कञ्चनपुरका सुनाहा समुदायको प्रश्न– यिनै विभेदकारीलाई कहिलेसम्म र किन हामीले भोट दिइरहनुपर्ने ?
सारांश
- कञ्चनपुरमा बसोबास गर्ने सुनाहा समुदाय प्रतिनिधि सभाको निर्वाचनप्रति खासै चासो राख्दैनन्।
- लोपोन्मुख अवस्थामा रहेको सुनाहा समुदायले आरक्षण सुविधा र राज्यबाट अन्य सहयोग नपाएको गुनासो गरेका छन्।
- दलहरूले अल्पसङ्ख्यक सूचीमा सूचीकृत गर्ने आश्वासन दिए पनि हालसम्म पूरा नभएको स्थानीयको गुनासो छ।
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लास्थित भीमदत्त नगरपालिका वडा नम्बर १२ र १३ मा बसोबास गर्दै आएका सुनाहा समुदायलाई प्रतिनिधि सभाको आसन्न निर्वाचनबारे खासै चासो छैन ।
लोपोन्मुख अल्पसङ्ख्यक यो समुदायले अल्पसङ्ख्यक सूचीमा आफूहरूलाई सूचीकृत गर्न राज्यसँग माग गर्दै आएको थियो । अहिलेसम्म सूचीकृत नहुँदा राज्यले व्यवस्था गरेको आरक्षणको सुविधासमेत आफूहरूले प्राप्त गर्न नसकेको यो समुदायको गुनासो छ ।
उच्च शिक्षामा अध्ययनदेखि लिएर रोजगारी तथा अन्य विभिन्न सेवा–सुविधाका लागि आरक्षण नहुँदा आफूहरूले खुलातर्फ नै प्रतिस्पर्धा गर्नु परेको स्थानीय मोहनलाल सुनाहा बताउँछन् ।
आफ्नो समुदाय लोपोन्मु्ख भइसक्दा समेत राज्यले यसको संरक्षण, विभिन्न निकायमा सहभागिताका लागि आरक्षणको व्यवस्था गर्न चासो नदेखाएको उनको गुनासो छ । ‘हाम्रो समुदायले सरकारी जागिर खानु परेमा खुलातर्फ नै प्रतिस्पर्धा गर्नुपर्छ,’ उनले प्रश्न गरे, ‘दैनिक मजदुरी गरेर जसोतसो सरकारी स्कुल, कलेजमा पढाएका हाम्रा छोराछोरीले खुलातर्फ प्रतिस्पर्धा गरेर कसरी अवसर पाउन सक्छन् ?’
सोही ठाउँका मोहन सुनाहाले विभिन्न दलका नेताहरूबाट पटक–पटक अल्पसङ्ख्यक जातिका रूपमा सूचीकृत गरिदिने आश्वासन दिए पनि अहिलेसम्म पूरा हुन नसकेको गुनासो गरे । ‘सूचीकृत गरिदिन्छौँ भनेर सबैजसो दलले प्रतिबद्धता जनाएका थिए,’ उनले भने, ‘खै ! अहिलेसम्म केही उपलब्धि भएन । हाम्रो आवाज कुनै पनि पार्टी र नेताले उठाएको समेत पनि सुन्न पाइएन ।’

लोपोन्मुख जातिकै रूपमा राउटेहरूले राज्यबाट सामाजिक सुरक्षा भत्ता पाएको तर यही राज्यमा लोपोन्मुख अवस्थामा पुगेका आफूहरूले भने अहिलेसम्म सूचीकृत हुन नपाउनु ठुलो विभेद रहेको मोहनले बताए ।
चन्द्रकला सुनाहाको पनि उस्तै गुनासो छ । स्थानीय तह, प्रदेश सरकार र संघ सरकारबाट विभिन्न अनुदान, सिपमूलक तालिम लगायतका योजना ल्याउँदासमेत आफूहरूलाई कसैले वास्ता नगरेको उनको गुनासो छ । ‘जग्गा–जमिन धेरै नभएका हामीजस्ता नागरिकले दैनिक मजदुरी नगरी पेट भर्न गाह्रो हुन्छ,’ उनले भनिन्, ‘यहाँ विभिन्न शीर्षकमा अनुदान आएको, विभिन्न सिपमूलक तालिमका अवसर आएको सुनिन्छ तर हामीलाई त्यसबारे कसैले थाहा दिँदैनन् । हुने–खानेहरूले नै त्यस्ता सुविधा लिएको देखिन्छ ।’

सरकारले खरको छानो हटाउने अभियान सञ्चालन गरेको भन्ने यदाकदा सुन्ने गरिए पनि आफूहरू अझै खरकै छानोमुनि बस्नु परिरहेको चन्द्रकलाको गुनासो छ । ‘खै कता अनुदान आयो रे भन्ने सुनिन्छ,’ उनले भनिन्, ‘सोधखोज गर्दै जाँदा बजेट सकियो भन्छन् । हुनेखानेहरूले नै जस्तापाता लैजान्छन् । हामीजस्ता गरिबलाई कसैले हेर्दैन ।’
नदीहरूमा सुन छान्ने पुर्ख्यौली पेसा रहे पनि भीमदत्त नगरपालिका क्षेत्रमा बसोबास गर्ने यो समुदायले दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्दै आएको छ । बसोबास क्षेत्र नजिकै रहेको महाकाली नदीमा सुन नपाइने भएकाले यो समुदाय पुर्ख्यौली पेसा त्याग्न बाध्य भएको हो । यद्यपि बर्दियातिर बसोबास गर्ने यही समुदायका सदस्य भने अझै पनि कर्णाली नदीमा सुन छान्ने काम गर्दै आएका छन् ।
कञ्चनपुरमा रहेका अधिकांश सुनाहाले कृषि मजदुरी, महाकाली नदीमा बालुवा चाल्ने लगायतका काम गरेर गुजारा चलाउँदै आएका छन् । मेहनत मजदुरी गरेर छोराछोरीलाई पढाए पनि अवसर पाउने बेलामा आफूहरूको जाति अल्पसङ्ख्यक समुदायका रूपमा सूचीकृत नभएका कारण खुलातर्फ प्रतिस्पर्धा गर्न बाध्य हुनु परेको मोहनलालले बताए ।
‘नेपालमा दर्जनौँ जातलाई जनजातिमा समावेश गरिएको छ, कैयौँ जात दलितका रूपमा सूचीकृत छन्,’ उनले भने, ‘उनीहरूले आरक्षण पाउँछन् तर हामीलाई भने सूचीकृत नगरिएका कारण राज्यका निकायमा आरक्षण पाउन सकेका छैनौँ ।’

आफूहरूमाथि राज्यले एकप्रकारले विभेद गरेको मोहनलालको गुनासो छ । ‘संसदमा त्यतिका पार्टी थिए । हामीले जिताएर पठाएका प्रतिनिधि पनि थिए,’ उनले भने, ‘पदमा रहुन्जेल उनीहरूले हाम्रा समस्यालाई वास्ता गरेनन् । जब चुनाव आउँछ, अनि उनीहरूलाई हाम्रो खाँचो हुन्छ ।’
दलहरूकै बेवास्ताका कारण आफूहरू अल्पसङ्ख्यक जातका रूपमा सूचीकृत हुन नसकेको बताउनले मोहनलालले भने, ‘हामीमाथि अहिलेसम्म विभेद गर्ने यिनै विभेदकारीलाई कहिलेसम्म र किन हामीले भोट दिइरहनुपर्ने ?’
बर्दिया र कञ्चनपुरमा गरी कुल ११ सयको हाराहारीमा सुनाहा समुदायको जनसङ्ख्या छ । कञ्चनपुरमा यो समुदायका ८४ परिवार छन् ।
- घर–घरमा विशेष मन्दिर

हिन्दु धर्म मान्ने यो समुदायले आफ्नो आँगन अगाडि भोलेनाथ (शिव) र भगवतीको विशेष मन्दिर बनाएर दैनिक पूजा गर्दछ ।
‘हामी भोलेनाथ र भगवतीको विशेष भक्त हौँ,’ चन्द्रकलाले भनिन्, ‘जुठो वा सुतकको समयमा पूजा गर्दैनौँ, नत्र दैनिक आफ्नो आँगन अगाडि रहेको मन्दिरमा दुध चढाएर, धुप बालेर पूजा गर्दछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वेसँग बराबरी खेल्दा मोरक्कोलाई दुई मुख्य खेलाडीको चोटको चिन्ता
-
फिलिपिन्समा ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प, एसियाका विभिन्न देशमा सुनामीको चेतावनी
-
राष्ट्रिय सभाका दुई समितिको बैठक आज बस्दै
-
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
-
सिंगापुरमा नेपाल र हङकङबिच उपाधि भिडन्त
-
नयाँ कार्यव्यवस्था समिति नबन्दा सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण