बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एपस्टिनले पुटिनसहित रूसी अधिकारीहरूसँग निकटता बढाउन खोजेका थिए

सोमबार, २६ माघ २०८२, ११ : २१
सोमबार, २६ माघ २०८२

सारांश

  • अमेरिकी न्याय मन्त्रालयका दस्तावेजले एपस्टिनले पुटिनसहित उच्च रूसी अधिकारीहरूसँग सम्बन्ध बढाउन खोजेको देखिन्छ।
  • एपिस्टिनले पुटिनसँग संवादका लागि पहल गरेको र चुर्किनको छोरालाई जागिर दिलाउन सहयोगको प्रस्ताव गरेको पाइयो।
  • पोल्याण्डका प्रधानमन्त्रीले एपिस्टिन र रूसी गुप्तचरबीचको सम्बन्धबारे छानबिन गर्ने घोषणा गरेका छन्।


मस्को । अमेरिकी न्याय मन्त्रालयले सार्वजनिक गरेका नयाँ दस्तावेजहरूले यौन दूराचारी जेफ्री एपस्टिनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसहित उच्च तहका रूसी अधिकारीहरूसँग सम्पर्क र निकटता बढाउने प्रयास गरेको देखाएको छ । 

फाइलहरूअनुसार, २०१८ को जुनमा एपस्टिनले नर्वेली राजनीतिज्ञ तथा तत्कालीन युरोपेली काउन्सिलका महासचिव थोब्र्याेर्न याग्ल्यान्डलाई इमेल गर्दै विदेशमन्त्री सर्गेई लाभ्रोभमार्फत पुटिनसँग संवादको सम्भावना खोजिदिन आग्रह गरेका थिए । उनले संयुक्त राष्ट्रसंघका पूर्व रूसी राजदूत भिटाली चुर्किनसँग नियमित भेट हुने गरेको र चुर्किनको निधनपछि आफूलाई नयाँ सम्पर्क चाहिएको उल्लेख गरेका थिए ।
 
एपिस्टनले चुर्किनको छोरा म्याक्सिमलाई न्यूयोर्कको एउटा सम्पत्ति व्यवस्थापन कम्पनीमा जागिर दिलाउन सहयोगको प्रस्ताव समेत गरेका थिए । अर्काे इमेलमा उनले चुर्किन ट्रम्पलाई राम्ररी बुझ्ने व्यक्ति भएको दाबी गर्दै, शक्ति सम्बन्ध सधैं ‘केही पाउनुपर्ने’ सरल तर्कमा चल्ने टिप्पणी गरेका थिए । यसअघि एपिस्टनले पूर्वी युरोप र रुसबाट मोडेलहरू खोज्ने प्रयास गरेको विषय बाहिर आएको भए पनि नयाँ दस्तावेजहरूले उनले राज्यस्तरीय सम्बन्ध निर्माण गर्न सक्रिय प्रयास गरेको थप प्रमाण दिएका छन् ।
 
यस खुलासापछि पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टुस्कले आफ्नो देशले एपिस्टन र रूसी गुप्तचर सेवाबीच सम्भावित सम्बन्धबारे छानबिन गर्ने घोषणा गरेका छन् । उनले यसलाई ‘अभूतपूर्व पेडोफिलिया काण्ड’सँग जोडिएको सम्भावित अन्तर्राष्ट्रिय जालो भनेका छन् । यसले अहिले पनि सक्रिय रहेका विश्व नेताहरूमाथि रुससँग सम्झौतापूर्ण सामग्री हुनसक्ने जोखिम औंल्याएका छन् । 

रुसले भने एपस्टिन रूसी जासुस भएको आरोप ठाडै अस्वीकार गरेको छ । विश्लेषकहरूका अनुसार नयाँ काजगपत्रहरूले एपिस्टनलाई केवल वित्तीय अपराधी मात्र नभई सम्भावित राजनीतिक मध्यस्थ र प्रभाव–व्यापारीका रूपमा पनि चित्रित गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप