कर्णालीमा निर्वाचन सुरक्षा : विमानस्थल र कारागारको सुरक्षा जिम्मा सेनाले लियो
सारांश
- कर्णाली प्रदेशमा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ।
- निर्वाचनका लागि आवश्यक सामग्रीहरू जिल्लाहरूमा पुगिसकेका छन्, र सुरक्षाका लागि १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।
- हिमाली जिल्लाहरूमा हेलिकप्टरबाट निर्वाचन सामग्री ढुवानी गरिने र सेनाले कारागार तथा विमानस्थलको सुरक्षाको जिम्मा लिएको छ।
सुर्खेत । कर्णाली प्रदेशमा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सम्पूर्ण तयारी अन्तिम अवस्थामा छ । निर्वाचन हुन ९ दिन मात्र बाँकी रहँदा सम्बन्धित क्षेत्रहरूमा सुरक्षा परिचालनलाई कडाइ गर्नुका साथै निर्वाचन सम्बन्धित सामग्रीहरू ढुवानीका काम भइरहेका हुन् ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राम प्रकाश शाहले १० वटै जिल्लामा निर्वाचन सामग्री पुगिसकेको रातोपाटीलाई बताए ।
अब जिल्लाहरूबाट सम्बन्धित मतदान स्थलहरूसम्म पुर्याउने काम भइरहेको छ । ‘निर्वाचनसँग सम्बन्धित सामग्रीहरू सबै पठाउने काम भइरहेको छ,’ उनले भने, ‘भोलि र पर्सी सबै जिल्लाहरूमा जानुपर्ने थप जनशक्तिहरू र अरू सामानहरू पुगिसक्छ ।’
उनका अनुसार, १५ हजार बढी प्रहरी र निर्वाचन प्रहरीहरू निर्वाचनको सुरक्षामा खटिएका छन् । जसमा ५ हजार ५८० नेपाल प्रहरी र ९ हजार ७४२ निर्वाचन प्रहरीहरू रहेका छन् ।
कर्णाली प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक जयराज सापकोटाले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि जिल्लामा खटिन लागेका प्रहरीहरूलाई विशेष निर्देशन दिइसकेका छन्।
यस्तै, कर्णालीका विमानस्थल र कारागारहरूको सुरक्षा नेपाली सेनाले लिएको छ । यी क्षेत्रलाई संवेदनशील रूपमा हेरिएकाले सेनाले सुरक्षा जिम्मा लिएको हो ।
कर्णालीमा रहेका सुर्खेत, रुकुम, डोल्पा, मुगु, जुम्ला र हुम्ला जिल्लामा रहेका ६ वटा विमानस्थल र ९ वटा कारागारको सुरक्षामा सेना खटिसकेको शाहले बताए । ‘सेनाले ड्युटी लिइसकेको छ,’ उनले भने ।
कर्णालीका हिमाली जिल्लामा निर्वाचन सामग्रीदेखि मतदानमा समस्या हुनसक्ने चिन्ता छ । शाहका अनुसार, अहिलेसम्म हिमाली जिल्लाका दुर्गम भेगमा रहेका मतदान स्थलहरूमा निर्वाचन सामग्रीदेखि मतदान पश्चात् मतपत्र सङ्कलनको काममा हेलिकप्टर परिचालन गर्ने कुरा छ । ‘अहिलेसम्म ‘हेली ड्रप’ गर्ने र निर्वाचन पश्चात् हलीबाटै ल्याउने भन्ने चाहिँ छ,’ उनले भने, ‘हामीले पनि त्यही अनुसार योजना बनाएर जिल्लाहरुमा पठाइसकेको अवस्था छ।’
यस्तै, हिमाली जिल्लाको सुरक्षा निकायहरूले थप केन्द्रमा राखेर ध्यान दिएको अवस्था छ । विशेषगरि हिउँले गर्दा समस्या भइरहेको छ, हिमालमा । त्यहाँ सेनाले नियमित गस्ती गर्ने काम गरिरहेको छ, भौगोलिक रूपमा विकट स्थानमा रहेका र सडक सञ्जाल नपुगेका ठाउँमा घोडाको सहारा लिएर पनि गस्ती गरिरहेको छ ।
कर्णालीमा मतदानका लागि १० लाख ३७ हजार २५० जना कुल मतदाता सङ्ख्या रहेको छ । यद्यपि त्यसको ६०—७० प्रतिशत मात्रै मत खस्ने आकलन गरिएको छ । यस्तै, यहाँ ९४१ मतदान स्थल र १४ सय ३७ मतदान केन्द्रहरू रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
-
मेस्सीको कीर्तिमानपछि अब नजर रोनाल्डोमा
-
लुम्बिनी प्रदेश सभा बैठक आधा घण्टाका लागि स्थगित
-
शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण