बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘नेपालको समृद्धि हिमालबाटै छ, माउन्टेन युनिभर्सिटी तत्काल अघि बढाउनुपर्छ’

मङ्गलबार, २७ माघ २०८२, १५ : १२
मङ्गलबार, २७ माघ २०८२

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने पर्वतीय पर्यटन क्षेत्रले बोकेको प्रचुर सम्भावना र यसका विद्यमान चुनौतीहरूमाथि यो संवाद केन्द्रित छ ।

मुलुकमा रोजगारी सिर्जना र समग्र आर्थिक विकासका लागि पर्यटन क्षेत्रको भूमिका कस्तो हुनुपर्छ ? नीतिगत तहमा के–कस्ता सुधार आवश्यक छन् र आगामी कार्यदिशा के हुनुपर्छ ? प्रस्तुत छ, यिनै विषयवस्तु र पर्यटन क्षेत्रको वर्तमान अवस्थाबारे नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जी शेर्पासँग गरिएको कुराकानीको सम्पादित अंशः

  • नेपालको राजनीतिक अवस्था र आर्थिक मन्दीको बिचमा नेपालको पर्वतीय पर्यटनको अवस्था कस्तो छ ?

नेपालको वास्तविक सुनको खानी भनेकै यहाँको हिमाल हो । पूर्वमा कञ्चनजङ्घादेखि पश्चिममा अपि सैपालसम्म फैलिएको झन्डै ९०० किलोमिटर लामो नन–ब्रेकेबल हिमशृङ्खला विश्वमै दुर्लभ सम्पत्ति हो, तर दुर्भाग्य के छ भने, देशको नेतृत्वले यसलाई कहिल्यै उद्योगको रूपमा गम्भीरतापूर्वक लिएन ।

राजनीतिक दल र सरकारको ध्यान सधैँ सत्ता समीकरण र तत्कालको लोकप्रियतामा केन्द्रित भयो । समृद्धि हिमालबाट आउँछ भन्ने कुरा भाषणमा त आयो, तर व्यवहारमा कुनै ‘मास्टर प्लान’ आएन । हामी व्यवसायीहरूले बारम्बार भनिरहेका छौँ– जबसम्म पर्वतीय पर्यटनलाई राष्ट्रिय प्राथमिकताको उद्योग मानिँदैन र सोही अनुसारको बजेट र नीति बन्दैन, तबसम्म हामीले प्रकृतिको उपहारलाई खेर फालिरहने छौँ ।

  • देशमा युवा पलायनको डरलाग्दो अवस्था छ । के पर्यटन क्षेत्रले यसलाई रोक्न सक्छ ?

एकदमै सक्छ । आजको तितो यथार्थ के हो भने, प्रत्येक दिन १५ सयदेखि २ हजारसम्म हाम्रा २० देखि ३० वर्ष उमेर समूहका जोसिला युवा विदेश गइरहेका छन् । उनीहरू त्यहाँ गएर सामान्य लेबरको काम गर्न र न्यून तलबमा रगत–पसिना बगाउन बाध्य छन्, तर हामीसँग यहीँ हिमालमा, यही पर्यटन उद्योगमा यति ठुलो अवसर छ कि त्यसको कुनै हिसाब नै छैन ।

यदि राजनीतिक दल र सरकारले सरोकारवालासँग बसेर छलफल गर्ने हो भने र यो इन्डस्ट्रीलाई साँच्चिकै आत्मसात गरेर स्पष्ट एजेन्डा बनाउने हो भने नेपालीले विदेश जानुपर्दैन ।

संसारका मानिसहरू नेपाल आउन चाहन्छन् । हामी विश्वकै उत्कृष्ट गन्तव्यस्थलमा छौँ । मात्र हामीले यसको सही मार्केटिङ र व्यवस्थापन गर्न सकेका छैनौँ । यदि हामीले हाम्रा हिमाल र पर्यटकीय गन्तव्यहरूको सही प्रचार–प्रसार गर्न सक्यौँ भने लाखौँ युवाले यहीँ रोजगारी पाउँछन् । स्वरोजगार बन्न सक्छन्, तर नेतृत्वले यो कुरा बुझ्न नसक्दा हामीले युवा शक्ति र आर्थिक समृद्धि दुवै गुमाइरहेका छौँ ।

  • पर्यटन विकासका लागि तत्काल सुधार गर्नुपर्ने मुख्य क्षेत्र के–के हुन् ?

सबैभन्दा टड्कारो आवश्यकता भनेको विशिष्टिकृत शिक्षा हो । हामीकहाँ होटल म्यानेजमेन्ट कलेजहरू छन्, तर त्यो सहर केन्द्रित भयो । हिमाल चढ्ने, उद्धार गर्ने र साहसिक पर्यटनको नेतृत्व गर्ने जनशक्ति उत्पादन गर्न हामीलाई माउन्टेन एड्भेन्चर युनिभर्सिटी चाहिएको छ । यस्तो विश्वविद्यालय स्थापना गर्न सके विश्वभरका विद्यार्थीहरू नेपालमा माउन्टेनिरिङ पढ्न आउने थिए, जसले नेपाललाई एकेडेमिक हब बनाउँथ्यो ।

दोस्रो, पूर्वाधारको विकास हो । हाम्रा कैयौँ सुन्दर हिमालहरू पहुँच नभएर बन्दजस्तै छन् । पर्यटनलाई काठमाडौँ र पोखरामा मात्र सीमित नराखी सुदूरपश्चिम र पूर्वी नेपालका दूरदराजसम्म पुर्‍याउनुपर्छ । यसका लागि नीतिगत तहमा विकेन्द्रीकरण आवश्यक छ ।

  • हाम्रा हिमालहरूको क्षमता र आरोही व्यवस्थापनको अवस्था कस्तो छ ?

हामीसँग अथाह क्षमता छ । सरकारले ४१४ वटा हिमाल आरोहणका लागि खुला गरेको छ, तर हामीले सीमित हिमालमा मात्र बढी चाप दिइरहेका छौँ । नेपालमा पहिचान भएका तर आरोहणका लागि नखोलिएका अझै १३०० भन्दा बढी चुचुरा छन् ।

यदि हामीले ती भर्जिन पिकहरूको सही मार्केटिङ गर्ने र सिजन अनुसार आरोहीहरूको व्यवस्थापन गर्ने हो भने वर्षमा २०औँ लाख पर्यटकलाई हिमालमा स्वागत गर्न सक्छौँ । यसका लागि नेपाल पर्वतारोहण संघले सरकारसँग नयाँ हिमालहरू खोल्न र रोयल्टीका नियमहरूलाई लचिलो बनाउन निरन्तर लबिङ गरिरहेको छ ।

  • पर्यटन क्षेत्रमा बेलाबेला सुनिने फेक रेस्क्यु जस्ता विकृतिले कस्तो असर पारेको छ ?

व्यवसायमा इमानदारिता नै सबैभन्दा ठुलो सम्पत्ति हो । फेक रेस्क्यु जस्ता गतिविधिले अन्तर्राष्ट्रिय स्तरमा नेपालको बीमा र सुरक्षामा प्रश्नचिन्ह खडा गर्छ । यो सरासर गलत हो र यसमा जीरो टोलरेन्स हुनुपर्छ ।

यो समस्या समाधान गर्न पर्यटन मन्त्रालय, विभाग र हामी व्यवसायीहरू बीच बलियो समन्वय आवश्यक छ । मुठ्ठीभरका गलत मान्छेहरूले गर्दा समग्र देश र इमानदार व्यवसायी बदनाम हुनुहुँदैन । यसमा राज्यले कडा अनुगमन र दण्ड–सजायको व्यवस्था गर्नुपर्छ, जसमा संघको पूर्ण सहयोग रहनेछ ।

  • राजनीतिक दलका घोषणापत्रमा पर्यटन क्षेत्रका एजेन्डा कत्तिको समेटिएको पाउनुभएको छ ?

दुःखका साथ भन्नुपर्छ, दलका घोषणापत्रहरूमा पर्यटन एउटा कर्मकाण्डी विषय मात्र बनेको छ । चुनावको बेला ठुला सपना बाँडिन्छन्, तर ती सपना पूरा गर्ने रोडम्याप बनाउँदा हामीजस्ता विषय विज्ञ वा सरोकारवाला संस्थाहरूसँग कहिल्यै परामर्श गरिँदैन ।

दलहरूले हावादारी गफ होइन, कार्यान्वयनमुखी योजना ल्याउनुपर्छ । विज्ञहरूको सुझाव नलिई कोठामा बसेर लेखिएका घोषणापत्रले पर्यटन क्षेत्रको कायापलट हुन सक्दैन । हिमालको समृद्धि बुझ्न हिमालमै काम गरेकाहरूको अनुभव सुन्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप