मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

कास्की–२ मा उम्मेदवार फेर्न रास्वपाका १० जना वडा सभापतिले पठाए पत्र

सोमबार, ०५ माघ २०८२, १६ : ११
सोमबार, ०५ माघ २०८२

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार चयनको विषयलाई लिएर असन्तुष्टि बढेको छ।
  • क्षेत्र नम्बर २ का वडा सभापतिहरूले उम्मेदवार खारेजीको माग गर्दै पार्टी केन्द्रीय कार्यालयमा पत्र पठाएका छन्।
  • असन्तुष्ट पक्षले उम्मेदवार नफेरे विद्रोह गर्ने चेतावनी दिएका छन्, उत्तम पौडेललाई टिकट दिइएकोमा उनीहरूको आपत्ति छ।

पोखरा । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार चयनको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा असन्तुष्टि चुलिएको छ । पार्टीले आगामी निर्वाचनका लागि चयन गरेको उम्मेदवार अलोकप्रिय रहेको भन्दै क्षेत्र नम्बर २ अन्तर्गतका वडा सभापति तथा सदस्यहरूले उम्मेदवारी खारेजीको माग गर्दै पार्टी केन्द्रीय कार्यालयमा पत्र पठाएका छन् ।

क्षेत्रको भूगोल बुझेको र पार्टीलाई योगदान गरेको योग्य व्यक्ति हुँदाहुँदै अयोग्य व्यक्तिलाई टिकट दिइएको आरोप उनीहरूको छ । असन्तुष्ट पक्षले पार्टीको निर्णय इमानदार र सक्रिय सदस्यहरूको भावना विपरीत भएको बताएको छ ।

उनीहरूले उम्मेदवार नफेरे विद्रोह गर्ने चेतावनीसमेत दिएका छन् । ‘पार्टीका इमानदार सक्रिय निःस्वार्थ सदस्यहरूको भावना विपरीत हार निश्चित हुने उम्मेदवार हामीलाई स्वीकार नभएको जानकारी गराउँदछौँ,’ पत्रमा भनिएको छ ।

क्षेत्र नम्बर २ का ११ वडामध्ये अधिवेशन भएका १० वडाका सभापतिहरू टिकट दिइएको उम्मेदवारका विरुद्ध लागेका छन् । पोखरा–१६ का पूर्वसभापति जीवन बहादुर बस्नेत, पोखरा महानगर–२१ का सभापति पवित्रमणि अधिकारी, वडा नम्बर ७ का सभापति ज्ञानेन्द्र सुवेदी, वडा नम्बर ३ का सभापति प्रकाश बास्तोला, वडा नम्बर १७ का सभापति नुर बहादुर विश्वकर्मा, वडा नम्बर १५ का सभापति पुस्कल ढकाल, वडा नम्बर ११ का सभापति नवराज लामिछाने, वडा नम्बर ८ का सभापति कृष्णमान दुसाजु, वडा नम्बर २० का सभापति दिपेश पौडेल, वडा नम्बर १६ का सभापति विश्वबन्धु थापा र वडा नम्बर ३३ का सभापति दिनेश आचार्यले संयुक्त पत्र पठाएका हुन् ।

महानगर सचिव नरेश रेग्मी र वडा सदस्यहरूले पनि उक्त मागमा ऐक्यवद्धता जनाएका छन् । रास्वपाले कास्की–२ मा उत्तम पौडेललाई टिकट दिएको छ । यो क्षेत्रबाट नेताहरू माधव कँडेल, योगेन्द्र केसी, अशोक खड्का लगायतले दाबी गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप