बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
झापा ५ः स्थलगत रिपोर्ट

मतदाता जोगाउन रास्वपाको ‘सेफ गार्ड’ र एमालेको ‘पाना कमिटी’

कार्यकर्ताले नै मत नदिने दलहरूमा डर !
आइतबार, २५ माघ २०८२, २१ : ००
आइतबार, २५ माघ २०८२

सारांश

  • झापा ५ मा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका बालेन्द्र शाहबीच प्रतिस्पर्धा रहेको छ।
  • कांग्रेस, नेकपा र राप्रपा विगतको मत जोगाउन कम्मर कसेर लागेका छन्, तर जित निकाल्नेमा ढुक्क छैनन्।
  • एमालेले वडास्तरमा संगठन विस्तार गरिरहेको छ भने रास्वपाले मतदातालाई आकर्षित गर्न विभिन्न रणनीति अपनाएको छ।

विराटनगर । ‘यस पटक जमानत जोगाउनै मुस्किल हुने देखियो,’ झापा ५ निर्वाचन क्षेत्रका पुराना पार्टीमध्येकै एक नेताले भने । दुई प्रतिस्पर्धी एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहको तीव्र प्रतिस्पर्धाको हल्लाखल्ला चलिरहँदा अन्य प्रतिस्पर्धी पार्टीहरू भने चिन्तित छन् ।

घरदैलो कार्यक्रममा व्यस्त रहेका नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीहरू विगतको मत सुरक्षाका लागि भन्दै कम्मर कसेर लागेका छन् । तर, उनीहरूका उम्मेदवार भने जित निकाल्ने दाबी गर्छन् । 

उनीहरू मात्रै होइन जितको खोजीमा रहेका एमाले र रास्वपाका स्थानीय नेताहरूमा पनि आफ्नो पार्टी सुरक्षित रहेको भनेर ठोकुवा गर्न सकेका छैनन् । झापा गौरीगञ्ज ५ चिलहरामा भेटिएका एमालेको एउटा टोली कमिटी गठनमा व्यस्त देखियो । आदिवासी दलित समुदायहरूको बसोबास रहेको र केही स्थानीयसहित छलफलमा बसिरहेका एमाले नेता हृदय ठाकुरले वडा वडा र टोलटोलमा जिम्मेवारी र कार्यक्रम भइरहेको बताए । यद्यपि सोही छलफलमा रहेका एमालेका स्यानी नेता केदार ढुंगेल भने आफूहरूले प्रेसर फिल गरेको बताउँछन् । ‘हामीले ४८ सालदेखि यो वडा जित्दै आएका छौँ । संगठनको जग बलियो छ, तर अहिले अलि बढी ‘प्रेशर’ चाहिँ महसुस भएकै हो । युवाहरूको कुराले अलि फरक पारेको छ ।’ 

jhapa-5 (1)

एमालेले गौरीगञ्जमा मात्रै ४६ वटा टोल संगठनहरू बनिसकेको बताएको छ । ‘यी कमिटीहरू चुनाव केन्द्रित मात्र होइनन्, नियमित पार्टी कमिटीहरू हुन् । भातृ संगठनहरू पनि छन्,’ ढुंगेलले भने, ‘हामीले वडा जिम्मा लिएका छौँ, उहाँहरूले टोल जिम्मा लिनुभएको छ,’ छलफलमा उपस्थिति स्थानीयलाई देखाउँदै ढुंगेलले भने, ‘टोल जिम्मा लिनेको नेतृत्वमा चुनाव परिचालन समिति बन्दै छ । अलि बढी सक्रिय बनाउन खोजिएको छ ।’

अहिले वडा–वडामा पुग्नेभन्दा पनि पुराना कार्यकर्ता जति छन्, सबैलाई भेट्ने र भाषण भन्दा पनि व्यक्तिगत भेटघाटमा जोड दिइने उनले बताए । 

एमाले स्रोतका अनुसार वडा समिति मातहतमा टोल समिति रहने र टोल समिति मातहतमा पाना कमिटी रहने गरी काम गरिरहेको छ । प्रत्येक १ सय मतदाता बराबर एक कमिटी (पाना कमिटी) हुने उक्त स्रोतको दाबी छ । त्यसका अलवा एमालेले दिनभर कुन मतदाता कहाँ जान्छ, त्यो मतदाताको निगरानी पनि पाना कमिटीले नै गर्ने गरी व्यवस्था मिलाएको छ । त्यसरी अन्त हिँड्न थालेका मतदातालाई रोक्ने, अर्को पार्टीमा जान नदिने, माथिल्लो कमिटीमा रिपोर्टिङ गर्ने एमालेको लक्ष्य छ । 

jhapa-5 (6)

उता भावी प्रधानमन्त्रीको उम्मेदवार भन्दै प्रतिस्पर्धामा रहेका बालेन्द्र शाहको पार्टीमा भने चुनाव परिचालनमा केही अन्योल देखिएको पाइएको छ । ‘बालेन शाहको सचिवालयको छुट्टै अभियान, पार्टीको छुट्टैजस्तो देखिएको छ,’ रास्वपाका एक नेताले भने, ‘त्यसलाई हल गर्दै अगाडि बढ्ने तयारी हामीले गरेका छौँ ।’

यद्यपि बालन शाह सचिवालयले प्राविधिक पक्षको विश्लेषण गर्ने, मतदाताको नाम लिस्ट उतार्ने र सोहीअनुसार इन्फ्लुइन्सरहरूलाई परिचालन गर्ने गरिरहेको स्रोतको दाबी छ । ‘२८ वटा इलिमेन्ट पहिचान गरेर सोही अनुसार ५–७ जनाको टिम परिचालन भएको छ,’ उक्त स्रोतले भन्यो, ‘महिला, दलित, सुकुमबासी, आदिवासी जनजातिलगायत विषय हेर्ने छुट्टा छुट्टै टिम छ । यस्तै घण्टीमा भोट हाल्ने मतदाताको मतदान गर्ने अवधिसम्म सेभ गर्नका लागि सेभ गार्डको व्यवस्था गरेका छौँ ।’ 

jhapa-5 (5)

एमालेका नेताहरू नै बजार एरिया र चोक पसलमा रास्वपा (घण्टी) को लहर देखिए पनि गाउँ बस्तीमा पुरानै दलहरूको पकड रहेको दाबी गर्छन् । ‘मुख्य तीनवटा दलहरू नेकपा, कांग्रेस र राप्रपाभित्र अहिले अलमलको स्थिति छ । कतिपय कार्यकर्ताहरू तितरबितर भएका छन् । कोही घण्टी भन्छन्, कोही के भन्छन्, कोही ‘माटो’ भन्छन् । अहिलेको प्रतिस्पर्धा मुख्यतया एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबिच नै देखिन्छ,’ एमाले नेता ढुंगेलले भने । 

निर्वाचनमा आफ्नो अवस्था बुझ्न एमाले अध्यक्ष केपी शर्मा ओली गएको शुक्रबारदेखि निर्वाचन क्षेत्रमै छन् । उनी एकहप्तासम्म त्यही बस्ने बताइएको छ । त्यसक्रममा ओली आफू पनि दिनदिनै भेटघाटमा दौडिरहेका छन् । शनिबार मात्रै ओलीले ३ वटा पुराणमा गएर प्रवचन दिएका थिए भने अन्य एक दर्जनबढी भेटघाट गरेका थिए । उता रास्वपाका उम्मेदवार बालेन शाह पत्नी सविना काफ्लेसहितको टोली पनि नियमित भेटघाटमा छ । उनीहरू सुकुमबासी बस्तीलाई टार्गेट गरेर हिंडिरहेका छन् । 

यद्यपि अरु पार्टी छोडेर रास्वपामा प्रवेश गर्नेहरू बढ्दै गएका छन् । यसक्रममा एमाले दमकका नेता सन्तोष दुलाल, निर्वाचन क्षेत्रको उपसचिव समेत रहेका एमालेका महेन्द्र खड्का, पार्टी जिल्ला सदस्य महेश घिमिरे, नेता राजेश प्रसाईं, सम्पर्क मञ्चको पदाधिकारी तथा युवा संघका दमक अध्यक्ष, उपाध्यक्षलगायत रास्वपामा गएका छन् । यस्तै कांग्रेसका नगरको सभापति प्रकाश प्रसाईंलगायत रास्वपामा गएका छन् । कतिपय मजदुर सुकुमबासी र राई, लिम्बू, राजवंशीहरू हर्क साम्पाङको पार्टीतिर लागेको स्थानीय नेताहरू बताउँछन् । 

jhapa-5 (3)

नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ५ का क्षेत्रीय सभापति ढुण्डिराज भण्डारीले आफूहरूले पनि क्षेत्रभरि ४०७ वटा टोल समिति बनाएर अघि बढेको बताउँछन् । ‘हरेक टोलमा संयोजकहरू तोकिएका छन् । प्रचार–प्रसार र घरदैलोको सम्पूर्ण अधिकार वडा समितिलाई दिइएको छ । वडाको योजना अनुसार नै हामी हिँडिरहेका छौँ । जहाँ वडा समितिले लैजान्छ, हामी त्यहीँ जान्छौँ । स्थानीय स्तरका कुराहरू वडाले नै गर्छ, हामीले त्यसमा हस्तक्षेप गर्दैनौँ,’ आफ्नो चुनावी योजना सुनाउँदै उनले भने, ‘विशेष महाधिवेशनपछि कांग्रेसमा नयाँ नेतृत्व आएको छ । हाम्रो नारा बदलियो कांग्रेस, बदल्छौँ देश भन्ने छ । हामीले मतदाताहरूलाई शिक्षित बनाइरहेका छौँ कि कांग्रेस साँच्चिकै परिवर्तन भएर आएको छ । अरू कुनै पनि दलको नेतृत्व परिवर्तन भएन तर कांग्रेसको नेतृत्व फेरियो । त्यसैले परिवर्तनको पहिलो पार्टी कांग्रेस नै हो भनेर हामीले कार्यकर्ता र जनतालाई बुझाइरहेका छौँ ।’ 

jhapa-5 (7)

उनले आफ्नो उम्मेदवार स्थानीय भएको र स्थानीयको सुखदुःखमा कांग्रेसले साथ दिएकोले स्थानीय रूपमा बलियो रहेको तर्क गरे । ‘केपी ओली त पहिलेदेखि नै जितेर आउनुभएको हो, उहाँको विषयमा धेरै भन्नु छैन । तर यो नयाँ आएको पार्टीको कुरा गर्दा, उनीहरूले यहाँ कसैलाई चिन्दैनन् । उनीहरूले कालो चस्मा लगाएका छन्, जनतालाई कसरी हेर्छन् थाहा छैन । उनीहरू कसैसँग बोल्दैनन् पनि । फेसबुकमा मात्र भेटिन्छन्, चुनावमा मात्र हेर्न पाइन्छ तर मान्छेचाहिँ भेट्न पाइँदैन भनेर हामीले भनिरहेका छौँ,’ उनले भने । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ लक्की सिटौलाले भने आफूहरू देशको नेतृत्व परिवर्तनको नारा लिएर गाउँगाउँमा गइरहेको बताउँछिन् । ‘हामीले ३५ वर्षदेखि हेरिरहेको नेतृत्व परिवर्तन गर्छौँ र अब आउने नेतृत्वले यो देशको र हामी भुइँ मान्छेहरूको मुद्दाहरू सम्बोधन गरोस् भन्ने नै छ,’ उनले भनिन्, ‘ब्लु प्रिन्टहरू, हाम्रो घोषणापत्रहरू बन्ने क्रममा छन्, त्यो चाँडै नै हामी सार्वजनिक गर्छौँ । अब अहिले हामी सुझाव सङ्कलन गरिरहेका छौँ, प्रत्येक घरमा पुग्ने हाम्रो प्रयास रहिरहेको छ । हाम्रो उम्मेदवार बालेन्द्र शाह केही दिनपछि झापा आउनुहुन्छ र सबै टोल र सबै क्षेत्रमा पुग्ने तयारी छ ।’ 

jhapa-5 (4)

रास्वपाको पनि वडासम्म नै संगठन रहेको उनले बताइन् । ‘हामीले चाहिँ पुरानाहरूले गरेको भन्दा अलि फरक हिसाबले गरेका छौं । हामी घर–घरमा पुग्ने प्रयासमा छौँ,’ उनले भनिन्, ‘एमाले, अन्य पार्टीहरूको जस्तो संगठन हाम्रो नहोला, तर हामीसँग पार्टीका नेताहरू भन्दा पनि जनता धेरै हुनुहुन्छ । अरू पार्टीमा जनता कम नेता धेरै हुनुहोला, हाम्रोमा जनता धेरै हुनुहुन्छ यसरी बुझौँ ।’ झापा क्षेत्र नम्बर ५ मा ६–७ हजारको संख्यामा पार्टी सदस्य पुगेको उनले बताइन् । सो क्षेत्रमा काङ्ग्रेसका क्रियाशील सदस्य संख्या ७ हजार ५९७ जना छन् भने एमालेको पनि सोही हाराहारीमा रहेका छन् । 

२०७९ को संसदीय निर्वाचनमा झापा–५ बाट एमाले अध्यक्ष ओली ५२ हजार ३ सय १९ मतसहित विजयी भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीको २३ हजार ७ सय ४३ मत पाएका थिए । रास्वपा उम्मेदवार सुरेशकुमार पोखरेलले ११ हजार ७ सय ४८ मत ल्याएका थिए । 

समानुपातिकतर्फ पहिलो भएको एमालेले ३५ हजार ८७२ मत ल्याएको थियो भने दोस्रो धेरै मत ल्याएको रास्वपाको १८ हजार २ सय ५ मत थियो । कांग्रेसले १६ हजार ८५९ मत पाउँदा तत्कालिन माओवादी केन्द्रले ८ हजार ६८० र राप्रपाले ७ हजार ३७० मत ल्याएको थियो । आगामी फागुन २१ को निर्वाचनमा १ लाख ६३ हजार ३ सय ७९ मतदाता छन् । सो क्षेत्रमा यो पटक करिब १० हजार नयाँ मतदाता थपिएका छन् । 

jhapa-5 (2)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप