मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

एमाले र माओवादीबिच चुनावी तालमेलको प्रयास, दाङमा शंकर र कालिकोटमा खड्ग बहादुरलाई सघाउने

बिहीबार, ०८ माघ २०८२, ११ : २८
बिहीबार, ०८ माघ २०८२

काठमाडौँ । नेकपा (एमाले) र नेकपा (माओवादी) बिच सीमित निर्वाचन क्षेत्रमा चुनावी तालमेल हुने भएको छ । दुई पार्टीबिच भएको भद्र सहमति अनुसार माओवादीले दाङ–२ उम्मेदवारी दिएको छैन । एमालेले कालिकोट–१ उम्मेदवारी नदिने सहमति भएको माओवादी लुम्बिनी प्रदेशका इन्चार्ज सन्तोष बुढामगरले जानकारी दिए ।

‘चुनावी तालमेल गर्ने विषयमा शंकर पोखरेलसँग सहमति भएअनुसार नै हामीले दाङ–२ मा उम्मेदवारी दिएका छैनौँ । दुई पक्षबिच भएको सहमति अनुसार कालिकोटमा एमालेले उम्मेदवारी नदिने भनिएको थियो । तर एमालेले उम्मेदवारी दिएको छ’, रातोपाटीसँग बुढामगरले भने, ‘हामीले इमानदारिता देखाएका छौँ । उहाँहरू के गर्नुहुन्छ थाहा छैन । अरु थप कुन कुन क्षेत्रमा तालमेल गर्ने भनेरचाहिँ निष्कर्षमा पुगिसकेका छैनौँ । उम्मेदवारी फिर्ता लिने बेलासम्म सहमति कार्यान्वयन हुन्छ होला ।’

२०६९ सालमा तत्कालीन एकीकृत नेकपा माओवादीबाट अलग भएपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले पहिलोपटक निर्वाचनमा भाग लिन लागेको हो । माओवादीले १३० क्षेत्रमा उम्मेदवारी दिएको छ । पार्टीको निर्णय अनुसार महासचिव विप्लव लगायत केही नेताहरूले उम्मेदवारी दिएका छैनन् ।  

यता एमालेकी सचिव तथा लुम्बिनी प्रदेशका इन्चार्ज पद्यमा अर्यालले तल्लो तहमा तालमेल गर्ने सहमति भएपनि निष्कर्षमा नपुगेको बताइन् । अध्यक्ष केपी ओली झापाबाट आएपछि चुनावी तालमेलको विषयमा छलफल हुने उनले बताइन् ।

‘माओवादीसँग चुनावी तालमेल गर्ने विषयमा तल्लो तहमा छलफल भएको हो । सहमति अनुसार उहाँले दाङ–२ मा उम्मेदवारी दिनुभएको छैन । हामीले त १६५ वटै क्षेत्रमा उम्मेदवारी दिएका छौँ । सबै ठाउँमा त सकिँदैन सीमित क्षेत्रमा तालमेल हुन सक्छ । उम्मेदवारी फिर्ता लिने समय भोलिसम्म रहेकाले अध्यक्ष काठमाडौँ आएपछि छलफल हुन्छ’, अर्यालले भनिन् ।

एमालेले दाङ–२ मा महासचिव पोखरेललाई उम्मेदवार बनाएको छ । यस क्षेत्रमा कांग्रेसले किरण किशोर घिमिरे, नेपाली कम्युनिस्ट पार्टीले निर्मल आचार्य र रास्वपाले विपिन कुमार आचार्यलाई उठाएको छ । माओवादीले प्रवक्ता विश्वकर्मालाई कालीकोटबाट उठाएको छ । कालिकोटमा नेकपाले बलिया उम्मेदवार महेन्द्र बहादुर शाहीलाई उठाएको छ । पूर्वमुख्यमन्त्री समेत रहेका शाही २०७० देखि लगातार निर्वाचन जित्दै आएका छन् । यहाँ एमालेले नागिन्द्र शाही, कांग्रेसले हर्षबहादुर बम र रास्वपाले प्रकाश न्यौपानेलाई उठाएको छ ।

एमाले र माओवादीले प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाली कम्युनिस्ट पार्टी लगायतसँग तालमेलबारे कुनै छलफल नभएको बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप