ओली र बालेनको चर्चाबिच के भन्छन् कांग्रेस र नेकपाका उम्मेदवार ?
सारांश
- झापा क्षेत्र नम्बर ५ मा आगामी प्रधानमन्त्रीका लागि केपी शर्मा ओली र बालेन शाहबीच प्रतिस्पर्धा छ।
- कांग्रेस र नेकपाका उम्मेदवारहरू ओली र बालेनको प्रतिस्पर्धाका कारण दबाबमा परेका छन्।
- उम्मेदवारहरू घरदैलो कार्यक्रममा व्यस्त छन्, र मतदाताहरूले मत परिवर्तन गर्ने कुरा गरिरहेका छन्।
विराटनगर । प्रतिनिधि सभा अन्तर्गत झापा क्षेत्र नम्बर ५ यतिबेला देशकै मुख्य निर्वाचन क्षेत्र बनेको छ । यहाँबाट भावी प्रधानमन्त्रीका दुई उम्मेदवार प्रतिस्पर्धामा छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली विगतमा यही निर्वाचन क्षेत्रबाट ठुलो मतान्तरले निर्वाचित हुँदै आएका थिए । यस क्षेत्रबाट अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेतासमेत रहेका बालेन्द्र (बालेन) शाहले उम्मेदवारी दिएका छन् । उनी रास्वपाबाट भावी प्रधानमन्त्रीका रूपमा प्रस्तावित नेता पनि हुन् ।
दुवै भावी प्रधानमन्त्रीको प्रतिस्पर्धाको चेपुवामा परेका छन् नेपाली कांग्रेसकी उम्मेदवार मंधरा चिमरिया र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रञ्जित तामाङ । उनीहरूसहित सो क्षेत्रमा २४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
थोरै भए पनि चर्चामा रहेका अर्का उम्मेदवार हुन् श्रम संस्कृति पार्टीका समीर तामाङ र राप्रपाका लक्ष्मीप्रसाद संग्रौला ।

निर्वाचन आयोगको कार्यतालिकाअनुसार फागुन ४ गतेदेखि मात्रै चुनाव प्रचार गर्न पाइन्छ । तर, झापा–५ मा चुनावी गतिविधि तीव्र बन्दै गएको छ । शुक्रबार र शनिबार सो क्षेत्रका विभिन्न ठाउँमा पुग्दा उम्मेदवार र दलका गतिविधि बढ्दै गएको स्पष्ट देखिन्थ्यो । चिया, चौतारा, चोक बजार र गाउँहरूमा चुनावकै चर्चा सुनिन्थ्यो ।
उम्मेदवार र दलका कार्यकर्ताहरू घरदैलो कार्यक्रममा व्यस्त थिए । शनिबार बिहान दमक नगरपालिका–३ को ढुकुरपानीस्थित सुकुमबासी बस्तीमा रहेको ज्योति चर्च मण्डलमा रास्वपाको टोली भेटियो भने एमाले अध्यक्ष ओली कमल गाउँपालिका–१ को सरङपाडा बजारमा मतदाता भेटघाटमा व्यस्त देखिए ।
अघिल्ला निर्वाचनमा सभा गर्नुबाहेक घरदैलो अभियान नगर्ने ओली यस पटक भने चोक बजारमा नमस्कार गर्दै हिँडेका भेटिए । उनी स्थानीय कर्णबहादुर खड्काको घरमा आयोजना गरिएको पुराणमा समेत सहभागी भए ।
पुराणमा पुगेर ओलीले धर्म र संस्कृतिबारे प्रवचन दिए । उनले शिव भगवानदेखि विश्वमित्र ऋषिसमेत यही क्षेत्रमा जन्मिएको आफ्नो पुरानो दाबी दोहोर्याउँदै सनातन धर्म र संस्कारको रक्षा गर्नुपर्ने बताए ।
_2vYwJ8lJFM.jpg)
ओली पुराणमा पुग्दा ठुलो टोली थिएन । उनका आलोचकले ओलीको पछाडि मान्छे हिँड्न छाडेकाले यस्तो भएको बताइरहँदा एमाले कार्यकर्ता भने चुनावी आचारसंहिता अनुसार सानो टोली लिएर हिँडेको जिकिर गरिरहेका थिए । पुराणमा सहभागी कतिपयचाहिँ ओलीलाई भेट्न र फोटो खिच्न पाएकोमा खुसी देखिन्थे भने कतिपय यस पटक मत परिवर्तन गर्ने बताइरहेका थिए ।
ओली शनिबार कमल गाउँपालिकाको छलफल चोक, सोलमारी, सरङपाडा, ढ्यांग्री, क्याम्पा र केर्खा बजारमा पुगेका थिए ।
- दबाबमा कांग्रेस र नेकपा
विशेषगरी दक्षिणी गौरीगञ्ज क्षेत्रका ग्रामीण बस्तीमा बालेनको प्रभाव बलियो देखिएको छ । कतिपय मतदातालाई उम्मेदवार र पार्टीको नामसमेत थाहा नभए पनि चुनाव चिह्न कण्ठ रहेको अवस्थामा भेटियो । बालेनसँगको प्रतिस्पर्धामा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नै दबाब महसुस गरिरहँदा नेकपा र कांग्रेसका उम्मेदवार झनै ठुलो दबाबमा देखिन्छन् ।
स्थलगत रिपोर्टिङका क्रममा नेकपाका उम्मेदवार रञ्जीत तामाङ झापाको गौरीगञ्ज गाउँपालिका र गौरादह नगरपालिकाका ग्रामीण बस्तीमा भेटिए । गौरादह–७, तामाङ टोलमा मतदाताको घरमा गएर उनी चुनावी एजेण्डाबारे बताइरहेका थिए ।
मतदाताका प्रश्न ध्यानपूर्वक सुनेर तामाङले जबाफ दिन्थे । आफू स्थानीय बासिन्दा रहेको, क्षेत्रको समस्या बुझेको र युवाको प्रतिनिधित्व गर्ने एकमात्र उम्मेदवार रहेको उनको भनाइ थियो ।
‘यस क्षेत्रमा केपी ओलीले बिदा लिनुपर्ने अवस्था छ, त्यसको विकल्प म हुँ,’ उनले भनिरहेका थिए, ‘क्षेत्रको समस्या, भूगोल र बस्तुस्थिति नबुझेको बालेन पाहुनामात्र हुन्, पाहुनालाई सम्मान गर्दै मलाई मत दिनुहोस् ।’
ग्रामीण क्षेत्रका केही मतदाता नेकपाका उम्मेदवार तामाङप्रति युवा र प्रस्ट वक्ता रहेको भन्दै सकारात्मक सुनिए । कतिपयले भने तामाङ उपयुक्त पात्र भए पनि केपी ओलीलाई चुनाव हराउन बालेनलाई सहयोग गर्ने बताइरहेका थिए ।
‘म सबै मतदाताहरूको घरदैलोमा पुगेर राजनीतिक स्थायित्व, शासकीय स्वरुपमा सुधार (प्रत्यक्ष निर्वाचित कार्यकारी), भ्रष्टाचार अन्त्य र युवाहरूको रोजगारलाई मुख्य प्राथमिकताका साथ उठाइरहेको छु,’ तामाङले प्रतिक्रिया दिँदै भने, ‘सबैभन्दा ठुलो कुरा, युवाहरूमा आशा जगाउने र उनीहरूलाई स्वदेशमै रोजगारी दिने वातावरण बनाउनु हो । यसका साथै कृषि, उद्योग, कलकारखाना र भूमिहीन सुकुमबासीहरूका पक्षमा स्पष्ट नीति र कार्यक्रम हुनुपर्छ भन्ने मेरो अडान छ ।’
‘ओली र बालेनको प्रतिस्पर्धामा हराएको हो ?’ भन्ने प्रश्नमा तामाङले भने, ‘यो प्रायोजित चर्चा र हल्लामात्र हो । पूर्वप्रधानमन्त्री ओली र काठमाडौँका पूर्वमेयर बालेन शाहको अहंकारका कारण मुलुक दुर्घटनामा परेको छ । उनीहरूको यो भिडन्तमा मुलुक रमाइरहेको जस्तो देखिए पनि म जनताको सुख–दुःखमा जोडिएको स्थानीय व्यक्ति हुँ,’ उनले भने, ‘म हराएको छैन । म जनतासँगै छु । यो भूगोल र गुगलको लडाइँ पनि हो । बाहिरबाट आउनेलाई यहाँका स्थानीय मुद्दा थाहा पाउन गुगल सर्च गर्नुपर्ने स्थिति छ । जनताले टाढाका देवता भन्दा गाउँका भूत नै काम आउँछन् भन्ने बुझेका छन् ।’
आफू जनताको मलामी र जन्ती दुवै भएर बसेको व्यक्ति रहेको तामाङको दाबी छ । त्यसैले आफू एउटा बलियो विकल्प रहेको उनले बताए ।

शनिबार बिहानै नेपाली कांग्रेसका उम्मेदवार मंधरा चिमरिया भने दमक–५ मा मतदातासँगको भेटघाटमा थिइन् । ८–१० जना सहयोगीसहित भेटिएकी उनले अन्य दलको सामाजिक सञ्जालमा चर्चा रहे पनि आफूहरू जनताको बिचमा गइरहेको बताइन् । उनले आफू वर्षौंदेखि सामाजिक क्षेत्रमा क्रियाशील रहेकाले मतदाताको विश्वास जित्ने दाबी गरिन् ।
‘चुनावी घरदैलो अभियान राम्रो छ । अहिले हामी मिटिङ र घरदैलो हल्का गर्दैछौँ, मिटिङ बढी छ हाम्रो । समिति गठन गरिरहेका छौँ । हामी वडैपिच्छे २९ वटै वडामा समिति गठन गर्दै गइरहेका छौँ । अब ५ वटा वडा बाँकी छ । त्यो पनि हामी यो २–४ दिनमा सकेर फागुन ४ गतेपछि र्याली हुन्छ,’ उनले भनिन् ।
प्रतिस्पर्धीहरू पनि नेपालकै नागरिक रहेको भन्दै चिमरियाले सबै उम्मेदवारले यिनै ग्रास लेभलको मान्छेहरूसँग भोट माग्ने बताइन् । ‘म त झन् यहीँ काम गरेको मान्छे भएकाले मलाई सहज पनि भएको छ,’ उनले भनिन्, उनले भनिन्, ‘मैले यही क्षेत्रमा धेरै काम गरेको छु, विभिन्न संघसंस्था चलाएको छु । राजनीति गरेको ३५ वर्ष भयो । म पाहुना पनि होइन, म यहाँको लोकल व्यक्तित्व हुँ ।’
_0Gfw5kagrs.jpg)
चिमरियाले ओली र बालेनबिचको प्रतिस्पर्धामा आफू हराएको भन्ने चर्चाको खण्डन गरिन् । ‘म हराएको छैन, हामी भोटरको नजिक छौँ । उहाँहरू मिडियाको नजिक हुनुहुन्छ । त्यति फरक हो । उहाँहरूले चोकमा भाषण गर्ने, हामी घरदैलोमा मत माग्ने, त्यही हो,’ उनले भनिन् ।
‘ओली र बालेनलाई उनीहरूको दलले भावी प्रधानमन्त्री भनेर घोषणा गर्दा तपाईं सांसद मात्रै बन्नेलाई किन मत हाल्नु भनेर मतदाताले भन्दैनन् ?’ भन्ने प्रश्नमा चिमरियाले भनिन्, ‘म यहाँको जनताको प्रतिनिधित्व गर्दै गगन थापालाई मत हालेर उसलाई देशको प्रधानमन्त्री बनाउँछु । म प्रधानमन्त्री बन्दिनँ, तर गगन थापालाई प्रधानमन्त्री बनाउनका लागि मेरो आवश्यकता छ र यहाँको जनताको विचारहरूलाई मैले त्यहाँ पुर्याउनु छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण