शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

चौथो ललितपुर मेयर कप ब्याडमिन्टन भोलिदेखि, विजेताले ५० हजार पाउने

सोमबार, २१ पुस २०८२, १७ : ३८
सोमबार, २१ पुस २०८२

ललितपुर । ललितपुर ब्याडमिन्टन संघ र बालकुमारी रिमिक्स क्लबको संयुक्त आयोजनामा चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता मंगलबारदेखि सुरु हुँदैछ।

ललितपुरस्थित बालकुमारी रिमिक्स क्लबको कभर्डहलमा सञ्चालन हुने यस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ।

पाँच दिनसम्म चल्ने यस प्रतियोगितामा विभिन्न ६ विधामा करिब २ सय २६ खेलाडीले प्रतिस्पर्धा गर्ने म्याच कन्ट्रोल सुमित शाक्यले जानकारी दिएका छन्। प्रतियोगितामा पुरुष तथा महिला एकल खुला, शीर्ष २० वरीयता बाहेकको पुरुष युगल, यू–१७ पुरुष तथा महिला एकल र ४५ वर्षमाथिको मास्टर युगल विधामा खेलहरू हुनेछन्।

यस वर्ष आयोजकले पुरस्कार राशिमा वृद्धि गरेको छ। पुरुष र महिला एकल तथा पुरुष युगलतर्फका विजेताले नगद ५० हजार, उपविजेताले २५ हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ प्राप्त गर्ने सचिव रदीप महर्जनले बताए। यस्तै, यू–१७ तर्फका विजेतालाई २० हजार र मास्टर युगलतर्फका विजेतालाई ३० हजार रुपैयाँ पुरस्कार तोकिएको छ।

ललितपुर महानगरपालिकाको मुख्य प्रायोजन रहेको यस प्रतियोगिता सम्पन्न गर्न करिब ३२ लाख २० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। सहभागी खेलाडी र अफिसियलहरूका लागि खानपिनको व्यवस्था आयोजकले नै गर्नेछ।

अघिल्ला तीन संस्करणको सफलतापछि यसपटक पनि व्यवस्थित रूपमा प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजकको भनाइ छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप