गोकर्णेश्वरका विकट गाउँको विकासका लागि ऊर्जामन्त्रीलाई ध्यानाकर्षण
काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नं १ अन्तर्गत पर्ने ओख्रेनी, सानु चिलाउने, ठुलो चिलाउने र कुने गाउँका बासिन्दाले आफ्ना क्षेत्रका विद्यमान समस्या समाधानको माग गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
स्थानीय बासिन्दाहरूको एक टोलीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङलाई भेटी ध्यानाकर्षण पत्र बुझाएका हुन् । बागमती नदीको मुहान बागद्वार नजिकै रहेको यो क्षेत्र प्राकृतिक, पर्यटकीय र धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण भए पनि भौगोलिक विकटताका कारण आधारभूत सेवा–सुविधाबाट वञ्चित हुनुपरेको स्थानीयको गुनासो छ । ज्ञापनपत्रमा विकासका पूर्वाधार अभावले जनजीवन अत्यन्तै कष्टकर बनेको उल्लेख गरिएको छ ।
विशेषगरी सडक, विद्युत्, शिक्षा, स्वास्थ्य र खानेपानीको समस्यालाई प्रमुखताका साथ उठाइएको छ । वर्षायाममा सडक पूर्ण रूपमा अवरुद्ध हुने, विद्युत् आपूर्ति अनियमित हुने र सुरक्षित खानेपानीको अभावले स्थानीयले दैनिक सास्ती खेप्नुपरेको ज्ञापनपत्रमा जनाइएको छ ।
यस्तै गाउँमा रहेका विद्यालयमा कक्षा ८ सम्म मात्र अध्ययन अध्यापन हुने र स्वास्थ्य चौकीमा दक्ष जनशक्तिको अभाव हुँदा थप समस्या सिर्जना भएको स्थानीयको भनाइ छ । जेनजी अगुवा अस्मिता खत्रीको नेतृत्वमा बुझाइएको उक्त पत्रमा विकासका पूर्वाधार अभावकै कारण गाउँबाट सहरतर्फ पलायन हुने क्रम बढेको बताइएको छ ।
स्थानीयले ती क्षेत्रका लागि तत्काल आवश्यक योजना तर्जुमा गर्न, पर्याप्त बजेट व्यवस्था गर्न र त्यसको प्रभावकारी कार्यान्वयन गर्न मन्त्रीसमक्ष माग गरेका छन् ।
ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री घिसिङले ती क्षेत्रका समस्या समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन दिएका छन् । स्थानीय बासिन्दाहरूले सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिई दीर्घकालीन र दिगो विकासका कार्यक्रम सञ्चालन गर्नेमा विश्वास व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या ५८९ पुग्यो
-
भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु
-
भारत लैजान लागेको ४ केजी अफिम सहित दुई जना पक्राउ
-
पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण
-
भूलबस मिसाइल आक्रमणबारे ‘गलत’ चेतावनी दिएकोमा युएईद्वारा क्षमा याचना
-
दुई दिनमा १८ लाख बराबरको ड्रागन फ्रुटको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण