सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
कलाकार

पर्दामा ‘माया’, पर्दा पछाडि निर्माताको भूमिका निभाएकी बेनिशा

शुक्रबार, १६ माघ २०८२, १३ : ००
शुक्रबार, १६ माघ २०८२

सारांश

  • अभिनेत्री बेनिशा हमाल फिल्म 'द ब्लु लाइट' मा कार्यकारी निर्माता बनेकी छिन्, जसले उनको लागि नयाँ जिम्मेवारी थपेको छ।
  • फिल्म प्रदर्शन र दर्शक तान्नु निर्माताको लागि ठूलो चुनौती भएको र चुनावको माहोलले व्यापारमा पार्ने प्रभावको चिन्ता पनि रहेको छ।
  • बेनिशाले फिल्म निर्माणमा नयाँ मेकरलाई साथ दिएकी हुन्, र आगामी दिनमा महिला केन्द्रित कथाहरूमा फिल्म बनाउने योजना बनाएकी छिन्।
00:00 / NaN:NaN
Audio By AI

काठमाडौँ । फिल्म निर्माता बन्ने अभिनेत्रीको लहरमा बेनिशा हमाल पनि थपिएकी छिन् । फिल्म ‘द ब्लु लाइट’मा उनी कार्यकारी निर्माता छिन् । शुक्रबारबाट प्रदर्शनमा आउन लागेको यो फिल्म उनका लागि एउटा प्रोजेक्ट मात्र होइन, मेहनत, लगानी र नयाँ सपनाको परीक्षा पनि हो ।

कलाकार मात्र हुँदा आफ्नो भूमिकामा ध्यान दिए पुग्थ्यो, तर निर्माता बनेपछि जिम्मेवारीको दायरा निकै फराकिलो भएको उनी बताउँछिन् । ‘फिल्मको प्रमोसनदेखि रिलिजसम्मको कामले बिहानदेखि साँझसम्म दौडधुपमै बित्छ’, रातोपाटीसँग उनी भन्छिन्, ‘प्रचारप्रसार, बजारीकरण, हलको व्यवस्थापनदेखि आर्थिक पाटोको सन्तुलन मिलाउन निकै दबाब हुँदोरहेछ ।’

फिल्म बनाउनु एउटा कुरा हो भने त्यसलाई प्रदर्शन गर्नु र दर्शकलाई हलसम्म तान्नु अर्को ठुलो चुनौती हो । बेनिशाले यसपटक यो यथार्थलाई नजिकबाट महसुस गरेकी छन् । ‘फिल्म बनाउन जति गाह्रो हुन्छ, त्यो भन्दा धेरै गाह्रो त रिलिज गर्न रहेछ’, उनी अनुभव सुनाउँछिन् ।

अहिलेको राजनीतिक माहोल र चुनावी चर्चाले पनि फिल्मको व्यापारमा प्रभाव पार्ने हो कि भन्ने चिन्ता उनमा छ । कार्यकारी निर्माताको रूपमा उनी आफ्नो अभिनयको लागि मात्र होइन, बरु फिल्मसँग जोडिएका हरेक प्राविधिक र आर्थिक पक्षप्रति उत्तरदायी छिन् । कसैले औँला नउठाओस् र सबै काम पारदर्शी होस् भन्नेमा आफू सचेत रहेको उनी बताउँछिन् ।

बेनिशा फिल्मको कार्यकारी निर्माताको भूमिकामा योजनाबद्ध तवरबाट भन्दा पनि अवसर र स्क्रिप्टप्रतिको विश्वासले जोडिएकी हुन् । फिल्ममा पहिले उनी कलाकारको रूपमा जोडिएकी थिइन् ।

624089000_1232397732193590_1306103524985872401_n

 ‘एउटा सर्टेन पारिश्रमिक लिएर म फिल्ममा जोडिएको थिएँ । त्यही पारिश्रमिक सेयरमा राखेर कार्यकारी निर्माता बन्नुस् भन्नुभयो’, उनी भन्छिन्, ‘फिल्मको स्क्रिप्ट पनि राम्रो लागेको थियो ।’ आफू निर्माता बन्ने निर्णय पैसा कमाउन नभएर एउटा राम्रो स्क्रिप्ट र नयाँ मेकरको भिजनलाई साथ दिन भएको उनी सुनाउँछिन् ।

फिल्मका निर्देशक बलिराम चौहान हुन् । लेखक समेत रहेका चौहानले यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्दैछन् । ‘स्क्रिप्ट राम्रो र निर्देशक पोटेन्सियल देखेर यस्ता खालका फिल्महरु हत्तपत्त बन्दैनन् भनेर निर्माणमा साथ दिएकी हुँ’, बेनिशा भन्छिन्, ‘कोही नयाँ मेकरले नयाँ सोच लिएर आउनुभएको छ भने किन सहयोग नगर्ने त भनेर जोडिएकी हुँ ।’

‘द ब्लु लाइट’ एउटा मनोवैज्ञानिक थ्रिलर फिल्म हो । जसमा अर्पण थापा, सृष्टि श्रेष्ठ, आयुष्मान् देशराज जोशीसँगै उनको पनि मुख्य भूमिका छ । फिल्मको सार्वजनिक ट्रेलर हेर्दा फिल्ममा उनी दोहोरो भूमिकामा रहेको अनुमान गर्न सकिन्छ । उनी भने फिल्ममा आफ्नो ‘माया’ नामको मुख्य चरित्र रहेको बताउँछिन् ।

फिल्ममा उनको चरित्र अहिलेको पुस्ताको प्रतिनिधित्व गर्ने खालको छ, जो सम्बन्धहरूमा धेरै अपेक्षा राख्छ र ती अपेक्षा पूरा नहुँदा मनोवैज्ञानिक ट्रमा (आघात) बाट गुज्रिन्छ । बेनिशाका अनुसार यो चलचित्रले करिअरको सफलता भन्दा पनि मानवीय सम्बन्धले मानिसको मानसिक अवस्थामा पार्ने प्रभावलाई बडो सूक्ष्म ढङ्गले प्रस्तुत गरेको छ ।

Benisha Hamal (4)

फिल्ममा अर्पण र आयुष्मानको भूमिका ‘सस्पेन्स’ भएकाले अहिले नै खुलाउन नमिल्ने उनी बताउँछिन् । सृष्टिले भने खलपात्रको भूमिका निभाएकी छिन् ।

  ‘सामान्यतया नेपाली फिल्ममा महिला पात्रलाई जुन रूपमा ‘नेगेटिभ’ देखाइन्छ, यहाँ त्योभन्दा भिन्न एउटा जटिल चरित्रमा सृष्टि देखिनेछिन्’, बेनिशा भन्छिन् । आफ्नो र सृष्टिको प्रभावशाली अभिनय सहकार्यले फिल्मलाई थप सशक्त बनाएको बेनिशाको विश्वास छ ।

बेनिशाको फिल्मी करिअरलाई हेर्ने हो भने उनका थोरै फिल्म व्यावसायिक रूपमा सफल छन् भने धेरै समीक्षात्मक रूपमा प्रशंसित छन् । बक्स अफिसको अंकगणितले मात्र कलाकारको सफलता मापन गर्न नसकिने उनी बताउँछिन् ।

 ‘फिल्म सफल हुनु र फिल्म राम्रो हुनु दुई फरक कुरा हुन्’, उनी भन्छिन्, ‘कहिलेकाहीँ व्यावसायिक रूपमा सफल नभएका फिल्महरूले पनि मलाई कलाकारको रूपमा गर्व गर्ने ठाउँ दिएका छन् ।’ फिल्म असफल हुन सक्छ, तर इमानदार कलाकार कहिल्यै असफल नहुने धारणा राख्ने बेनिशा असफल फिल्म धेरै भएपनि आफ्नो कामप्रति शतप्रतिशत इमानदार भएकाले अहिलेसम्म कामको अभाव नभएको बताउँछिन् ।

Benisha Hamal (3)

 ‘म आलोचना पनि रचनात्मक होस् भन्ने ठान्छु,’ उनी भन्छिन्, ‘यसले आफूलाई तिखार्न मद्दत पुग्छ ।‘

 धेरैलाई थाहा नहुन सक्छ, बेनिशाले भारतबाट निर्देशनको औपचारिक अध्ययन पनि गरेकी छिन् । उनको आफ्नै प्रोडक्सन हाउस ‘मोहरी पिक्चर्स’ छ । जसबाट उनले ‘मिसिङ ब्राइड’ नामक सर्ट फिल्म निर्देशन गरेकी छिन् । जुन युट्युबमा समेत राखिएको छ । उनका लागि निर्माण र निर्देशन एउटै सिक्काका दुई पाटा हुन् । निर्माणको यो अनुभवले आफूलाई भोलिका दिनमा एउटा पूर्ण कदको फिल्म निर्देशन गर्न बलियो जग प्रदान गर्ने उनको विश्वास छ ।

 ‘मलाई सधैँ महिला केन्द्रित कथाहरू भन्न मन लाग्छ’, निर्देशनमा आउन चाहनुको कारणबारे बेनिशा भन्छिन्, ‘हाम्रो समाजमा महिलाका कैयौँ नभनिएका कथाहरू छन्, जसलाई पर्दामा ल्याउनु आवश्यक छ ।’ उनी आफ्नै ब्यानरबाट फिल्म निर्माण तथा निर्देशनको तयारी पनि गरिरहेकी छिन् । तर फिल्मको जनरा भने तय भइसकेको छैन ।  आफ्नो प्राथमिकतामा महिलाकै संवेदना र सङ्घर्ष रहेको उनी सुनाउँछिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप