श्रम संस्कृति पार्टीले चुनावमा कसैसँग गठबन्धन गर्दैन : घले
सारांश
- हर्क साम्पाङ श्रम संस्कृति पार्टीबाट केन्द्रको राजनीतिमा आउने तयारीमा छन् र आगामी चुनावमा कुनै गठबन्धन नगरी प्रतिस्पर्धा गर्नेछन्।
- पार्टीले देशैभर १६५ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने लक्ष्य लिएको छ, जसमा प्रदेश १ मा धेरै उम्मेदवार टुंगो लागिसकेको छ।
- श्रम संस्कृति पार्टीले चुनावमा बहुमतको सरकार बनाउने लक्ष्य राखेको छ, र अन्य दलहरूसँग चुनावी गठबन्धन नगर्ने निर्णय गरेको छ।
विराटनगर ।नेपाली राजनीतिमा श्रम संस्कृतिको नयाँ भाष्य स्थापित गर्न खोजिरहेका हर्क साम्पाङ अब स्थानीय तहबाट माथि उठेर श्रम संस्कृति पार्टीबाटै केन्द्र्रको राजनीतिमा हस्तक्षेप गर्ने तयारीमा छन् । उनको पार्टीले आगामी निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगर्ने र आफ्नै चुनाव चिह्न ‘माटो’ लिएर मैदानमा उत्रने घोषणा गरेको छ ।
नयाँ भनिएका शक्तिहरूलाई ‘एमसीसीका मतियार’को संज्ञा दिने र पुराना दलहरूलाई चुनौती दिने यो पार्टीको अबको बाटो कस्तो होला ? प्रस्तुत छ, पार्टीका प्रवक्ता सत्य घलेसँग उम्मेदवार छनोटदेखि भावी सत्ता समीकरणसम्मका विषयमा गरिएको कुराकानी
- श्रम संस्कृति पार्टीले निर्वाचनका लागि उम्मेदवारहरूको टुङ्गो कसरी लगाइरहेको छ ? अहिलेसम्म कति क्षेत्रमा फाइनल भयो ?
उम्मेदवार चयनको प्रक्रिया निरन्तर चलिरहेको छ । ठ्याक्कै संख्या भन्न नसकिए पनि धेरै ठाउँमा हामीले टुङ्गो लगाइसकेका छौँ । विशेषगरी प्रदेश नम्बर १ का धेरै क्षेत्रहरूमा उम्मेदवारी फाइनल भएको छ । झापाका ५ वटा क्षेत्रमध्ये ४ वटामा टुङ्गो लागिसकेको छ । त्यस्तै संखुवासभा, भोजपुर लगायतका जिल्लामा पनि टुङ्गिएको छ । आज काठमाडौँदेखि पूर्वका धेरै साथीहरू टिकट लिनका लागि धरानमै आइरहनुभएको छ । अध्यक्षज्यू अहिले टिकट वितरण र व्यवस्थापनमै व्यस्त हुनुहुन्छ ।
- तपाईंहरूले १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउन लाग्नुभएको हो ?
हो । हाम्रो लक्ष्य देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने नै हो । अहिले पूर्वका साथीहरूलाई धरानमै बोलाएका छौँ । यसपछि मेयर साब आफैँ काठमाडौँ जाँदै हुनुहुन्छ । काठमाडौँमा रहँदा त्यहाँ लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका साथीहरूलाई बोलाएर टिकट वितरण गर्ने कार्यक्रम छ ।
- पछिल्लो समय प्रगतिशील लोकतान्त्रिक पार्टीका संयोजक सुदन किराती लगायतका नेताहरूसँग पनि तपाईंहरूको भेटघाट भयो । अरू दलसँग चुनावी गठबन्धन वा सहकार्यको सम्भावना कत्तिको छ ?
हामी कसैसँग पनि चुनावी गठबन्धन गर्दैनौँ । हाम्रो विचार र सिद्धान्त एकदमै प्रस्ट छ । हाम्रो विचार र सिद्धान्तसँग सहमत हुने जो कोही हाम्रो चुनाव चिह्न माटो चिह्न लिएर आउनुहुन्छ भनेमात्रै सहकार्य हुन सक्छ । सुदन किरातीजीका साथीहरू पनि सहकार्यको प्रस्ताव लिएर आउनुभएको थियो, तर कुरा मिलेन । हामीले हाम्रो चिह्नबाट लड्नुपर्ने सर्त राख्यौँ, उहाँहरूले मान्नुभएन । उहाँ सायद सुनसरी क्षेत्र नम्बर १ बाटै उठ्ने तयारीमा हुनुहुन्छ । तर मेरो दाबी छ— उहाँ त्यहाँबाट उठ्नुभयो भने उहाँको जमानत जफत हुनेछ । उहाँसँग थोरै कार्यकर्ता होलान्, तर हर्क साम्पाङको अगाडि उहाँको केही चल्दैन ।
सुनसरी क्षेत्र नम्बर १ मा त म त भन्छु— सबै दल मिलेर आए पनि हर्क साम्पाङको जित सुनिश्चित छ । चुनावी खर्च बचाउनका लागि उहाँलाई निर्विरोध जिताउँदा पनि हुन्छ । जसरी विगतमा १० दल मिलेर आउँदा पनि उहाँले जित्नुभयो, आसन्न निर्वाचनमा पनि त्यस्तै हुनेछ ।
- तपाईंहरूले आगामी निर्वाचनमा कस्तो नतिजाको अपेक्षा गर्नुभएको छ ?
हामीले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ गरी बहुमतको सरकार बनाउने आकलन र तयारी गरेका छौँ । हामी बहुमतकै सरकार बनाउँछौँ ।
- हर्क साम्पाङले नयाँ पुराना सबै दल र बालेन शाह, रवि लामिछाने जस्ता पात्रहरूमाथि कडा टिप्पणी गरिरहनुभएको छ । यसले शुभेच्छुकहरू रुष्ट हुन्छन् भन्ने लाग्दैन ?
पुराना दलहरूसँग त हाम्रो प्रतिस्पर्धा छँदैछ । किनकि उनीहरूको वर्षौंदेखिको सङ्गठन छ । तर यी नयाँ भनिएका रास्वपा (जसलाई म राष्ट्रिय झुक्याउने पार्टी भन्छु)ले जनतालाई झुक्याइरहेका छन् । उनीहरू फेसबुकबाट बालेनलाई प्रधानमन्त्री बनाउँछन्, तर जनताले हर्क साम्पाङलाई रोजिसकेका छन् । उनीहरूको कुनै स्पष्ट विचार र सिद्धान्त छैन । कुुलमान घिसिङहरू कहिले हरियो, कहिले नीलो टोपी लगाएर हिँड्छन्, उनीहरूमा पनि स्पष्टता छैन ।
_iy9rsDIA9Q.jpg)
मेयर साबले बोलेको कुरा भनेको जनताको दिमागको बिर्को खोलिदिएको मात्र हो । अर्को मुख्य कुरा यी नयाँ शक्ति भनिएकाहरू सबै एमसीसीका मतियार हुन् । स्वर्णिम वाग्लेजी जस्ता व्यक्तिहरू त खुलमखुल्ला एमसीसीको वकालत गर्नुहुन्छ । हामी ३ करोड जनतासँग सहकार्य गर्न आएका हौँ । देशको अस्तित्व नै सङ्कटमा पार्ने विदेशी शक्तिका मतियारहरूसँग हाम्रो कुनै सहकार्य हुन सक्दैन ।
- हर्क साम्पाङले मेयर पदबाट राजीनामा कहिले दिनुहुन्छ ?
उहाँले माघ ५ गतेतिर राजीनामा दिनुहुनेछ । निर्वाचनको तयारीका लागि उहाँले राजीनामा दिएर पूर्ण रूपमा चुनावी अभियानमा होमिनुहुनेछ ।
- पहिचानको आन्दोलन र डकेन्द्रसिंह थेगिमहरूसँगको सम्बन्ध अब कसरी अगाडि बढ्छ ?
हामी संस्कृतिवादी हौँ, हामी सबैको संस्कृतिको सम्मान गर्छौं । यसअघि डकेन्द्रसिंह थेगिम र काठमाडौँमा राजमानजीहरू स्वतन्त्र उठेको हुनाले हामीले एउटा स्वतन्त्र अभियानका हिसाबले सघाएका हौँ, तर अहिलेका कतिपय शक्तिहरू भित्रभित्रै राजावादी जस्ता देखिएका छन् । उनीहरूमा स्पष्टता छैन । हामी गणतन्त्रवादी र संस्कृतिवादी हौँ । त्यो कुरा मान्नेहरूसँग हाम्रो सहकार्य हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण