आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

४६ करोड रुपैयाँभन्दा बढीमा बिक्यो एउटै टुना

मङ्गलबार, २२ पुस २०८२, ११ : ४९
मङ्गलबार, २२ पुस २०८२

सारांश

  • टोकियोमा एउटा ब्लुफिन टुना ४६ करोड १५ लाख नेपाली रुपैयाँभन्दा बढी मूल्यमा विक्री भएको छ।
  • सोमबार बिहानको लिलामीमा २४३ केजी तौल भएको माछा ५१ करोड ३ लाख जापानी येनमा विक्री भयो।
  • कियोमुरा कर्पोरेशनले माछा किनेको हो, जसले सुशी जान्माई चलाउँछ, र यो वर्षको पहिलो लिलामी थियो।

टोकियो । टोकियोमा एउटा ठुलो ब्लुफिन टुना ४६ करोड १५ लाख नेपाली रुपैयाँभन्दा बढी मूल्यमा विक्री भएको छ । सोमबार बिहान स्थानीय तोयोसु माछा बजारमा यो वर्षको पहिलो लिलामीमा २४३ केजी तौल भएको सो माछा ५१ करोड ३ लाख जापानी येनमा विक्री भएको हो ।

अमेरिकी डलरमा हिसाब गर्दा यो रकम ३२ लाख डलर हुन्छ । माछामा विजयी रकम कियोमुरा कर्पोरेशनले लगाएको हो । यो जापानको चर्चित सुशी चेन सुशी जान्माई चलाउने कम्पनी हो । जापान र विदेशमा यसले कयौँ सुशी चेन चलाइरहेको छ ।

‘वर्षको पहिलो टुनाले सौभाग्य ल्याउँछ ।’ कियोमुरा कर्पोरेशनका अध्यक्ष कियोशी किमुराले लिलामी सकिएपछि भने । वर्षेनी हुने माछा लिलामीमा उनी चिर–परिचित अनुहार हुन् । नयाँ वर्षको अवसरमा हुने यस्ता लिलामीमा ब्लुफिन टुनामा उनले बोलेको रकम प्रायः विजयी हुने गरेको छ । यस पटक त अलि सस्तोमा माछा किन्न पाइन्छ कि भनेर सोच्दासोच्दै भाउ बढेर कहाँ पुगिसक्ने उनले भनेका छन् ।

२०१३ मा किमुराले एउटै ब्लुफिन टुनाका लागि ५ करोड ६५ लाख येन तिरेका थिए । २०१३ मा उनले अर्को १५ करोड ५० लाख तिरेर माछा किने । २०१९ को कीर्तिमानी बोलकबोलमा उनले ब्लुफिन टुनाका लागि ३३ करोड ३६ लाख येन तिरेका थिए । 

यी सबै बोलकबोल रकम ती वर्षको कीर्तिमानी रकम बने । यस पटकको लिलामीमा किमुराले यस अघिका आफ्ना सबै रेकर्ड तोडेका छन् । अरु वर्ष झैँ यस वर्ष पनि किमुराले यो ब्लुफिन टुना आफ्नो सुशी रेष्टुराँमा आउने ग्राहकलाई खुवाउनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप