राजेन्द्र राईले भने, ‘नेतृत्वले भुइँतहको वास्तविकता सही रूपमा बुझ्न सक्नुपर्छ’
विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का कोशी प्रदेशका इन्चार्ज राजेन्द्र राईले वर्तमान समयमा कम्युनिस्ट आन्दोलनले भोगिरहेको सङ्कट निवारण र साङ्गठनिक सुदृढीकरणका लागि परम्परागत शैली त्यागेर नयाँ कार्यदिशा अपनाउनुपर्नेमा जोड दिएका छन् ।
कोशी प्रदेश समितिको बैठकलाई सम्बोधन गर्दै इन्चार्ज राईले पार्टीका नीति, कार्यक्रम र व्यावहारिक पक्षलाई भुइँतहको यथार्थसँग जोड्नुपर्ने आवश्यकता रहेकोमा जोड दिए । राईले पार्टीको नीति निर्माण तह र भुइँतहका कार्यकर्ताबिच सञ्चारको खाडल रहेको बताए । ‘हाम्रा धरातलीय यथार्थ र समस्याहरू शीर्ष नेतृत्वसमक्ष स्पष्ट रूपमा पुर्याउन सकिएको छैन,’ उनले भने, ‘नेतृत्वले भुइँतहको वास्तविकता सही रूपमा बुझ्न सके मात्र पार्टीका नीति र कार्यक्रमहरू जनमुखी र व्यावहारिक हुन सक्छन्।’
साङ्गठनिक समायोजनको काममा भएको ढिलाइप्रति इङ्गित गर्दै उनले समयमै सङ्गठनात्मक कामहरू टुङ्ग्याउन नसक्दा क्षति भइरहेको र कार्यकर्तामा एक प्रकारको निष्क्रियता बढेको बताए । आगामी दिनमा यस्ता साङ्गठनिक ढिलासुस्तीहरू दोहोरिन नहुने उनको भनाइ थियो।
इन्चार्ज राईले पार्टीले समाजवाद र साम्यवादको दीर्घकालीन लक्ष्य राखे पनि जनताका दैनिक र तत्कालीन समस्याहरूलाई भुल्न नहुने तर्क गरे । लैङ्गिक समानता, जातीय हकहित र सामाजिक न्याय जस्ता तत्कालीन र सहायक मुद्दाहरूलाई उपेक्षा गर्दा पार्टी बिस्तारै जनताबाट टाढिने खतरा रहने उनको विश्लेषण थियो।
‘कम्युनिस्ट विचार भनेको मानिसलाई मरणोपरान्त स्वर्गको आश देखाउने होइन, बरु यसै धर्तीमा शोषण, उत्पीडन र विभेदको अन्त्य गरी जिउँदै न्यायपूर्ण जीवन (स्वर्ग) को अनुभूति गराउने कार्यदिशा हो,’ उनले भने, ‘सोही अनुसार विचार र कार्यदिशा बनाउन जरुरी छ ।’
पार्टीभित्र पछिल्लो समय बढ्दै गएको चरम निराशावादी सोचप्रति असहमति जनाउँदै इन्चार्ज राईले साङ्गठनिक कमजोरीलाई यथार्थपरक ढङ्गले स्वीकार गरी सच्याउनुपर्ने तर आफैँलाई कमजोर बनाउने गरी कुण्ठा फैलाउन नहुने बताए। प्रदेश र जिल्ला तहमा भएका समायोजन र कार्यविभाजनका क्रममा देखिएका सानातिना असन्तुष्टिहरूलाई आगामी दिनमा क्रमशः मिलाउँदै लगिने उनले स्पष्ट पारे। प्रतिकुल राजनीतिक र सामाजिक परिस्थितिका बाबजुद पार्टीका सबै तहका नेता तथा कार्यकर्ताहरूलाई आशावादी र सक्रिय भएर सङ्गठनात्मक अभियानमा होमिन उनले आग्रह गरे।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण