बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

इरानमा नयाँ नेतृत्व खोज्ने समय आएको छ : ट्रम्प

आइतबार, ०४ माघ २०८२, १४ : ४७
आइतबार, ०४ माघ २०८२

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीको लामो शासनको कडा आलोचना गर्दै इस्लामिक गणतन्त्रमा ‘नयाँ नेतृत्व खोज्ने समय आएको’ टिप्पणी गरेका छन् । इरानमा बढ्दो मुद्रास्फीति, गहिरिँदो आर्थिक सङ्कट र शासनप्रति जनआक्रोश तीव्र बन्दै जाँदा सरकारविरोधी प्रदर्शनहरू फैलिरहेको सन्दर्भमा राष्ट्रपति ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो ।

पोलिटिकोसँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले तेहरानको नेतृत्वले सत्ता जोगाइराख्न हिंसा र दमनको सहारा लिएको आरोप लगाए । “देशको नेताका रूपमा उहाँ आफ्नो देशको लगभग पूर्ण विनाश र इतिहासमै नदेखिएको स्तरको हिंसाको प्रयोगका लागि जिम्मेवार हुनुहुन्छ”, ट्रम्पले पोलिटिकोमार्फत भने- “देश चलाइराख्न नेतृत्वले आफ्नै देशलाई सही तरिकाले सञ्चालन गर्न ध्यान दिनुपर्छ, जसरी मैले संयुक्तराज्य अमेरिकामा गरेको छु । नियन्त्रण कायम राख्न हजारौँ निर्दोष मानिसहरू मार्न आवश्यक हुँदैन ।”

राष्ट्रपति ट्रम्पका अनुसार साँचो नेतृत्व डर र मृत्युमाथि होइन, सम्मानमाथि निर्माण हुन्छ । उनले व्यक्तिगत रूपमा खमेनीको आलोचना गर्दै उनलाई ‘एक बिरामी मानिस’ को संज्ञा दिनुभयो र इरानलाई कमजोर नेतृत्वका कारण संसारमा बस्न सबैभन्दा खराब स्थानमध्ये एक भएको टिप्पणी गरे ।  “उहाँले आफ्नो देश राम्रोसँग चलाउनुपर्छ र आफ्नै नागरिकलाई मार्न बन्द गर्नुपर्छ”, ट्रम्पले भने ।

राष्ट्रपति ट्रम्पको यो टिप्पणी इरानी सर्वोच्च नेता खमेनीले सामाजिक सञ्जाल एक्समा शृङ्खलाबद्ध पोस्ट गर्दै इरानमा भइरहेको अशान्ति र हताहतका घटनाका लागि अमेरिकालाई दोष लगाएपछि आएको हो । खमेनीले अमेरिकी राष्ट्रपतिमाथि इरानी जनताको वास्तविक इच्छालाई गलत रूपमा चित्रण गर्दै हिंसात्मक समूहहरूलाई समर्थन गरेको आरोप लगाएका छन् ।

“अमेरिकी राष्ट्रपतिले तोडफोड, आगजनी र मानिसहरूको हत्या गर्ने समूहहरूलाई ‘इरानी राष्ट्र’ का रूपमा प्रस्तुत गर्नुभयो । उहाँले इरानी जनतामाथि भयावह निन्दा गर्नुभयो । हामी यस बदनामीका लागि अमेरिकी राष्ट्रपतिलाई दोषी ठान्दछौँ”, खमेनीले लेखेका छन् ।

उनले थप आरोप लगाउँदै भनेका छन्, “अमेरिकी राष्ट्रपतिले राजद्रोहीहरूलाई समर्थन गर्ने र उनीहरूलाई सैन्य सहयोग उपलब्ध गराउने सन्देश दिनुभयो । अर्को शब्दमा भन्नुपर्दा, अमेरिकी राष्ट्रपति स्वयं देशद्रोहमा संलग्न हुनुहुन्छ । यी आपराधिक कार्यहरू हुन् ।”

ट्रम्प र खमेनीबिचको यस्ता अभिव्यक्तिहरूले वासिङ्टन र तेहरानबिच बढ्दो तीव्र बयानबाजीलाई थप उजागर गरेको छ । विश्लेषकहरूका अनुसार यसले इरानभित्र जारी राजनीतिक अस्थिरता र शासन प्रणालीप्रति गहिरिँदो विभाजनलाई समेत स्पष्ट रूपमा देखाएको छ ।

यसैबिच, मानवअधिकार कार्यकर्ता समाचार एजेन्सी (एचआरएएनए) का अनुसार इरानमा देशव्यापी विरोध प्रदर्शन २१औँ दिनमा प्रवेश गरिसकेको छ । देशभर इन्टरनेट ब्ल्याकआउट जारी छ भने सुरक्षा निकायहरूले कडा दमनात्मक कारबाही सञ्चालन गरिरहेका छन् ।

एचआरएएनएबाट पुष्टि भएका विवरणअनुसार हालसम्म विरोध प्रदर्शनका क्रममा तीन हजार ३०८ जनाको मृत्यु भइसकेको छ भने थप चार हजार ३८२ घटनाबारे अनुसन्धान जारी रहेको छ । अहिलेसम्म दुई हजार १०७ जना गम्भीर घाइते भएको र कम्तीमा २४ हजार २६६ जनालाई पक्राउ गरिएको अधिकारीहरूले पुष्टि गरेका छन् ।

यसै सन्दर्भमा खमेनीले पहिलो पटक सार्वजनिक रूपमा अशान्तिका क्रममा ‘हजारौँ मानिसहरूले’ ज्यान गुमाएको स्वीकार गरेका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप