बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

काठमाडौँसहित देशभर छुट्टाछुट्टै दुर्घटना : पाँच जनाको मृत्यु

मङ्गलबार, ०६ माघ २०८२, १३ : ४८
मङ्गलबार, ०६ माघ २०८२

सारांश

  • देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।
  • काठमाडौंको खुसीबु चोकमा स्कुटर ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ, भने चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
  • सिराहा, गुल्मी र मोरङमा भएका दुर्घटनामा अन्य व्यक्तिको मृत्यु भएको छ, र प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । काठमाडौँ, सिराहा, गुल्मी र मोरङमा भएका यी दुर्घटनामा परी ज्यान गुमाउनेमा अधिकांश युवा रहेका छन् ।

काठमाडौँ महानगरपालिका–१६ खुसीबु चोकमा रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा २४ वर्षीय जय नारायण बिच्छाको मृत्यु भएको छ । महोत्तरी घर भएका बिच्छाको टिचिङ अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ । 

उता, सिराहा नगरपालिका–१९ मा बसले मोटरसाइकललाई ठक्कर दिँदा ३० वर्षीय सिकिन्द्र यादवको मृत्यु भएको छ । ठक्कर दिने बसका चालक भने हाल फरार रहेकाले प्रहरीले खोजी कार्य तीव्र पारेको छ ।

गुल्मीको चन्द्रकोट गाउँपालिकामा टिपर अनियन्त्रित भई दुर्घटना हुँदा १८ वर्षीय सहचालक विजय खड्काको ज्यान गएको छ । जिल्ला अस्पताल तम्घासमा उपचारका क्रममा उनको मृत्यु भएको हो । 

यसैगरी, मोरङको बुढीगंगा गाउँपालिकामा मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालक ३१ वर्षीय प्रकाश साह र सवार ४० वर्षीया कञ्चन झाको मृत्यु भएको छ । बिराट टिचिङ अस्पतालमा उपचारका क्रममा उनीहरूको निधन भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार यी सबै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप