सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

जेनजी आन्दोलन : निजी क्षेत्रमा ३४ अर्बको भौतिक क्षति, लगानीकर्तामा ’पोस्ट–ट्रमाटिक स्ट्रेस’ र चरम निराशा

आइतबार, २५ माघ २०८२, १९ : ०६
आइतबार, २५ माघ २०८२

काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेनजी विद्रोहले नेपालको निजी क्षेत्रमा गहिरो र दीर्घकालीन असर पारेको एक अध्ययनले देखाएको छ ।

आइतबार क्लिकमान्डु डटकमले ‘निजी क्षेत्रको मनोबल र लगानीको वातावरण’ विषयमा गरेको अध्ययन अनुसार उक्त दुई दिनको घटनामा निजी क्षेत्रले करिब ३४ अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष भौतिक क्षति बेहोरेको छ भने त्योभन्दा कैयौँ गुणा बढी क्षति लगानीकर्ताको मनोबल र व्यावसायिक वातावरणमा पुगेको छ । 

निजी क्षेत्रको संरचनात्मक, संस्थागत र व्यावहारिक भूमिका तथा विद्रोहको प्रभाव विश्लेषण गर्न गरिएको एक अध्ययन प्रतिवेदनले यस्तो डरलाग्दो तथ्य उजागर गरेको हो। 

भौतिकभन्दा मनोवैज्ञानिक क्षति गहिरो 

प्रतिवेदनले भौतिक क्षतिको तुलनामा व्यवसायीको विश्वास र मनोबलमा परेको क्षतिलाई ’निकै डरलाग्दो’ भनेर चित्रण गरेको छ। 

अध्ययनमा भनिएको छ, “प्रत्यक्ष भौतिक क्षति र अप्रत्यक्ष आर्थिक क्षति (करिब ८१ अर्ब रुपैयाँ) ले कुल गार्हस्थ्य उत्पादनमा ५ प्रतिशतसम्म प्रभाव पार्ने देखिए पनि व्यवसायीमा परेको आघात अपूरणीय छ।“ 

आफ्नै लगानी र मिहिनेतले खडा गरेको व्यवसाय आफ्नै आँखा अगाडि ध्वस्त भएको देख्दा धेरै व्यवसायीहरू ’पोस्ट–ट्रमाटिक स्ट्रेस’ बाट गुज्रिरहेको अध्ययनले देखाएको छ। धेरैमा “नेपालमा व्यवसाय गर्नु नै गल्ती रहेछ“ भन्ने चरम निराशा र हीनताबोध विकास भएको पाइएको छ। ९८ प्रतिशत व्यवसायीले आफ्नो मनोबलमा सामान्यदेखि अत्यधिक असर परेको बताएका छन् भने निजी क्षेत्रको आत्मविश्वास इतिहासकै कमजोर विन्दुमा पुगेको निष्कर्ष निकालिएको छ। 

१२१ अर्बपति व्यवसायीको पीडा

यस अध्ययनमा नेपालका उद्योग, वित्तीय क्षेत्र, ऊर्जा, पर्यटनलगायतका क्षेत्रमा लगानी गर्ने १२१ जना अर्बपति व्यवसायी सहभागी थिए। सहभागीमध्ये ५० प्रतिशतभन्दा बढीको लगानी ५ अर्ब रुपैयाँभन्दा माथि छ। 

सर्वेक्षणमा सहभागीमध्ये ४६ प्रतिशत व्यवसायीले प्रत्यक्ष भौतिक क्षति बेहोरेका छन्। 

उनीहरूको मात्रै कुल भौतिक क्षति २५ अर्ब रुपैयाँ पुगेको छ भने प्रति व्यवसायी औसत क्षति ४४ करोड रुपैयाँ देखिएको छ। अझ डरलाग्दो पक्ष, २१ प्रतिशत व्यवसायीको व्यावसायिक प्रतिष्ठानमा मात्र नभई व्यक्तिगत घर र गाडीमा समेत आक्रमण भएको थियो। 

लगानीको वातावरण र भविष्यको चिन्ता

अध्ययनका अनुसार ९७ प्रतिशत व्यवसायीले नेपालमा लगानीको वातावरण कमजोर भएको स्वीकार गरेका छन्। समाजमा व्यवसायीलाई ’आर्थिक विकासका सारथि’ को सट्टा ’नाफाखोर’ वा ’शोषक’ का रूपमा हेर्ने गलत भाष्य मिडिया, राजनीति र शिक्षा प्रणालीबाट स्थापित हुँदा असुरक्षा बढेको व्यवसायीको गुनासो छ। 

यद्यपि, यतिका बाबजुद पनि लगानीकर्ताहरू पूर्ण रूपमा पलायन भइसकेका छैनन्। सर्वेक्षणमा केवल ८ प्रतिशतले मात्र ’कुनै पनि हालतमा लगानी नबढाउने’ बताएका छन्। 

७० प्रतिशत व्यवसायी ’पर्ख र हेर’ को अवस्थामा रहनु र २१ प्रतिशत अझै थप लगानी गर्न इच्छुक देखिनुले कमजोर अवस्थामा पनि नेपाली निजी क्षेत्रमा केही आशा जीवितै रहेको सङ्केत गर्छ। 

सरकारी ’मलमपट्टी’ तर न्यायको अभाव

विद्रोह लगत्तै सरकारले शान्ति सुरक्षा कायम गर्ने प्रयास गरेको र अर्थमन्त्रीलगायतले निजी क्षेत्रका कुरा सुनेकोमा व्यवसायीले केही राहत महसुस गरेका छन्। यसलाई प्रतिवेदनले ’मलमपट्टी’ को संज्ञा दिएको छ। 

तर, तोडफोड र आगजनी गर्नेहरूलाई प्रमाणसहित जाहेरी दिँदा पनि कारबाहीको साटो संरक्षण दिने प्रवृत्तिले कानुनी राज्यको उपहास भएको र यसले व्यवसायीको मनोबल उठाउन बाधा पुर्‍याएको प्रतिवेदनमा उल्लेख छ। निजी सम्पत्तिको रक्षा र दण्डहीनताको अन्त्य नभएसम्म केवल आश्वासनले मात्र खस्किएको व्यावसायिक आत्मविश्वास फर्किन कठिन हुने अध्ययनको निष्कर्ष छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप