विकल्पको राजनीतिक इन्जिन : रवि लामिछाने
सारांश
- रवि लामिछाने रिहाइपछि सडकमा उभिए, जसलाई 'वैधता पुनर्निर्माण' को क्षण भनियो।
- कानुनको सम्मान र जनविश्वास आर्जनले लामिछानेको राजनीतिक इमानदारितामाथि उठेका प्रश्नहरूलाई पुनर्विचारमा पुर्यायो।
- लेखमा लामिछानेको उदय, वैकल्पिक राजनीतिको आवश्यकता र आगामी बाटोबारे चर्चा गरिएको छ।
नेपालको समकालीन राजनीतिमा हालै देखिएको एउटा दृश्य अत्यन्त प्रतीकात्मक छ । केही समयअघिसम्म कारागारमा रहेका रवि लामिछाने रिहाइपछि सडकमा स्वतःस्फूर्त जनसागरबिच उभिएका थिए । त्यो भीड कुनै दलको नियमित कार्यकर्ता मात्रै थिएन, न त कुनै सरकारी संयन्त्रबाट परिचालित जमात । त्यो दृश्यलाई राजनीतिक समाजशास्त्रको भाषामा ‘वैधता पुनर्निर्माण’ को क्षण भन्दा फरक नपर्ला ।
व्यक्तिगत विवाद, कानुनी प्रश्न र आलोचनाबिच पनि उनले अदालतको प्रक्रिया स्वीकार गरे । कानुनको शासनमाथि चुनौती दिएनन् । यही संयम र कानुनी मान्यताप्रतिको स्वीकृतिले उनको राजनीतिक इमानदारितामाथि उठाइएका धेरै प्रश्नहरूलाई पुनर्विचारको चरणमा पुर्याइदिएको छ । नेपाल जस्तो सङ्क्रमणकालीन लोकतन्त्रमा जहाँ कानुनलाई सुविधा अनुसार मोडिएको इतिहास छ । कानुनको सामना गरेर निस्किएको एउटा राजनीतिक पात्रले जनविश्वास पुनर्आर्जन गर्नु आफैमा असामान्य घटना हो ।
नेपालको राजनीतिमा ‘विकल्प’ शब्द नयाँ होइन तर यसको प्रयोग पछिल्ला वर्षहरूमा असाधारण रूपमा बढेको छ । यो शब्द नारामा सीमित रहँदा जनतालाई क्षणिक उत्साह त दियो तर संस्थागत रूपान्तरण दिन सकेन । राजनीतिक अर्थशास्त्री एडम प्रजेवोस्र्कीले लोकतन्त्रलाई ‘अनिश्चित परिणामसहितको सुनिश्चित प्रक्रिया’ भनेका छन् ।
नेपालमा प्रक्रिया त निरन्तर चलिरह्यो तर परिणाम सधैँ उही अनुहार र उही संरचनामा सीमित रह्यो । ०४६, ०६२/६३, मधेस आन्दोलनदेखि संविधान निर्माणसम्मका सबै राजनीतिक उभारले परिवर्तनको आकाङ्क्षा जन्माए तर त्यो आकाङ्क्षा राज्य संरचनामा स्थायी रूपमा रूपान्तरण हुन सकेन । यही असफलता, यही दोहोरिएको निराशाले नै विकल्पको खोजीलाई केवल भावनात्मक होइन, संरचनात्मक आवश्यकता बनायो ।
यही पृष्ठभूमिमा रवि लामिछानेको उदयलाई बुझ्नुपर्छ । उनी कुनै परम्परागत राजनीतिक प्रशिक्षण, विद्यार्थी राजनीति वा वंशाणुगत दल संरचनाबाट आएका नेता होइनन् । उनी मिडियाबाट आएका हुन् । म्याक्स वेबरले वर्णन गरेको ‘करिश्म्याटिक लेजेटिमेसी’ यस्तै अवस्थामा जन्मिन्छ, जब विद्यमान प्रणालीप्रति विश्वास खस्किन्छ र जनता असाधारण व्यक्तित्वतर्फ आकर्षित हुन्छन् । रवि लामिछाने त्यो करिश्माको उत्पादन मात्र होइनन्, निराश संस्थागत व्यवस्थाको प्रतिक्रिया पनि हुन् ।
तथ्याङ्कहरूले यो करिश्मालाई पुष्टि गर्छन् । निर्वाचनमा देखिएको मतपरिणाम, परम्परागत संगठनबिना पनि भरिएका जनसभा, सामाजिक सञ्जालमा देखिएको निरन्तर संलग्नता र हालैको रिहाइपछिको जनउपस्थिति कुनै क्षणिक लोकप्रियताको परिणाम होइन । राजनीतिक विश्लेषक पिप्पा नोरिसले भनेझैँ, जब ‘प्रतिनिधित्व अन्तर’ बढ्छ, तब मतदाता वैकल्पिक आवाजतर्फ जान्छन् ।
नेपालमा त्यो अन्तर दशकौँदेखि बढ्दै गएको थियो र त्यसको केन्द्रमा रवि लामिछाने देखिएका छन् ।
अन्तर्राष्ट्रिय अनुभव हेर्दा यो नयाँ भने होइन । डोनाल्ड ट्रम्प अमेरिकामा परम्परागत राजनीतिक प्रतिष्ठान विरुद्ध उभिए । इमानुएल म्याक्रों फ्रान्समा पुराना दल संरचनालाई छलेर उदाए । युक्रेनका भोलोदिमिर जेलिन्स्की मनोरञ्जन उद्योगबाट सिधै राष्ट्रपतिको कार्यालय पुगे । यी सबै उदाहरणमा एउटा साझा तत्त्व छ; व्यक्ति संस्थाभन्दा अगाडि आए र व्यक्तिले संस्थालाई पुनर्संरचना गर्ने प्रयास गरे ।
राजनीतिक वैज्ञानिक फ्रान्सिस फुकुयामाले यसलाई अवसर र जोखिम दुवै भएको चरण भनेका छन् । अवसर किनकि पुराना संरचना हल्लिन्छन्, जोखिम किनकि संस्था कमजोर रह्यो भने व्यक्ति नै सर्वेसर्वा बन्न सक्छ ।
रवि लामिछानेको जीवन विवादरहित छैन । उनले पनि बारम्बार स्वीकार गरेका छन् कि उनी त्रुटिरहित होइनन् । व्यक्तिगत जीवनका विवाद, नागरिकतासम्बन्धी प्रश्न, सहकारी सम्बन्धी मुद्दा आदि सबै उनका राजनीतिक यात्राका हिस्सा हुन् । तर यहाँ मूल प्रश्न निर्दोष वा दोषीको कानुनी फैसला होइन । सार्वजनिक जीवनमा ती विवादहरूको राजनीतिक अर्थ के हो भन्ने हो ।
उनले अदालतको सामना गरे, प्रक्रिया माने, धरौटीमा रिहाइपछि पनि न्याय प्रणालीलाई अस्वीकार गरेनन् । नेल्सन मण्डेला, भ्याक्लाभ हाभेल, यहाँसम्म कि आङ सान सुचीले पनि कुनै न कुनै चरणमा कारागारलाई राजनीतिक पुँजीमा रूपान्तरण गरेका थिए । इतिहासले देखाउँछ, कहिलेकाहीँ जेल लोकतान्त्रिक सङ्घर्षको अन्तिम होइन नयाँ अध्यायको सुरुवात हुन्छ ।
यहाँ राज्यसत्ता, न्यायालय र राजनीतिबिचको सम्बन्धबारे उठेको बहस पनि टार्न मिल्दैन । उनी जेलमा हुँदा र रिहा हुँदा देखिएको राजनीतिक वातावरणको भिन्नताले शक्ति संरचनाको अस्थिरता देखाउँछ । यो संयोग मात्र हो कि संरचनात्मक प्रभाव, त्यो बहस खुलै छ । तर यो लेखको उद्देश्य फैसला सुनाउनु होइन, यथार्थको जटिलता देखाउनु हो ।
अझ रोचक प्रश्न के हो भने किन कोही व्यक्ति जेलभित्र हुँदा पनि राजनीतिको केन्द्रमा रहन्छ तर कोही सत्ता केन्द्रमा हुँदा पनि जनताबाट टाढिँदै जान्छ ? गुस्ताभ ले बोनको भीड मनोविज्ञानले भीड भावनाले चल्ने बताउँछ तर नेपालको वर्तमान सन्दर्भमा देखिएको भीड केवल भावनात्मक छैन । त्यो लामो समयदेखि जम्मा भएको असन्तोष, अपमान र अवसर गुमेको अनुभूतिको सामूहिक अभिव्यक्ति हो ।
बालुवाटारको सुरक्षा घेराभित्रको एक्लोपन र कारागारभित्रको जनसम्पर्कले यही विरोधाभास उजागर गर्छ ।
रवि लामिछानेले गरेको सबैभन्दा महत्त्वपूर्ण काम के हो भने, उज्ज्वल थापापछि केही सुस्ताएको वैकल्पिक राजनीतिक यात्रालाई उनले चुनावी ऊर्जामा रूपान्तरण गरे । यदि अघिल्लो निर्वाचनमा त्यो झट्का नआएको भए आज देखिएको जेनजीको राजनीतिक सक्रियता सम्भवतः यति तीव्र हुने थिएन । कसैले माने पनि नमाने पनि यथार्थ यही नै हो ।
तर आजको चरणमा कुनै पनि राजनीतिक परियोजना एक्लै सम्भव छैन । रवि लामिछाने स्वयं पनि यो यात्राको गन्तव्यमा एक्लै पुग्न सक्दैनन् । कुलमान घिसिङको प्राविधिक विश्वसनीयता, बालेन शाहको सहरी शासनको अभ्यास, सुमना श्रेष्ठजस्ता बौद्धिक नेतृत्व र जेनजी अभियन्ताहरूको ऊर्जा, यी सबै अलग–अलग टापु बनेर होइन, साझा धार बनेर बग्नुपर्छ । समस्या प्रतिस्पर्धा होइन, सहकार्य नहुनु हो । धेरै खुद्रा पसल खोलेर होइन, साझा थोक पसल बनाएर मात्रै विकल्पको मूलधार बन्न सक्छ ।
उनको रिहाइसँगै अब केही बहसहरू लगभग खारेज भएका छन् । उनलाई कार्यकारी भूमिकाबाट हटाएर मात्र विकल्प अघि बढ्छ भन्ने तर्कहरू कमजोर परेका छन् । बरु अब गुण र दोषसहित उनलाई स्वीकार गरेर अघि बढ्नुपर्ने दबाब सबै वैकल्पिक शक्तिमाथि परेको छ । यो दबाब रविमाथि मात्र होइन, उनीसँग सहकार्य गर्न चाहने वा नचाहने सबैमाथि हो ।
अन्ततः उद्देश्य सत्ता प्राप्ति मात्र हुन हुँदैन । उद्देश्य सत्ता प्राप्त गरेर के गर्ने, किन गर्ने र कसरी गर्ने भन्ने बहस केन्द्रमा आउनुपर्छ । संविधान परिमार्जन, सेवा प्रवाह, नागरिकको दैनिकीमा प्रत्यक्ष सुधार, राज्यको जबाफदेहिता, यी विषयमा स्पष्ट योजना नआएसम्म विकल्प फेरि नारामै सीमित हुनेछ ।
हिजो राती मात्रै रवि लामिछाने र बालेन शाहबिच भएको ७ बुँदे सहमति वास्तवमै नयाँ वैकल्पिक धारको सुरुवातको महत्त्वपूर्ण पानीढलो हो भन्दा अत्युक्ति नहोला । यसले नयाँ बिहानीको स्पष्ट सङ्केत गरेको छ ।
यसैले निष्कर्ष सरल तर गम्भीर छ । रवि लामिछाने न त सम्पूर्ण समाधान हुन्, न सम्पूर्ण समस्या । उनी एउटा राजनीतिक इन्जिन हुन् । इन्धन जनआकाङ्क्षा हो र यात्रु वैकल्पिक शक्तिहरू हुन् । इन्जिन बिना रेल चल्दैन, तर इन्जिन मात्रै रेल होइन । आजको नेपाली राजनीतिलाई व्यक्ति र संस्था, भावना र नीति, विद्रोह र जिम्मेवारीबिचको सही सन्तुलन चाहिएको छ । यही सन्तुलन कायम गर्न सके विकल्प सम्भावनाबाट वास्तविकतामा रूपान्तरण हुनेछ, नत्र इतिहास फेरि दोहोरिनेछ ।
(लेखक अमेरिका निवासी पूर्वसञ्चारकर्मी हुन्)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण