शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

गण्डकीका ९० प्रतिशत एमाले नेता–कार्यकर्ता पार्टी पुनर्गठनको पक्षमा

शुक्रबार, १२ असार २०८३, २१ : ३५
शुक्रबार, १२ असार २०८३

सारांश

  • गण्डकी प्रदेशका अधिकांश एमाले नेता–कार्यकर्ता पार्टी पुनर्गठनको पक्षमा देखिएका छन् ।
  • पोखरामा आयोजित भेलामा सहभागीहरूले पार्टीको नीति र नेतृत्व दुवै फेर्नुपर्ने सुझाव दिएका हुन् ।
  • स्थानीय मनोविज्ञान विपरीत नेपाली कांग्रेससँग गरिएको कार्यनीतिक सहकार्य नै पार्टी पराजयको प्रमुख कारण रहेको निष्कर्ष निकालिएको छ ।

पोखरा । गण्डकी प्रदेशका अधिकांश एमाले नेता–कार्यकर्ता पार्टी पुनर्गठनको पक्षमा उभिएका छन् । पोखरामा आयोजित निर्वाचन समीक्षा तथा भेलाका सहभागीहरूले पार्टीको नीति र नेतृत्व दुवै फेर्नुपर्ने सुझाव दिएका हुन् । 

भेलामा प्रदेश कमिटी, जिल्ला अध्यक्ष तथा पदाधिकारीहरू र प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा केन्द्रीय कार्यदलका सदस्यहरू सहभागी थिए । त्यसो त फागुन २१ को निर्वाचन लगत्तै बसेको जिल्ला अध्यक्षहरूको भेलाले पार्टीको नेतृत्व तुरुन्तै परिवर्तन हुनुपर्ने मागसहित दबाब सिर्जना गरेको थियो । 

गण्डकीका अधिकांश जिल्लाका अध्यक्षहरू उक्त भेलामा सहभागी थिए । अहिले पनि एकाधबाहेक सबै जिल्ला अध्यक्ष पार्टी पुनर्गठनको पक्षमा उभिएको बैठकका सहभागीहरूले बताएका छन् ।

‘विद्यमान नीति र नेतृत्वकै कमजोरीका कारण चुनावमा अपेक्षित परिणाम आउन सकेन भन्ने आम बुझाइ छ,’ प्रदेशका एक पदाधिकारीले भने, ‘त्यसैले अब नीति र नेतृत्व दुवैको पुनर्गठन गर्नुपर्छ र नेतृत्व परिवर्तन गरिनुपर्छ भन्ने ९० प्रतिशत सहभागीहरूको सुझाव छ ।’ 

बैठकमा कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ आफैँ सहभागी थिए । खासगरी जिल्ला अध्यक्ष र प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरूले विद्यमान नेतृत्व फेरिनै पर्ने सुझाव दिए । 

‘नीति र नेतृत्व एक अर्काका पूरक हुन् । गलत नीतिका कारण चुनाव हार्ने र त्यसको नैतिक जिम्मेवारी नेतृत्वले नलिने परिपाटीले पार्टीलाई थप सङ्कटतर्फ धकेल्छ,’ अध्यक्षहरू भन्छन्, ‘अब पार्टी रक्षात्मक भएर बस्न सक्दैन, सुधारको सुरुवात गर्नैपर्छ ।’

बैठकले नेपाली कांग्रेससँगको चुनावी सहकार्य नै पार्टी पराजयको प्रमुख कारण रहेको निष्कर्ष निकालेको छ । ‘स्थानीय मनोविज्ञान विपरीत नेपाली कांग्रेससँग गरिएको कार्यनीतिक सहकार्य नै गलत थियो,’ सबैजसोले भनेका छन्, ‘यसले पार्टीलाई वैचारिक रूपमा मात्र नभएर सांगठनिक रूपमा समेत ठुलो क्षति पुर्‍याएको छ ।’ कांग्रेस र एमालेले केन्द्र र प्रदेश तहमा गठबन्धन सरकार चलाएका थिए । 

सरकारमा सहभागी हुँदासमेत आफ्नो दलको नीति पूर्ण रूपमा लागू गर्न नसकिएको, राष्ट्रसेवक कर्मचारी तथा पेसागत संघ–संगठनका मागहरूलाई सम्बोधन गर्न ध्यान नदिइएको आरोप बैठकका सदस्यहरूले लगाए । सत्ता प्राप्तिका लागि मात्रै गरिने गठबन्धनले कार्यकर्ता पंक्तिमा उत्साह भर्न नसकेको निष्कर्ष बैठकले निकालेको छ ।

स्याङ्जा, कास्की, गोरखा, लमजुङ, पर्वत र नवलपुरलगायत जिल्लाका अध्यक्षहरूले नेतृत्वको कार्यशैलीप्रति आलोचना गरेका थिए । यी जिल्लामा एमालेको बलियो संगठन हुँदाहुँदै पनि आन्तरिक व्यवस्थापन चुस्त नहुँदा पराजय बेहोर्नुपरेको विश्लेषण गरिएको छ । तनहुँलगायत केही जिल्लाका अध्यक्षले भने नेतृत्वको बचाउ गर्दै परिवर्तनको नाममा पार्टी थप कमजोर हुन सक्ने तर्क गरेका छन् । 

प्रदेश भेलामा आएका सुझावलाई प्रतिवेदनका रूपमा केन्द्रमा पठाइने प्रदेश सचिव धनञ्जय दवाडीले जानकारी दिए । सबै जिल्लाहरूबाट प्राप्त लिखित तथा मौखिक सुझावहरूलाई समेटेर कार्यदलले एक विस्तृत समीक्षा प्रतिवेदन तयार पार्नेछ ।

उक्त प्रतिवेदनलाई प्रदेश कमिटीले आवश्यक परिमार्जनसहित अन्तिम स्वीकृतिका लागि पार्टीको केन्द्रीय सचिवालय र शीर्ष नेतृत्वसमक्ष पेस गर्नेछ । ‘धेरै खालका सुझाव आएका छन् । सबैलाई समेटेर प्रतिवेदनका रूपमा प्रदेशले केन्द्रीय कार्यदलमा पठाउनेछ,’ उनले भने, ‘आशा छ, तल्लो तहबाट गएको सुझावका आधारमा कार्यदलले निर्णय गर्नेछ ।’ 

केन्द्रीय सचिवालयको आगामी बैठकमा प्रदेशले पठाएको प्रतिवेदनमाथि विस्तृत छलफल हुनेछ । त्यसपछि पार्टीको नेतृत्व पुनर्संरचना, नीतिगत सुधार र सांगठनिक फेरबदलका सम्बन्धमा कार्यदलले निर्णय गरेर सचिवालयमा सुझाव पेस गर्नेछ ।

गत जेठ १० गते बसेको एमाले सचिवालयको आठौँ बैठकले पार्टी उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा १५ सदस्यीय सुझाव सङ्कलन कार्यदल गठन गरेको थियो । त्यसपछि जेठ २६ गते एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा बसेको कार्यदलको पहिलो बैठकले प्रदेशस्तरमा सुझाव सङ्कलन गर्ने कार्यतालिका तय गरेको थियो ।

 कार्यदलले असार १८ गते जनसंगठनका प्रतिनिधि तथा असार १९ गते केन्द्रीय विभाग प्रमुख र विभिन्न निकायका पदाधिकारीसँग पनि सुझाव सङ्कलन गर्ने कार्यक्रम तय गरेको छ । एमालेले सङ्कलित सुझावका आधारमा पार्टी पुनर्गठन र रूपान्तरणका लागि आगामी रणनीति तय गर्ने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप