सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय
अन्तर्वार्ता

'झापा–५ बाट चुनाव लड्ने बालेनको तयारी छ'

आइतबार, २७ पुस २०८२, २२ : १४
आइतबार, २७ पुस २०८२

सारांश

  • काठमाडौँका मेयर बालेन शाहले झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभाको चुनाव लड्ने इच्छा व्यक्त गरेका छन्।
  • रास्वपा झापाका कार्यवाहक सभापति प्रकाश पाठकको नेतृत्वको टोलीसँगको भेटमा उनले चुनाव लड्ने तयारी गर्न आग्रह गरेका हुन्।
  • पाठकले बालेनको उम्मेदवारीले कोशी प्रदेशभर सकारात्मक प्रभाव पार्ने बताएका छन्।

विराटनगर । काठमाडौँका मेयर बालेन शाहले झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभाको चुनाव लड्ने चाहना व्यक्त गरेका छन् । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र समेत रहेको झापा–५ मा आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनमा आफू उम्मेदवार बन्ने संकेत बालेनले दिएका हुन् । 

रास्वपा झापाका कार्यवाहक सभापति प्रकाश पाठक नेतृत्वको टोलीसँग आज (आइतबार) काठमाडौँमा भएको भेटमा मेयर शाहले झापा–५ बाट उठ्ने तयारी गर्न आग्रह गरेका छन् । सोही भेटघाटका विषयमा रास्वपा झापाका कार्यवाहक सभापति प्रकाश पाठकसँग गरिएको कुराकानीको सम्पादित अंशः

काठमाडौँका मेयर बालेन शाहसँग आज तपाईंहरूको भेटघाट भयो भन्ने सुनियो, खास कुरा के हो ?

–हो, आज उहाँसँग हाम्रो भेट भयो । भेटका क्रममा उहाँले  झापा–५ को बस्तुस्थिति र जिल्लाको समग्र अवस्थाबारे चासो राख्नुभयो । उहाँले लामो छलफलपछि मेरो तयारी झापा–५ बाटै उठ्ने छ भन्ने कुरा प्रस्ट रूपमा राख्नुभएको छ ।

झापा–५ को वर्तमान अवस्थाबारे तपाईंहरूले केही सर्वेक्षण गर्नुभएको थियो ? 

–हो, हामीले त्यहाँ स्वतन्त्र रूपमा पार्टीको अन्तर–पालिका क्रस गराएर एउटा सर्वेक्षण गरेका थियौँ । प्रत्येक पालिकामा १–१ हजार जनाको स्याम्पल लिएर ९जस्तैस् शिवसताक्षीको टोली दमक, दमकको टोली शिवसताक्षी पठाएर० नचिनेको हिसाबले सर्वेक्षण गरेका थियौँ । १ हजार जनामा ५७८ जनाले ‘घन्टी’ चुनाव चिह्नमा मतदान गर्ने इच्छा व्यक्त गर्नुभएको थियो । त्यतिबेला बालेन शाहको नाम नै थिएन, मात्र घन्टी चिह्नको क्रेज हेरिएको थियो । अहिले बालेन र रवि लामिछानेको एकता भइसकेपछिको अवस्थालाई लिएर हामी फेरि क्रस–चेक गर्ने योजनामा छौँ ।

एमाले अध्यक्ष ओलीको पकड क्षेत्र मानिने झापा–५ मा बालेनलाई चुनाव लड्न कत्तिको सहज देख्नुहुन्छ ? जोखिम छैन ?

–त्यहाँ कुनै जोखिम छैन । बालेन आफैं जानु पनि पर्दैन । हामीले त्यहाँको स्वतन्त्र उम्मेदवार वा रास्वपाकै कुनै व्यक्ति उठायौँ भने पनि केपी ओलीलाई हराउन सक्छौँ भन्नेमा हामी जिल्ला समिति दृढ छौँ । त्यसमा हामी ढुक्क छौँ, बालेन नै चाहिन्छ भन्ने पनि छैन । तर, बालेन आफैं आउने कुराले उत्साह थपेको छ ।

ओलीले त्यहाँ विकास निर्माणका ठूला काम गरेका छन्, संगठन बलियो छ भनिन्छ नि ? 

–त्यो एमाले कार्यकर्ताहरूको हल्का विश्लेषण मात्र हो । देशले नै लखेटिसकेको पात्र, जसलाई झापाले मात्र विवेक गुमाएर बोक्छ त रु हामीलाई विश्वास छ, झापाले विवेक गुमाउँदैन ।

बालेन झापा–५ मा आउने कुरामा तपाईंहरू कत्तिको विश्वस्त हुनुहुन्छ ?

–यो हाम्रो निमन्त्रणा पनि हो र उहाँको चाहना पनि हो । उहाँले ‘डे वान’ (पहिलो दिन) देखि नै आफ्नो चाहना व्यक्त गर्नुभएको छ । उहाँले हामीलाई ६ गते उम्मेदवारी दर्ताका लागि ऱ्यालीको तयारी गर्नु भनेर भन्नुभएको छ । यसलाई हामीले सकारात्मक रूपमै लिएका छौँ ।

तपाईंको टोलीले बालेनलाई झापा झर्न विशेष आग्रह गरेको हो ?

–उहाँको एउटै इच्छा के थियो भने– ‘म झापामा लड्दा कोशी प्रदेशभरि नै एउटा सकारात्मक प्रभाव पार्नुपर्छ ।’ त्यसैका लागि भए पनि म झापा झर्ने योजनामा छु भन्ने कुरा उहाँले गर्नुभएको छ । झापा मात्र होइन मोरङ, सुनसरी, इलाम, पाँचथर लगायतका जिल्लामा पनि मेरो उपस्थितिको प्रभाव हुनुपर्छ र सोही अनुसारको नतिजा आउनुपर्छ भन्ने उहाँको भनाइ थियो ।

यदि बालेन उम्मेदवार बन्नुभयो भने पार्टीको भूमिका कस्तो रहन्छ ?

–हामी उहाँलाई स्वागत गर्न तयार छौँ । अब उहाँको निर्णय र उहाँलाई हुन सक्ने सुरक्षा खतरा वा अन्य अवस्थाको विश्लेषण उहाँले नै गर्नुहोला । तर, हामीले त उहाँ भर्सक जिल्लामै आइदिए हुन्थ्यो भन्ने चाहेका छौँ । चितवन पछाडिको उत्कृष्ट जिल्ला झापा हो । केन्द्रीय नेतृत्व डा। स्वर्णिम वाग्ले वा बालेन कोही नआउँदा पनि मैले प्रस्ताव गरेको थिएँ । अहिले उहाँकै इच्छा अनुसार हामी अघि बढेका छौँ ।

भेटघाटमा झापाबाट को–को सहभागी हुनुहुन्थ्यो ?

–भेटमा म (कार्यवाहक सभापति) सहित जिल्ला सचिव, क्षेत्रीय सभापतिहरू र अनुशासन आयोगको प्रमुख लगायतको हाम्रो टिम सहभागी थियौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप