मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

भोटेबहालमा २५ तोला सुन चोर्नेले नै बौद्धमा १ करोडको गहना चोरेको आशङ्का

बुधबार, २१ माघ २०८२, १५ : ५९
बुधबार, २१ माघ २०८२

सारांश

  • काठमाडौंको बौद्धस्थित एक घरबाट १ करोड ४ लाख ५३ हजार बराबरको सुनका गहना चोरी भएको छ।
  • चोरीमा संलग्न व्यक्तिले ढोकाको लक फुस्काएर सुनका गहना झोलामा हालेर फरार भएको प्रहरीले जनाएको छ।
  • प्रहरीले सीसीटीभी फुटेजको आधारमा अनुसन्धान गरिरहेको छ र भोटेबहालको घटनासँग यसको सम्बन्ध रहेको आशंका गरेको छ।

काठमाडौँ । काठमाडौँ महानगरपालिका–६ बौद्ध टुसालमा मंगलबार रिन्जी लामाको घरबाट १ करोड ४ लाख ५३ हजार बराबरको सुनको गहना चोरेर आरोपी फरार भए । 

३ दिनअघि भोटेबहालमा पनि २५ तोला सुन चोरी भएको थियो । माघ १७ मा शनिवार एक घरबाट चोरीमा संलग्न व्यक्तिले दिउँसोको समयमा २५ तोला सुन चोरेर भागेका हुन् ।

भोटेबहाल र बौद्धमा भएको घटनामा एउटै व्यक्ति संलग्न रहेको अनुसन्धान अधिकृतहरूले आशङ्का गरेका छन् । मंगलबार दिउँसो १२ बजेतिर चोर टुसाल स्थित रिन्जीको घरमा प्रवेश गरेका थिए ।

सरासर चौथो तलामा पुगेर उनले ढोकाको लक खुस्काए । अनि, त्यहाँ राखिएको सि–माला जडित सुनको माला र चाँदीका गहना झोलामा प्याक गरेर निस्केर हिँडे । घरमा मानिसहरू भाडामा पनि बसेका थिए । पाँचौँ तला र छतमा घरका मानिसहरू घाम तापिरहेको अवस्थामा करोडको बहुमूल्य सामान चोरी भएको कसैले थाहै पाएनन् ।

करिब २ बजेतिर ढोकाको लक खुस्काएको र सुन जडित सि–माला नदेखेपछि घरधनीले प्रहरीलाई खबर गरे । प्रहरी वृत्त बौद्धका डीएसपी सन्तोष रोका नेतृत्वको टिमले सो चोरीबारे अनुसन्धान गरिरहेको छ । रिन्जीको घरबाट ३० तोला सुन, चाँदीका गहना र सि–माला सहित १ करोड ४ लाख ५३ हजार बराबरको सामान चोरी भएको दाबी गरिएको छ ।

प्रहरीले क्लोज सर्किट टेलिभिजन (सिसिटिभी) क्यामेराको फुटेज हेरेर अनुसन्धान अघि बढाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले पनि सो घटना अनुसन्धान गरिरहेको छ । फुटेजमा देखिए अनुसार चोरीमा संलग्न पुरुष एक्लै हिँडेको देखिन्छ । 

झोला बोकेर हिँडेका उनले मोटरसाइकल वा स्कुटर प्रयोग गरेका छैनन् । भोटेबहाल र बौद्धमा भएको घटनामा संलग्नको हुलियामा समान रहेको अनुसन्धानमा संलग्न एक जना प्रहरीले अधिकृतले रातोपाटीलाई बताए ।

उनले भने, ‘दुवै घटनामा संलग्नको हुलिया उस्तै देखिन्छ, उनको खोजी भइरहेको छ ।’ उनले अन्यत्र पनि चोरेको हुनसक्ने आकलन गरिएको छ ।

छुटाउनुभयाे कि ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप