बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

युक्रेनको ऊर्जा क्षेत्रमा आपतकाल घोषणा

बिहीबार, ०१ माघ २०८२, १२ : २४
बिहीबार, ०१ माघ २०८२

सारांश

  • युक्रेनले ऊर्जा संकटका कारण आपतकाल घोषणा गरेको छ, जसले गर्दा हजारौं नागरिक बिजुली, तातो र पानीबाट वञ्चित भएका छन्।
  • राष्ट्रपति जेलेन्स्कीले रुसले जाडोलाई युद्ध रणनीतिका रूपमा प्रयोग गरेको आरोप लगाएका छन्, र मर्मतका लागि विशेष कार्यदल गठन गर्ने बताए।
  • अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेन शान्ति सम्झौताका लागि कम तयार रहेको टिप्पणी गरे, जेलेन्स्की र ट्रम्प आगामी विश्व आर्थिक मञ्चमा सहभागी हुनेछन्।

किभ । युक्रेनले ऊर्जा क्षेत्रमा आपतकाल घोषणा गरेको छ । अत्याधिक चिसो मौसम र रुसी आक्रमणका कारण उत्पन्न ऊर्जा सङ्कटलाई ध्यानमा राख्दै युक्रेनले ऊर्जा क्षेत्रमा आपतकाल घोषण गरेको हो ।  

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार राजधानी किभ विशेष रूपमा प्रभावित भएको छ । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण हजारौँ नागरिक बिजुली, तातो र पानीबाट वञ्चित भएको बताइएको छ ।

रुसले कठोर जाडोको अवस्थालाई युद्ध रणनीतिका रूपमा प्रयोग गरिरहेको आरोप जेलेन्स्कीले लगाएका छन् । किभमा पछिल्ला दिनको तापक्रम माइनस २० डिग्री सेल्सियससम्म झरेको छ । पछिल्लो साता भएको एक भीषण आक्रमणपछि किभको करिब ७० प्रतिशत क्षेत्र केही घण्टासम्म पूर्ण रूपमा अन्धकार भएको थियो ।

बुधबार बसेको मन्त्रिपरिषद्को विशेष बैठकपछि जेलेन्स्कीले क्षतिग्रस्त ऊर्जा संरचना मर्मतका लागि २४ सै घण्टा काम गर्ने विशेष कार्यदल गठन गरिने बताएका थिए । विदेशबाट आवश्यक ऊर्जा उपकरण र स्रोतहरू खरिद गरी ध्वस्त संरचना प्रतिस्थापन गर्ने योजना पनि उनले सार्वजनिक गरेका छन् ।

ऊर्जा मन्त्रीसमेत रहेका प्रथम उपप्रधानमन्त्रीलाई प्रभावित समुदाय र नागरिकलाई सहयोग गर्ने कार्यको नेतृत्व दिइएको माइक्रो ब्लगिङ वेबसाइट एक्सको एउटा पोष्टमा उनले उल्लेख गरेका छन् । किभमा आपतकालीन सहायता केन्द्रको सङ्ख्या बढाइने, नागरिकलाई ताप तथा विद्युत् उपलब्ध गराउने व्यवस्था सुदृढ पारिने अनि यसका लागि हाल लागू मध्यरातको कफ्र्यु केही खुकुलो बनाउन सकिने सङ्केत पनि दिइएको छ ।

युक्रेन–रुस युद्ध अन्त्यका लागि शान्ति सम्झौता हुन नसक्नुमा युक्रेन कम तयार रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिप्पणी गरेकै समयमा यी कदम चालिएका हुन् । रोयटर्ससँग कुरा गर्दै ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनभन्दा जेलेन्स्की सम्झौताका लागि कम इच्छुक देखिएको बताएका थिए ।

जेलेन्स्की र ट्रम्प दुवै आगामी साता स्विट्जरल्याण्डमा हुने विश्व आर्थिक मञ्चमा सहभागी हुने अपेक्षा गरिएको छ । यस क्रममा जेलेन्स्कीसँग औपचारिक भेटघाटको कुनै योजना भने तय नभएको सङ्केत ट्रम्पले गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप