दुई डुंगामा खुट्टा राख्दा अप्ठ्यारोमा कुलमान
सारांश
- मन्त्री कुलमान घिसिङलगायत मन्त्रीहरूलाई पार्टी छाड्न वा मन्त्री पदबाट राजीनामा दिन दबाब परेको छ।
- प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीहरूलाई दलीय राजनीतिमा लागे राजीनामा दिन निर्देशन दिएकी छिन्।
- मन्त्रीहरूले राजीनामा दिन आनाकानी गरिरहेका छन् र उनीहरू कुनै पनि पार्टीको सदस्य नभएको बताउँदै सत्तामा बसिरहने प्रयासमा छन्।
काठमाडौँ । ऊर्जा, भौतिक र सहरी विकाससहित ३ मन्त्रालयको जिम्मेवारी सम्हालेका कुलमान घिसिङ अप्ठ्यारोमा परेका छन् । मन्त्री घिसिङ अप्ठ्यारोमा पर्नु र आलोचना खेप्नुका दुई कारण छन् । जेनजी आन्दोलनपछि गठित नागरिक सरकारमा मन्त्री बनेका घिसिङले कि पार्टी छाड्नुपर्ने कि मन्त्री छाड्नुपर्ने माग उठेको छ ।
नागरिक सरकारका नाममा मन्त्री बने पनि घिसिङ पछिल्लो समय रास्वपाको नेता बनिसकेका छन् । रास्वपाको नेता बनेसँगै दुई डुंगामा खुट्टा राखेको भन्दै उनलाई कि मन्त्री पद छाड्न कि त पार्टी छाड्न दबाब परेको छ ।
फागुन २१ मा चुनाव गराउने ‘म्यान्डेट’ सहित प्रधानमन्त्री बनेकी सुशीला कार्कीले आफ्नो नेतृत्वको सरकारलाई ‘नागरिक सरकार’ भन्दै आएकी थिइन् । प्रधानमन्त्री र जेनजीले कार्की सरकारलाई नागरिक सरकार भनिरहेका बेला सरकारमा रहेका मन्त्रीहरू पार्टी आवद्ध हुन थालेपछि उनीहरूको आलोचना बढेको हो । यसरी आलोचित हुनेहरूमा सरकारका प्रवक्ता समेत रहेका जगदीश खरेल र खेलकुदमन्त्री बब्लु गुप्ता पनि छन् ।

निर्वाचनको मिति नजिकिएसँगै आफ्नो नेतृत्वको सरकारका मन्त्रीहरू दलीय राजनीतिमा आवद्ध हुन थाल्दा जनस्तरबाट उनीहरूमाथि प्रश्न तेर्सिएपछि प्रधानमन्त्री कार्की स्वयंले दलीय राजनीतिमा आवद्ध हुन चाहने र आवद्ध भएका मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन नै दिइसकेकी छन् । उनीहरूका कारण आफू नेतृत्वको सरकारले थप आलोचना खेप्नु नपरोस् भन्ने प्रधानमन्त्री कार्कीको चाहना रहेको उनी निकटहरूले बताएका छन् ।
‘निर्वाचन लड्ने तयारी गरिरहनुभएका साथीहरू निर्वाचनमा भाग लिन र उम्मेदवार हुन स्वतन्त्र हुनुहुन्छ, तर तपाईंहरूले त्यसो गर्दा सरकारबाट अलग भइदिएर सहयोग गरिदिनुहोला,’ प्रधानमन्त्री कार्कीले सोमबार मन्त्रिपरिषद् बैठकमै भनेको स्रोत बताउँछ ।
तर, प्रधानमन्त्रीले राजीनामा माग्दासमेत उनीहरूले राजीनामा दिन आनाकानी गरिरहेका छन् । बरु उनीहरू आफू कुनै पनि पार्टीको सदस्य नभएको भन्दै सत्तामा बसिरहने प्रयासमा देखिन्छन् ।
‘अहिलेसम्म म कुनै पनि दलको सदस्य छैन’, मन्त्री घिसिङले मंगलबार इन्जिनियरहरूको कार्यक्रममा ‘मन्त्री छाड्ने कि पार्टी ?’ भनेर सोधिएको प्रश्नमा भनेका थिए ।
_skOct5aygv.jpg)
स्रोतका अनुसार घिसिङ, गुप्ता र खरेल माघ ६ गते उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिनसम्म मन्त्री पदमै रहन चाहन्छन् । यद्यपि प्रधानमन्त्री कार्की दलीय राजनीतिमा लागेका मन्त्रीहरूले त्यसभन्दा अघि नै राजीनामा दिएर सहजता प्रदान गरुन् भन्ने पक्षमा छिन् ।
‘उहाँहरूलाई राजीनामा गरेर सहज वातावरण बनाउन प्रधानमन्त्रीले भनिसक्नुभएको छ । यदि अटेर गर्नुभयो भने प्रधानमन्त्रीले हटाउन सक्ने अधिकार भएकाले एक सातापछि निर्णय गर्न सक्नुहुनेछ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘सायद बर्खास्त गर्नुपर्ने अवस्था नआउला ।’
घिसिङ यसअघि विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकसमेत थिए । प्राधिकरणमा हुँदा अनियमितता गरेको भन्दै घिसिङमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी नै परेको स्रोत बताउँछ ।
जेनजी आन्दोलनपछि घिसिङले आफ्नै संरक्षकत्वमा उज्यालो नेपाल पार्टी गठन गरेका थिए । पूर्वऊर्जा सचिव अनुपकुमार उपाध्यायलाई अध्यक्ष राखेर गठन भएको सो पार्टी पुस दोस्रो साता रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग समाहित भएको थियो ।
पार्टी समाहित भएसँगै कुलमान रास्वपामा पहिलो वरीयताको उपसभापति हुने समझदारी सार्वजनिक भइसकेको छ ।
यद्यपि कुलमानका दाजु गणेश घिसिङ प्रधानमन्त्री कार्कीले मन्त्रीहरूलाई पद छाड्न नभनेको दाबी गर्छन् । ‘प्रधानमन्त्रीले मन्त्री पद छाड्न कुनै पनि मन्त्रीलाई भन्नुभएको छैन, मिडिया ट्रायल गरिएको मात्रै हो’, उनले भने ।

यद्यपि उनले कुलमान दलीय राजनीतिमा रहेको स्वीकार गर्दै काठमाडौँ क्षेत्र नम्बर ३ बाट उम्मेदवार हुने जानकारी दिए ।
त्यसो त कुलममान पछिल्ला दिनमा चुनाव तयारीस्वरुप विभिन्न कार्यक्रममा पुगेर पुराना पार्टीहरूको विकल्पमा आफूहरू अघि बढ्न चाहेको बताउँदै आएका छन् ।
जेनजी प्रतिनिधिका रूपमा नियुक्त खेलकुदमन्त्री गुप्तासमेत रास्वपाबाट फागुन २१ को चुनावमा सिरहाबाट निर्वाचन लड्ने प्रचार भइरहेको छ । मन्त्री गुप्ताले यस्तो चर्चालाई अस्वीकार गरेका छैनन् ।
गुप्ताले काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह, रास्वपा सभापति रवि लामिछाने र कुलमान सिसिङहरूबिचको एकता प्रक्रियामा समेत सक्रिय सहभागिता जनाएका थिए ।
उता सञ्चारमन्त्री खरेल पनि रास्वपा निकट छन् । उनले आफू कुनै पार्टीको सदस्य नभएको बताए पनि रास्वपा, कुलमान र बालेनहरू मिल्दा स्वागत गरेका थिए । त्यसैले उनीसमेत आगामी फागुन २१ को निर्वाचनमा रास्वपाबाट उम्मेदवार बन्ने चर्चा हुन थालेको थियो ।
यसअघि खरेल एमाले, कांग्रेस निकट रहे पनि पछिल्लो समय रास्वपा निकट बन्न पुगेको स्रोत बताउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण