पर्यटनबाट समृद्धिको ‘लुपहोल’ : फराकिलो सपना, साँघुरो धरातल
सारांश
- निर्वाचन नजिकिँदै गर्दा दलहरूले रोजगारी र पर्यटन प्रवर्द्धनका मुद्दालाई प्राथमिकता दिइरहेका छन्।
- विमानस्थलको क्षमता अभाव, हवाई सेवाको सीमितता, र होटेल क्षेत्रमा देखिएका समस्याले पर्यटनमा अवरोध सिर्जना गरेको छ।
- पर्यटन व्यवसायीहरूले सरकारको उदासीनता र नीतिगत झन्झटको गुनासो गरेका छन्, साथै पर्वतारोहणमा विश्वविद्यालयको माग गरेका छन्।
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन नजिकिँदैछ । राजनीतिक दलहरू गाउँगाउँ र टोलटोलमा चुनावी अभियानमा छन् । प्रतिस्पर्धीहरूबिच आफूलाई उत्कृष्ट देखाउने कसरतमा उनीहरूले विभिन्न खालका धारणा राख्दै आएका छन् ।
यस क्रममा सम्भवतः कुनै पनि उम्मेदवारले भन्न नछुटाउने एउटा विषय हो– दैनिक एयरपोर्टबाट बाहिरिने २२/२५ सय नेपालीको सङ्ख्या । यो सङ्ख्यासँग नेपालीको सेन्टिमेन्ट यतिसम्म जोडिएको छ कि केही दिनअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरू ‘रहरले विदेश गएको’ भन्दा सामाजिक सञ्जालमा ठुलो जत्था उनीमाथि खनियो ।
स्वाभाविक पनि थियो– मरुभूमिको तातोदेखि युद्धग्रस्त इराक, अफगानिस्तान र युक्रेनसम्म नेपाली युवा–युवती रहरले पक्कै गएका छैनन् । जीवन निर्वाहकै बाध्यताका लागि ज्यानकै जोखिम लिनुपर्ने अवस्थामा नेपाली छन् ।
नेपालमै सम्मानजनक आयसहितको रोजगारी सिर्जना गर्नु नै यो बाध्यता अन्त्यको उपाय हो, तर रोजगारी कहाँ र कसरी सिर्जना गर्ने भन्ने विषय सबैभन्दा महत्त्वपूर्ण छ । त्यसका लागि सबैको ध्यान गएको क्षेत्र हो पर्यटन । पर्यटनले सम्मानजनक रोजगारी सिर्जना गर्नेमात्रै नभएर नेपालजस्तो आयातमुखी अर्थतन्त्रमा विदेशी मुद्रा आर्जनको उत्कृष्ट माध्यम समेत भएकाले यो क्षेत्रको विकासले अर्थतन्त्र र रोजगारी दुवैको सन्तुलन कायम गर्न सक्छ ।

यसो भन्दैगर्दा नेपालमा पर्यटन व्यवसायको विस्तार कसरी गर्ने भन्ने विषय सबैभन्दा जटिल छ ।
नेपालमा पर्यटनसँग सम्बन्धित दर्जनौँ व्यवसाय छन् । हिमालै हिमाल भएको देशका रूपमा हिमाल चढ्न आउने एउटा व्यक्तिलाई सम्झिने हो भने उसले कम्तीमा ५/६ वटा व्यवसायसँग जोडिनुपर्छ । त्यस्तो व्यक्ति सुरुमा जहाजबाट नेपाल आउँछ । नेपाल आएपछि ऊ होटलमा बस्छ । त्यहाँबाट कुनै सवारी साधनबाट सम्बन्धित गन्तव्यमा पुग्छ । पदयात्रा तथा पर्वतीय यात्राका लागि ट्रेकिङ गाइड र भरियाहरूको सहारा लिनुपर्छ । हिमाल चढ्छ भने आरोहणका लागि तालिम तथा सहयोग पनि लिनुपर्छ ।
त्यसो त, नेपालको पर्यटन पर्वतीय पर्यटनमा मात्रै सीमित छैन । धार्मिक तथा सांस्कृतिक पर्यटन, नेचुरल तथा वाइल्डलाइफ टुरिजमदेखि अन्य साहसिक पर्यटनसम्म नेपालमा प्रचलित छन् ।
कुनै व्यक्ति नेपालको जङ्गल, जीवजन्तु र वनस्पति हेर्न आउँछन् । कोही पशुपतिनाथ, लुम्बिनी, जनकपुर, मुक्तिनाथ जस्ता क्षेत्र हेर्न आउँछन् । कोही प्राकृतिक दृश्यहरू नियाल्न आउँछन् । यीबाहेक सभा समारोह गर्ने, विवाह जस्ता उत्सव आयोजना गर्नेदेखि खेलकुदका लागि समेत नेपाल एउटा पर्यटकीय गन्तव्य मुलुक बन्नसक्ने सम्भावना छ ।
यी क्षेत्रमा विस्तार हुन सक्दा नेपालको अर्थतन्त्र र रोजगारी दुवै बढ्छ । नेपालमा सञ्चालित हवाई सेवा प्रदायकको सङ्ख्या बढ्छ । होटलको सङ्ख्या र अकुपेन्सी बढ्छ । ट्राभल्स एजेन्सी र ट्रान्सपोर्ट भेहिकलहरू बढ्छन् । पदयात्रा तथा पर्वतारोहणका पथप्रदर्शक र भरियाको माग बढ्छ । र्याफ्टिङ, प्याराप्लाइडिङ, बञ्जी जम्पिङ लगायत क्षेत्रको दायरा समेत फराकिलो हुँदै जान्छ । यसले सबै तहका सरकारको आम्दानीमा समेत वृद्धि हुन्छ ।

नेपालको सबैभन्दा सबल पक्ष भनेकै यहाँका गन्तव्यहरूलाई अन्य देशको जस्तो धेरै प्रचारप्रसार गर्नु पर्दैन । किनकी विश्वले खोजेरै आउने प्राकृतिकदेखि मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदाहरू नेपालसँग छ । यति हुँदाहुँदै पनि नेपालले यसको लाभ अपेक्षित रूपमा लिन सकिरहेको छैन ।
के छन् त समस्या ? अपेक्षा अनुसार किन बढ्न सकेन नेपालको पर्यटन ? अनि किन बन्न सकिरहेको छैन रोजगारी सिर्जना गर्ने उपयुक्त माध्यम ? राजनीतिक दलहरूले घोषणापत्रमा के त्यस्तो विषय ल्याउनुपर्छ ? यिनै विषयमा केन्द्रित रही सम्बन्धित क्षेत्रको सरोकारवालाको धारणा यहाँ हामी समेट्ने प्रयास गर्नेछौँ ।
पर्यटन क्षेत्रका अवरोध र समाधानका उपाय
- नागरिक उड्डयन क्षेत्रमा चार अवरोध
नेपालमा पर्यटक आगमनको अवरोधको खुड्किलो विमानस्थलबाट सुरु हुन्छ । नेपाल वायुसेवा सञ्चालक संघका अध्यक्ष प्रतापजंग पाण्डे विमानस्थलको सीमित क्षमता, राष्ट्रिय ध्वजावाहक जहाज कम हुनु, नेपाल ग्रे लिस्टमा पर्नु र जहाज भाडामा लिने व्यवस्था नहुँदा नेपालमा वायुसेवा सञ्चालनको गुणस्तर र लागत प्रभावकारिता राम्रो हुन नसकेको बताउँछन् ।
नेपालमा हाल अन्तर्राष्ट्रिय उडान गर्नसक्ने तीन वटा विमानस्थल छन् । काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले वार्षिक झन्डै एक करोड यात्रुलाई सेवा दिँदै आएको छ । त्यसमध्ये झन्डै ५० लाख यात्रु बाह्य र बाँकी आन्तरिक यात्रुलाई सेवा दिँदै आएको छ ।
अहिले रोजगारी र विद्यार्थी भिसामा दैनिक ३ हजारको सङ्ख्यामा विदेश जाने हुँदा झन्डै ११ लाख नेपाली वार्षिक रूपमा विदेश जान्छन् । त्यति नै सङ्ख्या स्वदेश आउने पनि हुन्छन् ।
त्यसबाहेक पर्यटक भिसामा विदेश जाने चलन पनि छ । सन् २०२५ मा मात्रै अढाई लाखभन्दा धेरै नेपाली विदेश घुम्न गएको रेकर्ड छ । बिजनेस भिसा, कूटनीतिक भिसा, खेलकुद, औषधोपचार लगायत प्रयोजनको लागि समेत गर्दा अन्तर्राष्ट्रिय उडान गर्ने नेपाली यात्रीको वार्षिक संख्या झन्डै २८/३० लाख हुन्छ ।

अहिलेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै १०/१२ लाखमात्रै विदेशी नागरिक आउनसक्ने अवस्था छ । जबकि सन् २०२५ मा नेपाल आएका विदेशी पर्यटकको सङ्ख्या ११ लाख ४७ हजार छ । यसको अर्थ अहिले त्रिभुवन विमानस्थल आफैँमा पूर्ण क्षमतामा चलिरहेको छ । स्तरोन्नति सम्पन्न भएपछि झन्डै २० प्रतिशत यात्रु क्षमता थपिने अपेक्षा गरिएको छ ।
अहिले पोखरा विमानस्थलले वार्षिक १०/१२ लाख र अन्तर्राष्ट्रिय विमानस्थलले १८–२० लाख यात्रुलाई सेवा दिने क्षमता राख्ने भए पनि यी विमानस्थल राम्रोसँग सञ्चालन हुन सकेका छैनन् । यो अवस्थाले पर्यटकको आगमनमा समस्या निम्तिरहेको छ ।
विमानस्थलको कारणले समस्या हुँदैगर्दा विमान सङ्ख्या अर्को अवरोधकको रूपमा छ । अहिले नेपाली ध्वजावाहक वायुसेवा निगमसँग २ वटा वाइडबडी र दुईवटा न्यारोबडी जहाज छन् । हिमालय एयरलाइन्ससँग ४ वटा न्यारोबडी जहाज मात्र छ । दुई वटै कम्पनीको जहाजको पूर्ण क्षमता भनेको १० लाख उडान अर्थात् ५ लाखलाई सेवा दिने हो । अर्थात् अहिले हुने झन्डै ९० प्रतिशत उडान विदेशी एयरलाइन्स कम्पनीले बोक्नुपर्ने अवस्था छ । अहिले नेपालमा घुम्न आउने विदेशी पर्यटकले गर्ने खर्चमध्ये ६० प्रतिशत खर्च एयरलाइन्स कम्पनीहरूलाई मात्रै भुक्तानी गर्ने गरेका छन् । त्यसले गर्दा नेपालले विदेशी मुद्रा भित्र्याउने अवसर समेत गुमाइरहेको छ ।
अहिले युरोप, अमेरिका, अष्ट्रेलिया जस्ता देशबाट नेपालमा सिधा उडान हुँदैनन् । उनीहरूले कुनै ट्रान्जिट लिएर मात्रै नेपाल आउनुपर्ने बाध्यता छ । त्यसो त, नेपाली आकाशलाई कालोसूचीमा राखेका कारण नेपाली विमान कम्पनी युरोप जान समेत पाइरहेका छैनन् । यसले पनि धेरै खर्च गर्ने क्वालिटी पर्यटकलाई भित्र्याउन नसकिरहेको अवस्था छ ।
नेपालमा सञ्चालित विमान कम्पनीहरूले सेड्युल अनुसार उडान गर्नसक्ने अवस्था पनि छैन । विमानहरू नियमित वा आकस्मिक रूपमा मर्मत गर्नुपर्दा लामो समय उडान रोक्नुपर्ने अवस्था हुने गर्छ । यस्तो अवस्थामा वा अरु समयमा नियमित उडानका लागि पनि अन्य देशबाट जहाज भाडामा लिन पाइने भए पनि नेपालले त्यसका लागि कानुनी व्यवस्था नगर्दा यो सुविधा लिन पाइरेको छैन ।
_HGUCnkEsPB.jpg)
अध्यक्ष पाण्डे केपटाउन कन्भेन्सनले यो विषयलाई खुला गरे पनि नेपाल यसको पक्ष राष्ट्र नबनिदिँदा समस्या भइरहेको बताउँछन् । यी समस्या समाधानका लागि विमानस्थलहरूलाई राम्रोसँग सञ्चालन गर्ने व्यवस्था मिलाउने, नेपाली ध्वजावाहक जहाज थप्ने, जहाज भाडामा लिने व्यवस्था मिलाउने र ईयूको कालोसूचीबाट हट्न सुरक्षाका उपायहरू अपनाउनुपर्ने कुरामा उनको जोड छ ।
- होटल क्षेत्रमा अकुपेन्सी व्यवस्थापन र अस्वस्थ प्रतिस्पर्धाको चुनौती
एयरलाइन्सपछि होटल क्षेत्रको समस्यातिर जाऔँ । नेपाल होटल संघ (हान) का अध्यक्ष विनायक शाह होटल क्षेत्रको विकासमा बहुआयामिक समस्या रहेको भन्दै यसमा पर्यटक आगमनमा देखिएको बोटलनेक र अस्वस्थ प्रतिस्पर्धा मुख्य कारण रहेको बताउँछन् ।
अहिले नेपालमा ११ लाख ४७ हजार पर्यटक भित्रिएका छन्, तर नेपालमा होटलहरूले भने ३५ लाखलाई सेवा दिने क्षमता पुर्याएका छन् । यसको अर्थ बाह्य पर्यटकले अहिले होटलहरूको सेवा दिनसक्ने क्षमताको ३० प्रतिशत मात्रै सप्लाई धान्छन् । आन्तरिक पर्यटक समेत गरी औसत ४०/५० प्रतिशत अकुपेन्सी रहे पनि क्षमताको अझै ठुलो हिस्सा उपयोग हुन सकेको छैन ।
त्यसो त, अस्वस्थ प्रतिस्पर्धाको कारणले यसमा समेत अवरोध आइरहेको अध्यक्ष शाह बताउँछन् । खासगरी दर्ता नभएका वा करको दायरामा नआएका खाना तथा आवासको सेवा दिने संस्थाका कारण सबै प्रक्रिया पूरा गरेर दर्ता भएका होटलहरू मारमा रहेको उनको भनाइ छ ।
‘पर्यटन विभागले अहिले दर्ता दिएको होटलको सङ्ख्या ३०० वटा जति छ, तथ्याङ्क कार्यालयले चाहिँ १ लाख ४२ हजार वटा होटल र आवास सेवा दिने संस्था छ भनेको छ,’ शाहले भने, ‘उनीहरू न दर्ता भएका छन्, न राज्यलाई कर तिर्छन् । त्यस्ता संस्थालाई नियमनको दायरामा ल्याउनु जरुरी छ ।’
यीबाहेक देशमा भएको यातायात पूर्वाधार निर्माणको अभावका कारण यात्रामा हुने गरेको समस्या लगायत प्रक्रियाको कारणले पनि यो क्षेत्रले सोचेअनुरुपको रोजगारी र उत्पादकत्व हासिल गर्न नसकिरहेको उनको भनाइ छ । सोही कारण पहिले दैनिक औसत ४८ डलर खर्च गर्ने पर्यटकले अहिले ४२ डलरमात्रै खर्च गर्ने गरेको र औसत १४ दिनको बसाइलाई छोट्ट्याएर १२ दिनमा झारेको उनको भनाइ छ ।

- ट्राभल्स एजेन्ट्सलाई नीतिगत झन्झट
उड्डयन र होटल क्षेत्रजस्तो जटिल समस्या ट्राभल एजेन्टहरूको छैन । तर, पर्यटन क्षेत्रबारे देखिएका समस्यालाई समाधान गर्ने कार्यमा सरकारको उदासीनता र व्यवसायीमाथिको सुरक्षा आफूहरूको मुख्य चिन्ताको विषय भएको नेपाल एशोसिएसन फर ट्राभल एण्ड टुर्स एजेन्ट्स (नाट्टा) का पूर्व अध्यक्ष अच्युत गुरागाइँ बताउँछन् ।
उनका अनुसार नेपालको अथाह पर्यटकीय क्षमता अनुसार विदेशी पर्यटकलाई नेपाल आउन सरकारले प्रोत्साहित गरेको छैन । सरकारले विदेशी पर्यटकको प्रवर्द्धनका लागि भिसा फ्रि जस्ता सुविधा ल्याउनुपर्ने उनको भनाइ छ ।
पछिल्लो समय पर्यटन व्यवसायीमाथि भइरहेका बदनामी र विभिन्न नाममा भइरहेका धरपकडले समेत त्रासको वातावरण सिर्जना गरिरहेको गुरागाइँले बताए । खासगरी फेक रेस्क्युको नाममा व्यवसायीलाई पक्राउ गर्ने कार्य गलत भएको उनको भनाइ छ । व्यवसाय दर्ता र सञ्चालनको सम्बन्धमा अहिले पनि अनेकौँ झन्झट रहेको भन्दै यसका लागि वान डोर पोलिसी हुनुपर्नेमा उनले जोड दिए ।
त्यसबाहेक विकास निर्माणको काम गर्दा पर्यटन व्यवसायलाई पर्ने प्रभावलाई समेत बिचार गर्नुपर्ने गुरागाइँले प्रस्ट पारे । खासगरी नेपालका नदीहरूमा ड्याम बनाएर हाइड्रोपावर निर्माण गर्दा र्याफ्टिङ व्यवसाय नै अहिले संकटमा परेको उनको विश्लेषण छ ।
- ट्रेकिङ क्षेत्रमा संरक्षित र नियन्त्रित क्षेत्रको अवरोध
पर्यटन क्षेत्रमा रहेका समग्र समस्या बाहेक ट्रेकिङ क्षेत्रका केही विशेष अप्ठ्यारा छन् । खासगरी राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, संरक्षण क्षेत्र तथा नियन्त्रित क्षेत्रमा पदयात्रा तथा पथ प्रदर्शन निकै चुनौतीपूर्ण रहेको ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल (टान) का पूर्वअध्यक्ष नरहरि बास्तोला बताउँछन् ।
नेपालमा धेरैजसो पदयात्रा तथा पर्यटकीय क्षेत्रहरू कि त राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष क्षेत्र हुन्छन्, कि त निषेधित क्षेत्र । सगरमाथा क्षेत्र, अन्नपूर्ण क्षेत्र, लाङटाङ क्षेत्र, मनाङ मुस्ताङदेखि डोल्पासम्मका क्षेत्र यसअन्तर्गत पर्दछन् । तर, संरक्षणको नाममा यी विशाल क्षेत्रमा कुनै पनि होटल रेस्टुरेन्टमात्रै नभएर अस्पताल स्थापना गर्न निषेध गरिँदै आएको छ ।
बास्तोला यसका कारण अहिले पनि ट्रेकिङमा जोखिम रहेको बताउँछन् । पर्यटकीय क्षेत्रका संरक्षणका लागि सरकारले लिने पहल सकारात्मक भए पनि यो क्षेत्रमा अत्यावश्यक कुरामा समेत रोक लगाउँदा समस्या भएको उनको भनाइ छ ।

त्यस्तै, निषेधित क्षेत्रमा पदयात्रा गर्दा कुनै दुर्घटना भयो भने रेस्क्यु गर्नै लामो समय लाग्ने बास्तोलाले बताए । खासगरी मुस्ताङ लगायत चीनको सीमावर्ती क्षेत्रमा उडानका लागि पूर्व अनुमति लिनुपर्ने र यस्तो अनुमति पाउन एक दिनभन्दा धेरै लाग्ने भएकाले तत्काल गर्नुपर्ने उद्धार नै असम्भव रहेको उनको भनाइ छ ।
२०२० को दशकमा मुस्ताङ क्षेत्रमा स्वतन्त्र तिब्बतको पक्षमा रहेका व्यक्तिहरूले चीनविरुद्धको शक्ति बनाएर मुस्ताङ क्षेत्रमा युद्धको तयारी गरेका थिए । पछि नेपाली सेनाले उनीहरूमाथि नियन्त्रण गर्यो । अहिले यस्तो विद्रोहको कुनै निशाना छैन, तर यही परिस्थितिमा बनेको पर्यटन ऐनले गरेको निषेधित क्षेत्रको व्यवस्था अहिलेसम्म पनि हटेको छैन ।
यीबाहेक पर्यटन क्षेत्रको अत्यधिक विकेन्द्रीकरणले पनि नियमनमा समस्या भइरहेको उनको अनुभव छ । संघीयता लागु भएपछि धेरै विषय प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्ने व्यवस्था गरिएको छ ।
यसरी उल्लेख भएकामध्ये धेरै विषयका अधिकार अहिलेसम्म पनि सम्बन्धित तहलाई हस्तान्तरण हुन सकेका छैनन् । तर, पर्यटन क्षेत्र भने आवश्यकताभन्दा धेरै विकेन्द्रित भएको र यसले अप्ठ्यारो महसुस भइरहेको बास्तोला बताउँछन् । अब तत्काल पर्यटन ऐनमा सुधार गरेर यसको अतिविकेन्द्रिकरण रोक्नुपर्ने उनको तर्क छ ।
_S9rGs2qJ0g.jpg)
- पर्वतारोहणमा सरकारले नसुनेको माउन्टेन युनिभर्सिटीको माग
पर्यटन क्षेत्रको सबैभन्दा महत्त्वपूर्ण क्षेत्र भनेको पर्वतारोहण हो । सरकारी निकाय समेत पुग्न नसक्ने क्षेत्रमा नेपालका पर्वतारोहण व्यवसायीले सेवा दिइरहेका छन् । तर, यो क्षेत्रमा नयाँ जनशक्ति उत्पादनका लागि सरकारले सहयोग नगरेको उनीहरूको गुनासो छ ।
नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जी शेर्पा नेपालमा पर्वतारोण विश्वविद्यालय खोल्ने आफूहरूको प्रस्ताव सरकारले कहिल्यै नसुनेको बताउँछन् । नेपालमा ९०० किलोमिटर भन्दा धेरै अविच्छिन्न हिमाली शृङ्खला रहेको र सगरमाथासहित हजारौँ अग्ला चुचुरा रहेको अवस्थामा यो क्षेत्र पर्वतारोहण अध्ययनका लागि विश्वकै केन्द्र बन्नसक्ने उनको भनाइ छ ।
तर, १८/१९ वटा विश्वविद्यालय स्थापना गरिसकेको सरकारले यो अत्यन्तै राम्रो सम्भावना रहेको विश्वविद्यालय भने अघि बढाउनै नचाहेको शेर्पाले बताए ।
अहिलेसम्म सरकारले ४ सय भन्दा धेरै हिमाल आरोहणका लागि खुला गरे पनि सीमित हिमालमात्रै आरोहण हुने गरेको छ । कर्णाली र सुदूरपश्चिमका हिमालहरू अहिले पनि यो दायराबाट बाहिरै रहेको उनी बताउँछन् । दक्ष जनशक्ति उत्पादन गर्न सकेमा यी क्षेत्रको विकास गर्न समेत महत्त्वपूर्ण योगदान पुग्ने उनको भनाइ छ । तर, कुनै पनि राजनीतिक दलले घोषणापत्र लेखनमा यो विषय समेट्नेबारे आफूहरूसँग कुनै छलफल नगरेको उनको गुनासो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण