चार वर्षमा ३१७ जना विदेशीको ‘फेक रेस्क्यु’
सारांश
- प्रहरी अनुसन्धानले चार वर्षमा ३१७ पर्यटकको फेक रेस्क्यु भएको खुलासा गरेको छ।
- उच्च हिमाली क्षेत्रमा पर्यटकको नक्कली उद्धार गरी बीमा रकम दाबी गरेको आरोपमा ६ जना पक्राउ परेका छन्।
- अनुसन्धानका अनुसार, रेस्क्युका नाममा २ अर्ब ८९ करोड बीमा दाबी गरिएको पाइएको छ।
काठमाडौँ । चार वर्षमा नेपालको पर्वतारोहण र ट्रेकिङ क्षेत्रमा ३१७ जना पर्यटकको ‘फेक रेस्क्यु’ गरिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
उच्च हिमाली क्षेत्रमा घुम्न आएका ३१७ जनालाई ट्रान्सपोर्ट सर्भिस कम्पनीहरूले उद्धार र उपचारको आवरणमा ‘फेक रेस्क्यु’ गरेका हुन् ।
रेस्क्युमा संलग्न ३ वटा कम्पनीका सञ्चालक र म्यानेजरलाई सीआईबीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
सन् २०२२ यता भएको फेक रेस्क्युमा माउन्टेन रेस्क्यु सर्भिस प्रालि, नेपाल चार्टर्ड सर्भिस र एभरेष्ट एक्सपेरियन्स एण्ड एसोसिएट्स प्रालिका सञ्चालकहरूको संलग्नता देखिएको सीआईबीका एआईजी डा. मनोज केसीले जानकारी दिए ।
नक्कली उद्धार गरेर कम्पनीहरूले विदेशका बिमा कम्पनीहरूमा २ अर्ब ८९ करोड बिमा दाबी गरेको भेटिएको छ ।
माउन्टेन रेस्क्यु सर्भिसले १७१ जना, नेपाल चार्टर्ड सर्भिसले ७५ जना र एभरेष्ट एक्सपेरियन्स एण्ड एसोसिएट्स प्रालिले ७१ जनाको शङ्कास्पद रेस्क्यु गरेको अनुसन्धानबाट थाहा भएको छ ।
उच्च हिमाली क्षेत्रमा घुम्न गएकाहरूलाई सामान्य लेक लाग्दा पनि ‘मिलेमतो’मा हेलिकप्टरमार्फत रेस्क्यु गर्ने र अस्पतालमा भर्ना गरेर पर्यटकले बिमा गरेको कम्पनीमा बिमा रकम दाबी गरेर ठग्ने गरेको सीआईबीको अनुसन्धान निष्कर्ष छ ।
उद्धार गर्नुअघि उनीहरुले इन्स्याेरेन्स पोलिसीको जानकारी प्राप्त गरेर उच्च हिमाली क्षेत्रमा लेक लाग्दा हेलिकप्टर बोलाउन बाध्य पार्ने गरेको अनुसन्धानमा संलग्न डीएसपी दान बहादुर थापाले बताए । उनले भने, ‘रेस्क्यु गर्ने कम्पनीले छुट्टै र अस्पतालले छुट्टै बीमा दाबी गर्ने गरेको देखिन्छ ।’
फेक रेस्क्युमा संलग्न आरोपमा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा माउन्टेन रेस्क्यु सर्भिस प्रालिका सञ्चालक जयराम रिमाल, म्यानेजर विवेक पाण्डे, नेपाल चार्टर्ड सर्भिसका सञ्चालक रविन्द्र अधिकारी र अपरेशन म्यानेजर विवेक राज थपलिया छन् । एभरेष्ट एक्सपेरियन्स एण्ड एसोसिएट्स प्रालिका सञ्चालक मुक्ति पाण्डे र म्यानेजर सुभाष केसी छन् ।
आरोपीहरूले चार्टर्ड फ्लाइटलाई रेस्क्यु भनेर बिमा दाबी गरेको र पर्यटकलाई हिमालको बेसक्याम्पमा घुमाएपछि फर्किँदा हेलिकप्टर मगाएर ‘रेस्क्यु’ फ्लाइटको कागजात बनाउने गरेको भेटिएको छ ।
सोलुखुम्बुको खुम्बु क्षेत्रबाट एक जना पर्यटकसँग एउटा फ्लाइटको ३१ सय डलर सम्म असुल्ने गरेको अनुसन्धानबाट थाहा भएको छ । डीएसपी थापा भन्छन्, ‘हेलिकप्टरमा ल्याएपछि अनिवार्य अस्पताल भर्ना गरेर कागजात बनाउने गरेको देखिन्छ ।’
आरोपीहरूलाई पक्राउ गर्नुअघि २ हजारभन्दा धेरै उद्धार भएकाहरूको विवरण विश्लेषण गरिएको एआईजी डा. केसीले जानकारी दिए ।
छुटाउनुभयाे कि ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरको पानी ट्याङ्कीमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण