प्रमाण लुकाउन सिकाएको प्रमाण भेटिएपछि पक्राउ परे हवाई व्यवस्थापन विज्ञ राजेन्द्र बहादुर सिंह
सारांश
- हवाई व्यवस्थापन विज्ञ राजेन्द्रबहादुर सिंहलाई ४ वर्षमा ३१७ पर्यटकको नक्कली उद्धार गरी बीमा रकम दाबी गरेको आरोपमा पक्राउ गरिएको छ।
- सिंह नागरिक उड्डयन क्षेत्रको उच्चस्तरीय समितिका सदस्य हुन् र उनले यसअघि पक्राउ परेका व्यक्तिहरूलाई प्रमाण लुकाउन सिकाएको आरोप लागेको छ।
- यस प्रकरणमा अहिलेसम्म ९ जना पक्राउ परेका छन्, र उनीहरूले २ अर्ब ८९ करोड बीमा रकम दाबी गरेको पाइएको छ।
काठमाडौँ । चार वर्षमा मुलुकको पर्वतारोहण र ट्रेकिङ्ग क्षेत्रमा ३१७ जना पर्यटकको फेक रेस्क्यु गरेर अवैध बिमा रकम दाबी गरेको कसुरमा हवाई व्यवस्थापन विज्ञ राजेन्द्रबहादुर सिंह पक्राउ परेका छन् । विमान सेवा सञ्चालक सङ्घका पूर्व उपाध्यक्ष सिंहलाई बुधवार काठमाडौँबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी शिव कुमार श्रेष्ठले रातोपाटीलाई बताए । ५६ वर्षीय सिंह काठमाडौँ महानगरपालिका–३१ का स्थानीय हुन् ।
मन्त्रिपरिषद्ले २०८१ चैत ४ मा गठन गरेको नागरिक उड्डयन क्षेत्रको समष्टिगत अध्यक्ष तथा विश्लेषण उच्चस्तरीय समितिको सदस्य हुन्, राजेन्द्र बहादुर सिंह । मन्त्रिपरिषद्ले सो समितिको संयोजकमा अनिलकुमार सिन्हालाई नियुक्त गरेको थियो।
बद्री प्रसाद पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री हुँदा गठित उच्चस्तरीय समितिका संयोजक सिन्हा अहिलेका पर्यटनमन्त्री हुन् । तिनै उच्चस्तरीय समितिको सदस्य तथा हवाई व्यवस्थापन विज्ञ राजेन्द्र बहादुर सिंह फेक रेस्क्यु प्रकरणमा अहिले सिआईबीको हिरासतमा छन् ।
माउन्टेन हेलिकप्टरको पूर्व अध्यक्ष समेत रहेका सिंहले यसअघि पक्राउ परेका आरोपीलाई फेक रेस्क्युबारे प्रमाण लुकाउन सिकाएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । फेक रेस्क्यु प्रकरणमा अहिलेसम्म ९ जना पक्राउ परेका छन् ।
यसअघि पक्राउ परेकाहरुले बयानमा सिंहको नाम लिएका छन् । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘सिंहले प्रमाण कसरी लुकाउने भनेर अन्य आरोपीहरूलाई सिकाएको भेटिएको छ ।’
सिंहले प्रमाण लुकाउनेबारे सिकाएको ‘अडियो प्रमाण’ फेला परेको अनुसन्धानमा संलग्न ती अधिकृतले बताए । उनले भने, ‘प्रमाण यसरी लुकाउनु भनेर उहाँले सिकाएको प्रमाण भेटिएको छ ।’
फेक रेस्क्युको घटना मिलाउन आफूले नागरिक उड्डयन प्राधिकरणमा मिलाइदिएको कुरा सिंहले आरोपीहरूलाई बताएको भेटिएको छ । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘प्रारम्भिक अनुसन्धानमा उहाँको संलग्नता देखिएको छ, थप अनुसन्धान गर्दै छौँ ।’
फेक रेस्क्यु प्रकरणमा मंगलबार रोयल होलिडेज एडभेन्चर एण्ड ट्राभल कम्पनीका सञ्चालक सन्दिप तिवारी पक्राउ परेका थिए । २८ वर्षीय तिवारी धादिङ ज्वालामुखी गाउँपालिका वडा नम्बर–२ का स्थानीय हुन् ।
यसअघि श्रीद्धी इन्टरनेशनल अस्पतालमा सञ्चालक डा. गिर्वाणराज तिमिल्सिना, माउन्टेन रेस्क्यु सर्भिस प्रालिका सञ्चालक जयराम रिमाल, म्यानेजर विवके पाण्डे, नेपाल चार्टर्ड सर्भिसका सञ्चालक रविन्द्र अधिकारी र अपरेशन म्यानेजर विवेक राज थपलिया पक्राउ परेका थिए । त्यस्तै, एभरेष्ट एक्सपेरियन्स एण्ड एसोसिएट्स प्रालिका सञ्चालक मुक्ति पाण्डे र म्यानेजर सुभाष केसीलाई पनि सिआईबीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
उच्च हिमाली क्षेत्रमा घुम्न आएका ३१७ जनालाई ट्रान्सपोर्ट सर्भिस कम्पनीहरूले उद्धार र उपचारको आवरणमा फेक रेस्क्यु गरेका हुन् । सन् २०२२ यता भएको फेक रेस्क्युमा आरोपीहरूको संलग्नता देखिएको सीआईबीका एआईजी डा. मनोज केसीले जानकारी दिए ।
नक्कली उद्धार गरेर कम्पनीहरूले विदेशका बिमा कम्पनीहरूमा २ अर्ब ८९ करोड बिमा दाबी गरेको भेटिएको छ । उच्च हिमाली क्षेत्रमा घुम्न गएकाहरूलाई सामान्य लेक लाग्दा पनि ‘मिलेमतो’मा हेलिकप्टरमार्फत रेस्क्यु गर्ने र अस्पतालमा भर्ना गरेर पर्यटकले बिमा गरेको कम्पनीमा बिमा रकम दाबी गरेर ठग्ने गरेको सीआईबीको अनुसन्धान निष्कर्ष छ ।
उद्धार गर्नुअघि उनीहरुले इन्स्युरेन्स पोलिसीको जानकारी प्राप्त गरेर उच्च हिमाली क्षेत्रमा लेक लाग्दा हेलिकप्टर बोलाउन बाध्य पार्ने गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन्।
छुटाउनुभयाे कि ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण