बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

इमरान खानको स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्दै विश्वका १४ पूर्वकप्तानद्वारा पाकिस्तानी प्रधानमन्त्रीलाई पत्र

मङ्गलबार, ०५ फागुन २०८२, १७ : ३५
मङ्गलबार, ०५ फागुन २०८२

सारांश

  • इमरान खानको स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गर्दै १४ पूर्व क्रिकेट कप्तानहरूले प्रधानमन्त्रीलाई पत्र लेखेका छन्।
  • जेलमा रहेका खानको आँखाको ज्योति कमजोर भएको र उचित स्वास्थ्योपचारको माग गरिएको छ।
  • सन् १९९२ को विश्वकप विजेता कप्तान खानलाई मानवीय व्यवहार गर्न र भेटघाटको व्यवस्था मिलाउन आग्रह गरिएको छ।

काठमाडौँ । पाकिस्तानका पूर्व प्रधानमन्त्री एवं क्रिकेटका महान् खेलाडी इमरान खानको खस्किँदो स्वास्थ्य अवस्थालाई लिएर विश्वभरका १४ पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

अस्ट्रेलियाका पूर्व कप्तान ग्रेग च्यापलको सक्रियतामा तयार पारिएको संयुक्त पत्र पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफलाई पठाउँदै खानलाई मानवीय व्यवहार गर्न र आवश्यक स्वास्थ्योपचारको प्रत्याभूति गर्न माग गरिएको हो ।

जेलमा रहेका खानको आँखाको ज्योति निकै कमजोर भएको र उनी झन्डै अन्धो हुने अवस्थामा पुगेको रिपोर्टहरू सार्वजनिक भएपछि क्रिकेट जगतमा तरङ्ग पैदा भएको छ। खानको परिवारले जेल प्रशासनले मेडिकल हेलचेक्य्राइँ गरेको आरोप लगाइरहेका बेला सुनिल गावस्कर, कपिल देव, एलन बोर्डर, क्लाइभ लोयड, स्टिभ वा र नासिर हुसेन जस्ता क्रिकेटका हस्तीहरूले पत्रमा हस्ताक्षर गर्दै खानको योगदानको कदर गर्न आग्रह गरेका छन्।

पत्रमा सन् १९९२ को विश्वकप विजेता कप्तानको रूपमा खानको कौशल, नेतृत्व र खेल भावनाको प्रशंसा गरिएको छ। मैदानमा उनीसँगै खेलेका वा उनलाई आदर्श मान्ने कप्तानहरूले राजनीतिक दृष्टिकोणभन्दा माथि उठेर खानलाई विशेषज्ञ चिकित्सकबाट उपचार गराउन र परिवारसँग नियमित भेटघाटको व्यवस्था मिलाउन माग गरेका छन्। 

विगत दुई वर्षदेखि जेलमा रहेका खानलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको मानवीय सुविधा दिन उनीहरूले जोड दिएका छन्। यसअघि वासिम अक्रम, वकार युनिस र शोएब अख्तर जस्ता पाकिस्तानी पूर्व खेलाडीहरूले पनि खानको उपचारका लागि आवाज उठाएका थिए । 

पाकिस्तान सरकारले खानमाथि लगाइएका भ्रष्टाचार लगायतका आरोपहरू राजनीतिक नभएको दाबी गरे पनि एम्नेस्टी इन्टरनेशनल र ह्युमन राइट्स वाच जस्ता संस्थाहरूले उनको मुद्दाको पारदर्शिता र जेलको अवस्थाप्रति प्रश्न उठाउँदै आएका छन् । 

क्रिकेटले राष्ट्रहरूबिच पुलको काम गर्ने स्मरण गराउँदै पूर्व कप्तानहरूले न्याय र शिष्टताको सिद्धान्तलाई कायम राख्न पाकिस्तान सरकारलाई अपिल गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप