मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
चुनावी चर्चा

डोटीको चुनावी महासंग्राम : ९ दलका कस्ता छन् उम्मेदवार ?

आइतबार, २५ माघ २०८२, ०७ : २५
आइतबार, २५ माघ २०८२

सारांश

  • डोटीमा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा ९ राजनीतिक दलका उम्मेदवार चुनावी मैदानमा छन्।
  • कांग्रेस एक्लै चुनावी मैदानमा होमिएको छ भने एमालेले युवा नेतालाई उम्मेदवार बनाएको छ।
  • विभिन्न दलका नेताहरूको अनुपस्थितिले डोटीमा कांग्रेस र एमालेबीचको प्रतिस्पर्धा रोचक बनेको छ।

धनगढी । सुदूरपश्चिमको पहाडी जिल्ला डोटीमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सरगर्मी ह्वात्तै बढेको छ । एउटा मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको यो जिल्लामा यसपटक ९ वटा राजनीतिक दलका उम्मेदवारहरू चुनावी मैदानमा छन् ।

विगतमा नाम कमाएका नेताहरूको भिडन्तले चर्चामा रहने डोटी यसपटक पुराना अनुहारको पलायन र नयाँ युवा अनुहारको आगमनले चासोको विषय बनेको छ ।

मुख्य दलहरू एक्ला–एक्लै र नयाँ दलहरू आक्रामक रूपमा प्रस्तुत हुँदा डोटीको नतिजा कसको पोल्टामा पर्ला भन्ने आकलन गर्न कठिन देखिएको छ । विशेषगरी विगतको समानुपातिक मतको अंकगणित र बदलिएको राजनीतिक समीकरणले यहाँ चुनावमा सबै दलका उम्मेदवारलाई उत्तिकै चुनौती छ ।

सधैं गठबन्धनको रस्साकस्सीमा पर्ने डोटीमा यसपटक नेपाली कांग्रेस एक्लै चुनावी मैदानमा होमिएको छ । कांग्रेसले भरतबहादुर खड्कालाई आफ्नो उम्मेदवारका रूपमा अघि सारेको छ । अघिल्लो पटक गठबन्धन हुँदा नेकपा एकीकृत समाजवादीका प्रेम आलेलाई सघाएको कांग्रेसले यसपटक आफ्नै संगठनको बलमा चुनाव जित्ने रणनीति लिएको छ ।

२०७० सालमा समानुपातिक सांसद र २०७४ मा प्रदेश सभा सदस्य (१) बाट निर्वाचित भइसकेका खड्का कांग्रेसको हालै सम्पन्न विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । पार्टीको नयाँ नेतृत्वले विश्वास गरेर टिकट दिएका खड्का अहिले घरदैलोमा व्यस्त छन् । यद्यपि गठबन्धनबिनाको एक्लो यात्रा उनका लागि सहज भने छैन ।

नेकपा एमालेले भने डोटीमा युवा नेतालाई यसक पटक चुनावी मैदानमा खडा गरेको छ ।

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामीलाई पार्टीले उम्मेदवार बनाएपछि यहाँको चुनावी माहोल तताएको छ । ३२ वर्षको उमेर हदको बहसमा खरो उत्रिएका धामी अन्य उम्मेदवारको तुलनामा कान्छो र जोसिलो उम्मेदवारका रूपमा जिल्लामा चर्चामा छन् ।

डोटीको आगामी नतिजालाई २०७९ सालको समानुपातिक मत परिणामले धेरै हदसम्म निर्देशित गर्ने देखिन्छ । गत निर्वाचनको तथ्याङ्क केलाउँदा यहाँ कांग्रेस र नेकपा एमालेबिचको मतान्तर निकै साँघुरो देखिन्छ । २०७९ मा कांग्रेसले समानुपातिकतर्फ २२ हजार ५१६ मत ल्याउँदा एमाले २२ हजार ४५६ मतसहित पछ्याइरहेको थियो। यी दुई ठूला दलबीच मात्र ६० मतको अन्तर रहनुले यसपटकको प्रतिस्पर्धा हुने संकेत गर्छ ।

अनेरास्ववियुको महासचिव हुँदै अध्यक्ष बनेको दुई महिना नबित्दै संसदीय निर्वाचनको टिकट पाएका धामी आफूलाई युवाहरूको प्रतिनिधि र पाकाहरूको भरोसाको केन्द्र बताउँछन् । कच्ची सडक, गुणस्तरीय शिक्षाको अभाव र स्वास्थ्य उपचारका लागि स्टेचरमा बोकिनुपर्ने डोटीको बाध्यता अन्त्य गर्नु आफ्नो प्राथमिकता रहेको धामीको भनाइ छ ।

‘म मेरो उमेर, समय र सीप डोटेली जनताको जीवन बदल्न खर्चिनेछु,’ उनले भने।

जिल्लाको शिखर नगरपालिकाबाट विद्यार्थी राजनीति सुरु गरेर केन्द्रमा स्थापित भएका धामी दुई दशकपछि जिल्ला फर्किएका हुन् ।

चुनावी मैदानमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री त्रिलोचन भट्टको प्रवेशले प्रतिस्पर्धालाई थप रोचक बनाएको छ । २०७४ मा एमाले–माओवादी गठबन्धनबाट प्रदेश सभा जितेर ५ वर्ष मुख्यमन्त्री चलाएका भट्ट आफ्नो कार्यकालका उपलब्धिलाई सुनाउँदै मतदातासँग उनी यति बेला मत मागिरहेका छन् ।

यद्यपि, मुख्यमन्त्री हुँदा प्रदेश राजधानी गोदावरी तोकेको विषयलाई लिएर उनीमाथि जिल्लामा आरोप लाग्ने गरेको छ ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका नरेन्द्रबहादुर खड्का पनि बलियो प्रतिस्पर्धीका रूपमा देखिएका छन् । डोटी उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत रहेका खड्काले २०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा ६ हजार ६८९ मत ल्याएर तेस्रो स्थान हासिल गरेका थिए । अघिल्लो पटक घण्टी चिह्न लिएका केशव बलायरले मात्र ७७४ मत ल्याए पनि यसपटक नरेन्द्रको व्यक्तिगत मत र रास्वपाको बढ्दो क्रेज मिसिँदा नतिजा उलटफेर हुन सक्ने विश्लेषण गरिएको छ ।

अघिल्लो पटक २७ हजार २१० मत ल्याएर एमालेकी गौरी ओलीलाई हराएका प्रेम आले अहिले जिल्ला बाहिर (कैलाली–५) बाट चुनाव लड्दैछन् । त्यस बेला ओलीले २३ हजार ४ मत ल्याएकी थिइन् । कांग्रेसका नेता वीरबहादुर बलायर पनि दौडमा छैनन् । यी नेताहरूको अनुपस्थितिले सिर्जना गरेको स्पेसमा कांग्रेसले आफ्नो विरासत जोगाउने कि एमालेले गुमेको साख फिर्ता ल्याउने भन्ने लडाइँ चलेको छ ।

डोटीको आगामी नतिजालाई २०७९ सालको समानुपातिक मत परिणामले धेरै हदसम्म निर्देशित गर्ने देखिन्छ । गत निर्वाचनको तथ्याङ्क केलाउँदा यहाँ कांग्रेस र नेकपा एमालेबिचको मतान्तर निकै साँघुरो देखिन्छ । २०७९ मा कांग्रेसले समानुपातिकतर्फ २२ हजार ५१६ मत ल्याउँदा एमाले २२ हजार ४५६ मतसहित पछ्याइरहेको थियो। यी दुई ठूला दलबीच मात्र ६० मतको अन्तर रहनुले यसपटकको प्रतिस्पर्धा हुने संकेत गर्छ ।

उक्त निर्वाचनमा माओवादी केन्द्रले ६ हजार ९सय २४ र एकीकृत समाजवादीले २ हजार ३ सय ७३ मत समानुपातिकमा पाएका थिए। अहिले माओवादी पृष्ठभूमिबाट आएका त्रिलोचन भट्ट (नेकपा) उम्मेदवार बन्दा ती मतहरू कता ढल्किएलान् भन्ने कौतुहलको विषय बनेको छ । यदि ती वामपन्थी मतहरू भट्टले तान्न सके भने कांग्रेस र एमाले दुवैलाई धक्का लाग्न सक्छ ।

अर्कोतर्फ, राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा १ हजार २ सय ४८ मत मात्र पाएको भए पनि स्वतन्त्र उम्मेदवारका रूपमा नरेन्द्र खड्काले ६ हजारभन्दा बढी मत ल्याएका थिए । अहिले पार्टी र उम्मेदवार एकै ठाउँमा उभिँदा रास्वपाको मत उल्लेख्य बढ्ने अनुमान गरिएको छ । राप्रपाले अघिल्लो पटक ९१० र राष्ट्रिय जनमोर्चाले ५६९ मत पाएका थिए ।

अघिल्लो पटक २७ हजार २१० मत ल्याएर एमालेकी गौरी ओलीलाई हराएका प्रेम आले अहिले जिल्ला बाहिर (कैलाली–५) बाट चुनाव लड्दैछन् । त्यस बेला ओलीले २३ हजार ४ मत ल्याएकी थिइन् । कांग्रेसका नेता वीरबहादुर बलायर पनि दौडमा छैनन् । यी नेताहरूको अनुपस्थितिले सिर्जना गरेको स्पेसमा कांग्रेसले आफ्नो विरासत जोगाउने कि एमालेले गुमेको साख फिर्ता ल्याउने भन्ने लडाइँ चलेको छ ।

मुख्य दलहरूसँगै साना दलहरू पनि आफ्नो अस्तित्व देखाउन संघर्षरत छन् ।

राष्ट्रिय जनमोर्चाबाट महासचिव मनोज भट्ट, राप्रपाबाट व्यवसायी खडक अग्रवाल, र नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्रबहादुर शाही चुनावी मैदानमा छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीबाट प्रकाश कठायत र मितेरी पार्टी नेपालबाट सरस्वती कुमारी पाल मल्ल एक मात्र महिला उम्मेदवार पनि प्रतिस्पर्धामा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप