शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
पोखरा डेढ महिनादेखि दुर्गन्धित

चुनावी नारामा ‘एक्सन’, व्यवहारमा फोहोर संकट

बिहीबार, १४ फागुन २०८२, १० : ५८
बिहीबार, १४ फागुन २०८२

सारांश

  • पोखरामा फोहोर व्यवस्थापनको विषय राजनीतिक दलहरूको प्रतिबद्धता र स्थानीय अवरोधका कारण जटिल बन्दै गएको छ।
  • मेयर आचार्यले फोहोर विसर्जनमा राजनीतिक दलहरूको दोहोरो व्यवहार र तल्लो तहका कार्यकर्ताको असहयोगको गुनासो गरेका छन्।
  • स्थायी समाधानका लागि अन्तर्राष्ट्रिय टेन्डर भइसकेको र चुनावपछि फोहोर प्रशोधन केन्द्र निर्माण सुरु हुने मेयरको भनाइ छ।

पोखरा । ‘अब आवाज होइन, एक्सन हो । पत्रकारबाट संसदसम्म । उत्तम आयो, सिस्टम हल्लाउन ।’ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उत्तम पौडेलको लागि भोट माग्दै गाडी यही आवाज लिएर सडकमा हुईंकिन्छन् । सफा राजनीतिका लागि आएको भनेर गाडीमा गीत घन्काउँदै हिँड्दा रास्वपाले पोखरामा झण्डै डेढ महिनादेखि भइरहेको दुर्गन्धमाथि नजरअन्दाज गरिरहेको छ ।

एमालेका उम्मेदवार रश्मि आचार्यले आफ्नो घोषणापत्रमा पोखराको फोहरलाई ऊर्जा तथा कम्पोस्ट मल बनाउने उद्योग स्थापना गर्ने बताएका छन् । ‘नगर क्षेत्रको फोहर व्यवस्थापन गर्न फोहरबाट ऊर्जा तथा कम्पोस्ट मल बनाउने प्रविधियुक्त उद्योग स्थापनाका लागि स्थानीय तहको समन्वयमा आवश्यक प्रोत्साहन गरिनेछ,’ उनको घोषणापत्रमा उल्लेख छ । तर, उनकै वडामा फोहोर प्रशोधन केन्द्र निर्माण गर्न नसकेर पोखरा महानगरपालिकाको ठेक्का भैसकेको योजना अहिले अलपत्र छ ।

IMG_4867

नेपाली कांग्रेसका उम्मेदवार माधवप्रसाद बास्तोला (मधु)ले आफ्नो प्रतिबद्धतामा स्वच्छ पोखराको अभियान भनेर उल्लेख गरेका छन् । फोहरमैलाको वैज्ञानिक व्यवस्थापन गर्दै सफा, सुन्दर र स्वच्छ पोखरा निर्माणका लागि म दृढ पहल गर्नेछु,’ उनले लेखेका छन् । तर, उनले गन्हाइरहेको पोखराको फोहर तत्काल व्यवस्थापन गर्न एक फोन समेत महानगरलाई गरेका छैनन् ।

कयौँ पटक प्रयास गरेरपनि असफल भएपछि पोखराका मेयर धनराज आचार्यले आजित भएर बुधबार सामाजिक सञ्जालमा लेखे, ‘फोहर विसर्जनका सन्दर्भमा हाम्रा राजनीतिक दल तथा स्थानीय साथीहरूको दोहोरो व्यवहारका कारण निष्कर्षमा पुग्न केही समय लागेको छ । पटक–पटक लुडो खेलजस्तै अवस्था दोहोरिनु परेको छ ।’ 

पोखरा महानगरपालिकाले फोहरको समस्या समाधानका लागि माघ अन्तिममा राजनीतिक दलहरूको प्रतिबद्धता लियो ।

IMG_4882

केही दिन फोहर उठ्यो, अहिले समस्या उस्तै छ । मेयर आचार्यले राजनीतिक दलहरूले प्रतिबद्धता जनाए पनि तल्लो तहको संरचनालाई सर्कुलर नगरेको गुनासो गरेका छन् । ‘राजनीतिक दलहरूले सभागृहमा हामी सपोर्ट गर्छौँ भनेर एकसाथ हात उठाउनुभएको हो । व्यवहारमा तलका साथीहरू भने अलि बढी आक्रामक देखिए,’ उनी भन्छन्, ‘यसमा अहिले सबै राजनीतिक दलको सहयोग छैन । पुराना पार्टीलाई गाली गरेर कोही उम्कन पाउँदैन, अवरोध गर्नेमा नयाँ पुराना सबै पार्टीहरू छन् ।’

सभागृहमा सहयोग गर्ने प्रतिबद्धता जनाएर निस्केपछि महानगरले २१ नम्बर वडामा अस्थायी व्यवस्थापनको योजना बनायो । नेकपा एमालेले विज्ञप्ति नै निकालेर फोहर नफाल्न चेतावनी दियो । वडा कमिटी अध्यक्षले जनस्वास्थ्यलाई ख्याल नगरी पर्यावरणलाई दीर्घकालीन असर पर्ने भन्दै फोहर ल्याउने काम तुरुन्त रोक्न भने । 

त्यसअघि ३३ नम्बर वडामा प्रशोधन केन्द्र निर्माणको तयारी थियो । ठेक्का समेत भइसकेर केन्द्र निर्माणको प्रक्रिया सुरु हुँदा स्थानीयहरूले अवरोध गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका वडा सभापतिले विज्ञप्ति निकालेर पोखरा ३३ मा प्रशोधन केन्द्र बन्न नदिने चेतावनी दिए ।

‘स्थायी समाधानका लागि अन्तर्राष्ट्रिय टेन्डर गरेर फोहोर प्रशोधन केन्द्रको सम्झौता गरिसकेका छौँ । चुनावपछि त्यो काम सुरु हुन्छ,’ मेयर आचार्यले अघि थपे, ‘तत्कालका लागि कम्तीमा एक वर्ष फोहोर विसर्जन गर्ने तीन वटा ठाउँ फाइनल गरेका छौँ । २१ गतेपछि त्यसलाई अगाडि बढाउँछौँ, अब काम रोकिँदैन ।’

 प्रशोधन केन्द्र निर्माणका लागि फिल्डमा काम सुरु भएपछि आसपासका नागरिक मिलेर ३३ नम्बर वडा कार्यालय घेरे । भोलिपल्ट पोखरा उपत्यका नगर विकास समिति अगाडि नाराबाजी लगाए ।

केही समयअघिसम्म पोखरा ३२ लामेआहालमा फोहर विसर्जन हुँदै आएको थियो । सेती नदी छेउको खोँच भरिएपछि फोहर उठ्न छोडेको हो । अस्थायी व्यवस्थापनका लागि विभिन्न ठाउँमा जग्गा खोजी गरेको महानगरले स्थानीयकै अवरोधका कारण काम गर्न पाएको छैन । 

IMG_4877

‘कतै मिलिसकेको कुरामा सरोकार नै नभएका व्यक्तिहरू गएर उचालिदिन्छन् । कतै अस्वाभाविक माग राखेर हैरान पार्छन्,’ आचार्य भन्छन्, ‘अहिले पनि ३ ठाउँ हेरेर ठिक्क पारिएको छ । अवरोध भएन भने अब फोहर उठ्छ ।’ 

महानगरले विमानस्थल वरपरको फोहर उठाएर व्यवस्थापन गरिसकेको छ । सडकमा बाँकी रहेका फोहर व्यवस्थापनका लागि बिहीबारदेखि गाडी पठाइने महानगले जनाएको छ ।

 उज्यालो नेपाल पार्टीका उम्मेदवार कुशल गुरुङ वैज्ञानिक तवरले दीर्घकालीन समाधानको उपाय खोज्नुपर्ने बताउँछन् । 

चुनावमा देश बनाउने सपना बाँडिरहेका उम्मेदवारहरु दैनिक गन्हाइरहेको फोहरबारे भने उतिसारो जिम्मेवार देखिएका छैनन् । महानगरले ३३ नम्बर वडामा फोहर प्रशोधन केन्द्र निर्माणका लागि ८० करोड लागतमा ठेक्का सम्झौता गरिसकेको छ । कतिपय उम्मेदवारहरु त भोट घट्ने डरले फोहरबारे बोलेकै छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप