शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
निबन्ध

टुँडिखेल जस्तो तिम्रो निधार

शनिबार, १६ फागुन २०८२, ०९ : ००
शनिबार, १६ फागुन २०८२

सारांश

  • महिलाहरूमाथि हुने शारीरिक बनावटसम्बन्धी टिप्पणीबारे लेखिएको निबन्ध हो।
  • लेखकले अरूको आलोचनाले महिलाको आत्मविश्वासमा पार्ने नकारात्मक असरबारे चर्चा गरेकी छिन्।
  • सामाजिक सञ्जालमा आउने नकारात्मक टिप्पणीले मानिसलाई डिप्रेसनतर्फ लैजान सक्ने सम्भावनाबारे निबन्धमा उल्लेख छ।

ओहो ! सलु तिमी त कति दुब्लाएकी ! लौ न के भयो ? सबै कुरा त ठीक छ नि ? प्रायः हामी दिदीबहिनीहरू आफ्नो साथीभाइ वा इष्टमित्रसँग भेट हुँदा बोलिने पहिलो वाक्य हो यो । कति मोटाएकी, कति काली भएकी, कस्तो अनुहार बिग्रिएको आदि, इत्यादि ।

अझ सबैभन्दा भद्दा कुरा त अरूले हाम्रो शारीरिक बनावटलाई लिएर गरेको टिप्पणी हुन्छ । 'ओहो ! सलु, तिम्रो कुम कति ठूलो, अनि तिम्रा आँखा त के हुन् तिलका गेडा जस्ता छन् त ! अनि तिम्रो त्यो निधार त टुँडिखेल जस्तो पो देखिन्छ त, अलि कम हाँस है दाँत कोदालो जस्ता देखिए, तिम्रो अलिकति हाइट पुगेन है' आदि !

मेरा शुभचिन्तकहरूबाट प्रायः सुनिने आलोचनाले एक समय मेरो आत्मविश्वास सर्लक्कै तल झारेको थियो । म आफ्नो शारीरिक बनावट र सौन्दर्यलाई लिएर एकदमै धेरै सचेत हुन थालेकी थिएँ ।

म आफ्नो निधार सकेसम्म छोप्ने कोसिस गर्थेँ । साथीभाइको बीचमा हाँस्न निकै कम गरिसकेकी थिएँ । तर, समय र उमेरसँगै अर्काको आलोचना पचाउन सक्ने गरी आत्मबल बढाउँदै गएँ ।

संसारमा कुन चाहिँ मानिस पूर्ण हुन्छ र ? एकाध खोट त हरकोहीमा हुन्छ नि ! फेरि हाम्रा शुभचिन्तकहरूले हाम्रा तिनै एक–दुईवटा खोट मात्र देख्ने हुन् । बाँकीका तमाम राम्रा कुरामा उनीहरूको आँखै पुग्दैन ।

फेरि हाम्रा यिनै फरकपनाले गर्दा त हामी हरेक मानिस यो संसारका अरबौँ मानिसभन्दा भिन्न छौँ नि ! त्यसैले त हामी सबै आफैँमा खास र विशेष छौँ ।

हाम्रो शारीरिक बनावट र रूपरङका बारेमा हामी आफूलाई के थाहा जति अरूलाई हुन्छ । हाम्रा हरेक अङ्गका एक–एक इन्चको विवरण सबै अरूसँगै हुन्छ । र, नहोस् पनि कसरी, आलोचनाका लागि दह्रो तथ्याङ्क पनि त चाहियो ।

अब आफैँ भन्नुस्, हाम्रो शारीरिक बनोट, नाक–नक्सा वा रूपरङ कस्तो हुनुपर्छ भन्नेमा के हाम्रो निर्णय चल्छ ? के यसलाई हामी आफैँले चाहेजस्तो बनाउन सक्छौँ ? हुन त आजकल कस्मेटिक सर्जरीद्वारा केही हदसम्म आफ्नो रूपरङ र स्वरूपमा परिवर्तन गर्न सकिएला ।

तर पनि हामी साधारण मानिसलाई त आफूलाई जस्ताको त्यस्तै स्वीकार्नबाहेक अरू केही विकल्प छ त ?

फेरि हाम्रा यिनै फरकपनाले गर्दा त हामी हरेक मानिस यो संसारका अरबौँ मानिसभन्दा भिन्न छौँ नि ! त्यसैले त हामी सबै आफैँमा खास र विशेष छौँ ।

वास्तविक कुरा गर्ने हो भने हामी कसलाई राम्रो देखिन मन लाग्दैन र ? त्यसैले त आजको डिजिटल जमानामा फोटो एडिटर वा फिल्टर जस्ता एपहरू प्रयोग गरेर हामी डिजिटल संसारमै भए पनि राम्रो देखिने कोसिस गर्छौं र रमाउँछौँ ।

यो हाम्रो रहरभन्दा धेरै बाध्यता हो । अरूका भद्दा आलोचनाहरूबाट जोगिनकै लागि पनि हामीलाई आफ्नो प्राकृतिक रूप र स्वरूप लुकाउनु परेको छ ।

तर पनि मानिसले हाम्रो आलोचना गर्न कहाँ छोड्छन् र ? अब त उनीहरूलाई झन् सजिलो पो भएको छ । आलोचना गर्न धाइधाइ कतै जानै नपर्ने । हातमा मोबाइल लियो अनि मनलाग्दी कमेन्ट टाइप गरे भैगो ।

कोही जन्मजात नै मोटा र दुब्ला हुन्छन् । उनीहरू आफैँलाई आफ्नो शारीरिक बनोटका बारेमा थाहा हुन्छ, अब त्यस्तोमा पनि घोचीघोची त्यही कुरा भन्नु कति उचित हो ?

दिनदिनै हाम्रो जीवन झन्झन् कष्टप्रद हुँदै गएको छ । पहिलापहिला भेटेपछि मात्रै आलोचना सुनिन्थ्यो तर अब त भौतिक र भर्चुअल दुवै प्रहार एकैसाथ झेल्नु परेको छ ।

फेरि आजकल कुरौटेहरू खोज्न कहाँ टाढा जानुपर्छ र ! हाम्रा आफ्नै शुभचिन्तक नै पर्याप्त हुन्छन् । खुसी भएको त देख्नै नसक्ने । मानौँ अर्काको रूपरङ, नाप–नक्साको कुरा काटेमा उनीहरूलाई मीठो निद्रा लाग्छ ।

कोही जन्मजात नै मोटा र दुब्ला हुन्छन् । उनीहरू आफैँलाई आफ्नो शारीरिक बनोटका बारेमा थाहा हुन्छ, अब त्यस्तोमा पनि घोचीघोची त्यही कुरा भन्नु कति उचित हो ?

बरु, 'ओहो ! तपाईं त पहिलेभन्दा धेरै फिट पो हुनुभएछ' भनी दुईचार मीठा शब्द बोलिदिँदा उनको के जान्थ्यो र ? तर मानौँ आफ्नै बैङ्क ब्यालेन्स घट्छ झैँ गर्छन् उनीहरू ।

मोटालाई अलि घट्नुभएछ र दुब्लालाई फेरिनुभएछ भन्दा उनीहरूको आत्मबल बढ्छ भने भन्न किन हिचकिचाउने ? कोही अनुहारको चायापोतोले ग्रसित हुन्छन् । कसैलाई दुबीले ग्रस्त बनाएको हुन्छ । तर, उनीहरूलाई पनि दुर्वाच्य वचनले पोल्नु कत्तिको राम्रो हो ?

खासमा झट्ट हेर्दा हाम्रो प्रतिस्पर्धा अरूसँग भएजस्तो लाग्छ तर वास्तवमा हाम्रो प्रतिस्पर्धा आफैँसँग हुने गर्छ । भन्नुको अर्थ मानिस हरेक क्षण आफ्नै सांसारिक जीवनको तनावसँग जुधिरहेको हुन्छ । त्यसमा कसैले शारीरिक बनोटमाथिको टिप्पणी गर्दा त्यसले आम मानिसलाई झनै विक्षिप्त बनाउने गर्छ ।

त्यस्तै एकदिन टिकटकमा एउटा भिडियो भाइरल भयो । भिडियोमा बोल्ने युवती ‘सबैले मलाई तँ राम्री छैनस् भन्छन्, अब म बाँच्नुको कुनै अर्थ नै छैन’ भनी रुँदै लाइभ आत्महत्याको प्रयास गर्दै थिइन् ।

कसैको थाइराइडका कारण शरीरको वजन असन्तुलित हुन सक्ला भने कसैले खास औषधि सेवन गर्नुपर्ने हुनाले अनुहारमा चायापोतो आएको हुन सक्ला वा भनौँ कसैको कपाल झरेको हुन सक्ला । त्यस्तोमा हाम्रो सामान्यजस्तो लाग्ने टिप्पणीले उनीहरूको मनोविज्ञान र आत्मबलमा धेरै ठूलो चोट पुर्‍याइरहेको हुन्छ ।

झन्डै एक वर्षअघिको कुरा हो । लेडिज होस्टलमा सँगै बस्ने साथीले अर्की साथी आफूभन्दा धेरै राम्री भई भनेर हत्या गरेको खबर हामी सबैले सुनेकै छौँ होला । अनि भन्नुस् त, कसैको शारीरिक बनोट र रूपरङबारे गरिएको टिप्पणीले केसम्म निम्त्याउने रहेछ !

त्यस्तै एकदिन टिकटकमा एउटा भिडियो भाइरल भयो । भिडियोमा बोल्ने युवती ‘सबैले मलाई तँ राम्री छैनस् भन्छन्, अब म बाँच्नुको कुनै अर्थ नै छैन’ भनी रुँदै लाइभ आत्महत्याको प्रयास गर्दै थिइन् । यस्तोमा के भन्न सकिन्छ भने हिजोआजको भर्चुअल युगमा मानिसलाई उनीहरूको सामाजिक सञ्जालमा आउने टिप्पणीले पनि मनोवैज्ञानिक रूपमा प्रभाव पारेको हुन्छ ।

त्यो भिडियो हेरेको दिन मलाई आफ्नी छोरीको पीरले धेरै सतायो । किनभने हामी महिलाहरू आफ्नो शारीरिक रूपरङलाई लिएर धेरै नै संवेदनशील हुन्छौँ । मैले त बुझौँला तर मेरी छोरीको मनोविज्ञान ? उसको मनोविज्ञानलाई बुझ्न म पनि चुकेकी हुन सक्छु ।

डिजिटल युगको सुरुवातसँगै हामी मानसिक र भावनात्मक रूपमा झनै बलियो हुनुपर्ने जरुरी छ । नत्र एकाधका टिप्पणीले हामीलाई अवसादतर्फ (डिप्रेसन) लैजाने सम्भावना पनि त्यति नै छ । सामाजिक सञ्जालले त्यसै पनि मानिसमा अवसाद झन्झन् बढाउँदै लगेको छ ।

त्यसैले सकिन्छ राम्रै बोलौँ, सकिँदैन भने पनि अरूको शारीरिक हाउभाउ र बनोटमाथि टिप्पणी नगरौँ । सबैको मानसिक अवस्था एकनासको नहुन सक्छ । कमजोर आलोचनात्मक चेत भएकालाई सानो टिप्पणीले पनि दुर्घटनातर्फ डोर्‍याउन सक्छ ।

कतै हामीले गर्ने टिप्पणीले अरूलाई आघात पो परेको छ कि भन्नेतर्फ पनि त्यति नै ध्यान दिऊँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सलुजा बस्नेत
सलुजा बस्नेत
लेखकबाट थप