहाँबाट १ करोड ६१ लाख ७१ हजार ५०२ रुपैयाँ राजस्व सङ्कलन भएको छ। सप्तरीमा ६ हजार ६ सवारीसाधन कारबाहीमा पर्दा सबैभन्दा कम ५४ लाख १४ हजार ५५१ रुपैयाँ राजस्व उठेको छ।
अन्य जिल्लामध्ये रौतहटमा १० हजार ९४० सवारीसाधन कारबाहीमा पर्दा १ करोड १७ लाख ५२ हजार ५०२ रुपैयाँ, बारामा १५ हजार ७४८ कारबाहीबाट १ करोड ३२ लाख ७९ हजार ५१ रुपैयाँ र सर्लाहीमा १० हजार ९४० कारबाहीबाट १ करोड १७ लाख ५२ हजार ५०२ रुपैयाँ राजस्व सङ्कलन भएको छ।
त्यस्तै, महोत्तरीमा १५ हजार ९८४ कारबाहीबाट १ करोड ४९ लाख ३० हजार ५०२ रुपैयाँ, धनुषामा १२ हजार २४३ कारबाहीबाट १ करोड ११ लाख ३४ हजार ५० रुपैयाँ, सिरहामा १३ हजार ४१६ कारबाहीबाट १ करोड १४ लाख ५६ हजार रुपैयाँ तथा प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले १२ हजार ३७४ कारबाहीबाट १ करोड ७२ लाख ८२ हजार ५३ रुपैयाँ राजस्व सङ्कलन गरेको छ।
समीक्षा अवधिमा प्रदेशभर २६ हजार ८८३ वटा ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको र ती कार्यक्रममा १४ लाख २४ हजार ८४४ जनाको सहभागिता रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण