लालपुर्जा, ग्रामीण सडक स्तरोन्नति र रोजगारीको अपेक्षामा छन् रुपन्देही–३ का मतदाता
सारांश
- रुपन्देही क्षेत्र नम्बर ३ का मतदाता सडक स्तरोन्नति र रोजगारीको अवसर नपाएको गुनासो गर्छन्।
- मतदाताहरू लालपुर्जा, शिक्षा, स्वास्थ्यमा सुधार र दिगो आम्दानीको चाहना राख्छन्।
- स्थानीय नेताहरूको विकास निर्माणमा योगदानको कमी र युवाहरू रोजगारीका लागि विदेशिनुपर्ने बाध्यताको बारेमा चर्चा गरिएको छ।
बुटवल । प्रतिनिधि सभा अन्तर्गत रुपन्देही क्षेत्र नम्बर ३ का मतदाता आफ्नो क्षेत्रमा पछिल्लो समय खासै विकास हुन नसकेको गुनासो गर्छन् ।
ठाउँ–ठाउँमा सडक सञ्जाल पुगे पनि, गाउँ–गाउँमा विद्युतीकरण भए पनि यहाँका मतदाताले चाहेको विकास भनेको सडकको स्तरोन्नति र रोजगारीका अवसर सिर्जना नै हो । कतिपय ठाउँमा लामो समयदेखि बसोबास गर्दै आएका मतदाताले जग्गाधनी पुर्जा (लालपुर्जा) पाउन सकेका छैनन् ।
आफूले चाहेको ‘विकास’कै परिभाषाभित्र उनीहरूले लालपुर्जा प्राप्तिलाई पनि समेटेका छन् ।
यस निर्वाचन क्षेत्रबाट ०७४ को निर्वाचनमा एमालेका तत्कालीन नेता घनश्याम भुसाल, ०७९ मा राप्रपाका दीपक बोहरा प्रत्यक्षतर्फ निर्वाचित भए । त्यसअघि संविधान सभा निर्वाचनमा नेपाली कांग्रेसका बालकृष्ण खाण निर्वाचित भएका थिए भने ०७४ को निर्वाचनमा उनी समानुपातिकतर्फबाट निर्वाचित भएका थिए । उनी रुपन्देही–३ बाटै प्रतिनिधित्व गर्छन् ।
यस बिचमा रुपन्देही–३ बाट प्रतिनिधित्व गर्ने भुसाल र खाण मन्त्री भए । बोहरा भने स्वास्थ्य प्रतिकूलताका कारण बोल्न नसक्ने अवस्थामै ०७९को चुनाव जितेर संसद् पुगेका थिए । बिरामी भएका कारण पछिल्लो कार्यकाल बोहराले खासै काम गर्न सकेनन् । २०८१ चैतमा उनको निधन भयो । यद्यपि पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय उनले यस क्षेत्रका अन्य जनप्रतिनिधिको तुलनामा विकास निर्माणमा धेरै काम गरेको मतदाताले सुनाए ।
भौतिक पूर्वाधारका क्षेत्रमा बोहराले पर्याप्त काम गरे पनि विभिन्न समयमा यस क्षेत्रबाट निर्वाचित अन्य जनप्रतिनिधिहरूले ती कामलाई निरन्तरता दिने, स्तरोन्नति गर्ने सवालमा खासै योगदान गर्न नसकेको सामान्य अवस्थाका मतदाताहरूको गुनासो छ ।
बुटवल उपमहानगरपालिका–१९ का मतदाता प्रकाश सोमरेका अनुसार क्षेत्र नम्बर ३ मात्र नभएर समग्र रुपन्देही जिल्लाको विकासमा नेकपा एमालेका विष्णु पौडेल र राप्रपाका दीपक बोहराको जति योगदान अन्य नेताको छैन । ‘अरु त नाममात्रका नेता हुन्,’ उनले भने, ‘हाम्रालागि खासै काम गरेनन् । आफन्त, नातागोता तथा आफ्नै कार्यकर्ताका लागि केही गरे होलान्, हाम्रालागि गरेनन् ।’
ग्रामीण क्षेत्रमा सडक, पुल, विद्युत् लगायतका संरचना बनेका तर तिनको स्तरोन्नति हुन नसकेको सोमरेको भनाइ छ । पेसाले कृषक उनी जसोतसो गुजारा चलिरहेको बताउँछन् । छोराछोरी हुर्किसकेकाले उनलाई तिनका लागि देशमै उचित रोजगारीको अवसर सिर्जना होस् भन्ने चाहना छ ।
बुटवल–१८ का तारा राना पनि सडक स्तरोन्नति हुन नसकेको बताउँछन् । ४ वटा भैंसी पालेका उनले दुध बेचेरै गुजारा चलाउँदै आएका छन् । उनले भने, ‘दिगो आम्दानी हुने अरु बाटो नभएपछि भैंसी पालेर गुजारा चलाइरहेको छु ।’
निर्वाचन आए पनि आफूहरूलाई कुनै उत्साह नरहेको रानाले बताए । ‘जसलाई जिताए पनि हामीजस्ता सामान्य मानिसका लागि केही गरिदिने होइनन्,’ उनले भने, ‘मजदुरी गरेर खान्छु भन्नेहरूका लागि काम, मेहनत अनुसारको दाम भइदिए हामीलाई के चाहिने हो र ?’
शिक्षा, स्वास्थ्य क्षेत्रमा सुधार, सडक तथा नाला स्तरोन्नति भइदियोस् भन्ने उनको चाहना छ । जेनजी आन्दोलनपछि देशमा परिवर्तनको लहर देखिएको भन्दै उनले यो चुनावबाट देशले काँचुली फेर्ने अपेक्षा गरे ।
शुद्धोधन नगरपालिका–३ का रुक्माङ्गत जैशी शर्माले रोजगारी, शिक्षा र स्वास्थ्य क्षेत्रमा राज्यले धेरै काम गर्न बाँकी रहेको बताए । उनले वर्षौंदेखि बसोबास गर्दै आएका घरपरिवारले अहिलेसम्म लालपुर्जा पाउन नसकेकोमा पनि गुनासो गरे । ‘हामी अहिले आएर यहाँ बसेको होइन, दशकौँ बितिसक्यो,’ उनले भने, ‘उतिबेलैदेखि जोतभोग गरिरहेको जग्गाको लालपुर्जा दिन किन आनाकानी गरिरहेका हुन् भन्ने बुझ्न सकिएको छैन ।’
हरेक चुनावमा ‘लालपुर्जा दिलाउँछौँ’ भनेर विभिन्न दलका नेता भोट माग्न आए पनि जितेर गइसकेपछि सरकारमा पुग्दासमेत तिनै नेताले बेवास्ता गरेको शर्माको गुनासो छ । ‘कानुन नपुगेको भए कानुन बनाउने ठाउँमै हामीले पुर्याइदिएका ती नेताले आवश्यक सुधार गर्नुपर्थ्यो नि,’ उनले भने, ‘संसदले एउटा मापदण्ड बनाएर लालपुर्जा दिने भनेर निर्णय गर्न सक्दैन र ? हरेक चुनावमा भोट माग्ने बहाना बनाउनकै लागि यिनले लालपुर्जाको समस्या थाँती राखेका हुन् कि भन्ने पो लाग्छ ।’
सिद्धार्थनगर नगरपालिका–८ का प्रेम केसीले सरकारमा पुग्नेहरूले रोजगारीका अवसर सिर्जना गर्ने, भ्रष्टाचार अन्त्य गर्ने दिशामा प्रभावकारी काम गर्न नसकेको गुनासो गरे । उनले भने, ‘रोजगारीको अवसर नभएपछि युवाहरू बाध्य भएर विदेश जान्छन् । अहिले त्यही भइरहेको त हो ! यहीँ रोजगारी पाए बाउआमा, छोराछोरी छाडेर कोही विदेश जान्छ ?’
यो चुनावमा मतदाताले गठबन्धन सरकार बन्ने गरी नभई एउटै दलको बहुमत पुग्ने गरी मत दिनुपर्ने केसीको तर्क छ । उनले भने, ‘बहुमत कसैको पनि नपुग्दा दुई–तीन वटा पार्टी मिलेर सरकार बनाउनुपर्ने हुन्छ । अनि कसरी विकास होस् ?’
सिद्धार्थनगर नगरपालिका–९ का पुण्यप्रसाद उपाध्याय विकास निर्माण र रोजगारीका अवसर सिर्जना गर्न सक्ने युवा नेतृत्व चयन गर्नुपर्ने बताउँछन् । ‘भौतिक संरचना निर्माण गर्दैमा विकास भयो भन्ने हुँदैन रहेछ भन्ने कुरा हामीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबाटै बुझ्न सक्छौँ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय विमानस्थल त बन्यो, तर अन्तर्राष्ट्रिय उडान नै छैन ।’
नेताहरूले आफ्नो घडेरी (जग्गा)को मूल्य बढाउने उद्देश्यले मात्र हचुवाको भरमा विमानस्थलको योजना अघि बढाएर राज्यको सम्पत्ति दुरुपयोग गरेको उनको तर्क छ । ‘एयरपोर्ट बनाएरमात्र भयो त ? चल्नु परेन ?’ उनले भने, ‘अन्तर्राष्ट्रिय उडान गर्न नसक्ने एयरपोर्ट बनाउँदैमा विकास भयो ? खै त पर्यटक आएको ? विमान चले पो पर्यटक आउँछन् ।’
विकासका नाममा हचुवाका भरमा संरचना निर्माण गर्नेभन्दा पनि दिगो विकासको खाका कोरेर राज्य र जनतालाई प्रतिफल हुनेगरी काम गर्ने नेतृत्वको खाँचो रहेको उनले बताए ।
ओमसतिया गाउँपालिका–२ का खेमराज खरेल मुलुकमा रोजगारीका अवसर नभएको बताउँछन् । रोजगारीकै लागि युवा जनशक्ति विदेश जानुपर्ने बाध्यता अन्त्य गर्न देशमै उद्योगधन्दा खोल्नुपर्ने उनले प्रस्ट पारे ।
उनले भने, ‘भएका सरकारी उद्योग नेताहरूले बेचेर खाए । अनि युवाले कसरी रोजगारी पाउँछन् ?’ रोजगारी सिर्जनाका साथै बाटोघाटोको स्तरोन्नति गर्ने, शिक्षा र स्वास्थ्यको गुणस्तर अहिलेको मुख्य आवश्यकता भएको उनले बताए ।
रोजगारी सिर्जनाका लागि उद्योगधन्दा खोल्ने वातावरण सरकारले बनाउनुपर्ने खरेलको तर्क छ । ‘विगतमा कपडा उद्योग, धागो कारखाना, टायर उद्योग खुलेका थिए,’ उनले भने, ‘ती उद्योगमा हजारौँले रोजगारी पाउँथे । भएका उद्योग मासेर खाइसके । अब त्यस्ता उद्योग फेरि सञ्चालन गर्ने सोच भएका नेता देशले खोजेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
-
मेस्सीको कीर्तिमानपछि अब नजर रोनाल्डोमा
-
लुम्बिनी प्रदेश सभा बैठक आधा घण्टाका लागि स्थगित
-
शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण