रुपन्देही–२ मा प्रमुख दलका उम्मेदवारले कस्ता एजेन्डा बोकेका छन् ?
सारांश
- रुपन्देही क्षेत्र नम्बर २ मा उम्मेदवारहरू चुनाव प्रचारमा जुटेका छन्, जसमा विष्णुप्रसाद पौडेल एमालेबाट प्रतिस्पर्धा गर्दै छन्।
- कांग्रेसका चुन्न प्रसाद शर्मा, रास्वपाका सुलभ खरेल र नेकपाका शुभाष पाण्डे लगायतका उम्मेदवारहरू पनि चुनावी प्रतिस्पर्धामा छन्।
- उम्मेदवारहरूले विकास निर्माण, रोजगारी, र सुकुम्बासी समस्या समाधानका मुद्दालाई प्राथमिकतामा राखेका छन्।
बुटवल । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत रुपन्देही क्षेत्र नम्बर २ मा उम्मेदवारहरू चुनाव प्रचार प्रसारमा तीव्र रूपमा जुटेका छन् । यहाँ पूर्वमन्त्री विष्णुप्रसाद पौडेल एमालेबाट उम्मेदवार छन् । यसअघि उनी यसै क्षेत्रबाट निर्वाचित भएका थिए ।
पौडेललाई यस क्षेत्रको ‘हेभीवेट’ उम्मेदवार मानिएको छ । यद्यपि नेपाली कांग्रेसले पनि स्थानीयस्तरमा लोकप्रिय रहेका अनुहारलाई उम्मेदवार बनाएको छ । कांग्रेसबाट यहाँ चुन्न प्रसाद शर्मा उम्मेदवार छन् ।
०७९ को निर्वाचनमा यस निर्वाचन क्षेत्रमा वैकल्पिक शक्तिका रूपमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि राम्रो मत पाएको थियो । त्यतिबेला रास्वपाका उम्मेदवार गणेश पौडेलले २५ हजार ७९५ मत पाएका थिए । जबकि एमालेबाट निर्वाचित पौडेलले २७ हजार १६५ मत पाएका थिए ।
आसन्न निर्वाचनमा यस क्षेत्रमा रास्वपाले सुलभ खरेललाई उम्मेदवार बनाएको छ । रास्वपाको पक्षमा उर्लिएको लहरका कारण अहिले यो पार्टीले अघिल्लो निर्वाचनको तुलनामा मत बढाउन सक्ने आकलन गरिएको छ । यसर्थ यस क्षेत्रमा रास्वपा पनि बलियो प्रतिस्पर्धी मानिएको छ ।
नेपाली कम्युनिस्ट पार्टीले शुभाष पाण्डेलाई उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा यहाँ अहिले नेपाली कम्युनिस्ट पार्टीमा रहेका तत्कालीन माओवादी केन्द्र, एकीकृत समाजवादीले प्रत्यक्षतर्फ उम्मेदवारी दिएका थिएनन् । यी दलको समानुपातिक मत हेर्दा यहाँ नेकपाको संगठन कमजोर नै देखिन्छ ।
बुटवल उपमहानगरपालिकाका वडा नम्बर १ देखि १३ नम्बरसम्मका वडा, सैनामैना नगरपालिकाका १ देखि ४ नम्बरसम्मका वडा र तिलोत्तमा नगरपालिकाका १ देखि ६ नम्बरसम्मका वडा यस निर्वाचन क्षेत्रमा पर्दछन् । यो निर्वाचन क्षेत्र विकास निर्माणका दृष्टिले अगाडि नै भए पनि मजदुरी गरेर खाने वर्गका लागि रोजगारी, अव्यवस्थित बसोबासी तथा सुकुमबासीका लागि जग्गाधनी पुर्जाजस्ता मुद्दा प्राथमिकतामा परेका छन् ।
अघिल्ला निर्वाचनमा सबैजसो उम्मेदवारले लालपुर्जा वितरण, रोजगारीका अवसर सिर्जना, भौतिक संरचनाको विकासजस्ता एजेन्डा बोकेर भोट माग्न आएको यहाँका मतदाताले रातोपाटी प्रतिनिधिलाई सुनाए । यद्यपि ती क्षेत्रमा खासै काम नभएको उनीहरूको गुनासो थियो ।
यहाँका उम्मेदवारले अहिले विभिन्न एजेन्डा बोकेर मतदातासँग भोट मागिरहेका छन् । उनीहरूले विकास निर्माण, भूमिहीन तथा सुकुमबासी समस्या समाधान, अव्यवस्थित बसोबासीका मुद्दालाई प्राथमिकतामा राखेको पाइन्छ । कतिपय मतदाता पुराना दलले बारम्बार प्रतिबद्धता जनाएर पनि आफूहरूका समस्या समाधानमा चासो नदेखाएको भन्दै यस पटक परिवर्तनको पक्षमा उभिने खुलेरै बताउँछन् ।
विकास निर्माणलाई देखाएर मत माग्दै एमालेका उम्मेदवार पौडेल
नेकपा एमालेका उम्मेदवार विष्णुप्रसाद पौडेलका लागि यो निर्वाचन क्षेत्र र संसदीय निर्वाचन नौलो होइन । यहीँबाट निर्वाचित भएर उनी पटक–पटक अर्थमन्त्री भइसकेका छन् । उनले यस क्षेत्रमा अघि सारेका विभिन्न विकास निर्माणका योजनालाई देखाएर अहिले मतदातासँग भोट मागिरहेका छन् ।

रातोपाटीले राखेको जिज्ञासामा आफ्ना एजेन्डा सुनाउँदै पौडेलले विकास निर्माण, खासगरी पूर्वाधारका क्षेत्रमा विगतमा धेरै ठुला काम भएको बताए । ‘हामीले यस निर्वाचन क्षेत्रका साथै सिङ्गो रुपन्देही जिल्लामा पूर्वाधारका क्षेत्रमा युगान्तकारी काम गरेका छौँ,’ उनले भने, ‘अहिले मैले विगतमा सम्पन्न भएका ठुला आयोजनाको प्रभावकारी व्यवस्थापन गर्ने, विकास निर्माणका थप कामलाई अघि बढाएर यहाँका बासिन्दाको जीवनस्तर उकास्ने नै मेरो मुख्य एजेन्डा हो ।’
निर्माणाधीन अवस्थामा रहेका कतिपय आयोजनालाई समयमै निर्माण सम्पन्न गराउने, केही थप महत्त्वपूर्ण ठुला आयोजना सुरु गर्ने पनि पौडेलले आफ्नो एजेन्डाका रूपमा प्रस्तुत गरे ।
यस क्षेत्रका विद्यार्थी विद्यालय शिक्षा तथा उच्च शिक्षाका लागि देशका अन्य भाग वा विदेशमा जान नपर्ने गरी गुणस्तरीय शिक्षाको प्रवन्ध पनि आफ्नो एजेन्डा रहेको पौडेलले प्रस्ट पारे । त्यसैगरी स्वास्थ्योपचारका लागि पनि यहाँका मानिस बाहिर जान नपर्ने गरी स्वास्थ्य क्षेत्रमा गुणस्तर विकास आफ्नो प्राथमिकतामा रहने उनले बताए ।
बुटवल–नारायणघाट सडकको स्तरोन्नति, बुटवल–गोरुसिङ्गे सडक, सिद्धबाबा सुरुङमार्ग, प्रदेशिक अस्पताल तथा मेडिकल कलेज लगायतका आयोजना निर्माणाधीन रहेको भन्दै तिनलाई चाँडै सम्पन्न गर्नका लागि आफूले जोड दिने उनको भनाइ छ । सिद्धार्थ राजमार्गलाई द्रुतमार्गका रूपमा स्तरोन्नति गर्ने प्रक्रिया पनि आरम्भ गरिने र कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजनको पूर्वतयारी सम्पन्न गरी कार्यान्वयनमा लैजाने उनले बताए ।
यस क्षेत्रका विद्यार्थी विद्यालय शिक्षा तथा उच्च शिक्षाका लागि देशका अन्य भाग वा विदेशमा जान नपर्ने गरी गुणस्तरीय शिक्षाको प्रवन्ध पनि आफ्नो एजेन्डा रहेको पौडेलले प्रस्ट पारे । त्यसैगरी स्वास्थ्योपचारका लागि पनि यहाँका मानिस बाहिर जान नपर्ने गरी स्वास्थ्य क्षेत्रमा गुणस्तर विकास आफ्नो प्राथमिकतामा रहने उनले बताए ।
‘रोजगारी, स्वरोजगार, आय आर्जन, उत्पादन जस्ता विभिन्न दृष्टिकोणले आइटी, पर्यटन क्षेत्रको समग्र विकास गर्ने मेरो एजेन्डा हो,’ पौडेलले भने, ‘यो निर्वाचन क्षेत्रका साथै समग्र रुपन्देही जिल्लालाई विकासको अग्रभागमा खडा गर्ने गरी विभिन्न योजना अघि बढाउने मेरो लक्ष्य छ ।’
सामाजिक कार्य र नेतृत्व परिवर्तनलाई देखाउँदै कांग्रेसका शर्मा
नेपाली कांग्रेसका चुन्न प्रसाद शर्मा भने विगतमा यस क्षेत्रमा आफूले गरेका सामाजिक कार्य तथा पार्टीमा हालै भएको नेतृत्व परिवर्तनलाई देखाएर मतदातासँग भोट मागिरहेका छन् ।
मा अव्यवस्थित बसोबासीलाई लालपुर्जाका साथै विभिन्न ठाउँमा खानेपानी, शिक्षा, स्वास्थ्यको समस्या रहेको बताए । गौतम बुद्धको जन्मस्थल लुम्बिनी पनि नजिकै भएकाले यस क्षेत्रमा पर्यटनको पर्याप्त सम्भावना भएर पनि त्यस अनुसार काम हुन नसकेको उनको भनाइ छ । आर्थिक क्षेत्रलाई चलायमान बनाउने खाँचो पनि आफूले महसुस गरेको उनले प्रस्ट पारे ।
शिक्षा, रोजगार, स्वास्थ्य, पर्यटन लगायतका क्षेत्रमा समुचित विकास हुन नसकेको शर्माले बताए । यस निर्वाचन क्षेत्रलाई महिला, बालबालिका, युवा र प्रविधिमैत्री बनाउने आफ्नो मूल लक्ष्य र एजेन्डा रहेको उनले सुनाए ।
रास्वपाका खरेल परिवर्तनको लहर देखाउँदै
रास्वपाका उम्मेदवार सुलभ खरेल भने देशमा उर्लिएको परिवर्तनको लहरलाई देखाएर मतदातासँग भोट मागिरहेका छन् । केहीबेर हामीले पछ्याउँदा उनी मतदातासँग खासै नबोल्ने, हात जोडेर नमस्कार गर्दै गल्ली–गल्लीमा डुलेर प्रचार गरिरहेको पायौँ ।
रातोपाटीले खरेलसँग उनका योजनाबारे जिज्ञासा राख्दा ‘मिडियासँग नबोल्ने’ भन्दै उनी पन्छिए ।
नेकपाका पाण्डेको एजेन्डा विकास निर्माण र प्राप्त उपलब्धिको रक्षा
नेकपाका शुभाष पाण्डे भने संविधान जोगाउन, ०६२/०६३ को जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्नका साथै विकास निर्माणका काम अघि बढाउन भन्दै मतदातासँग भोट मागिरहेका छन् ।
पछिल्लो समय विभिन्न पार्टी मिलेर बनेको नेकपाले परिवर्तनप्रतिको जनचाहनालाई आत्मसात् गरेर अघि बढ्ने पाण्डेले प्रस्ट पारे ।
आफूले मुख्यतः दुई एजेन्डा अघि सारेको पाण्डेले बताए । संविधानको रक्षा र समृद्ध रुपन्देही नै आफ्नो मुख्य एजेन्डा रहेको उनले प्रस्ट पारे ।
लामो संघर्षबाट प्राप्त संविधानको रक्षा र यो व्यवस्थाको प्रभावकारिताको पक्षमा दृढतापूर्वक उभिनुपर्ने उनले बताए । मुलुकमा व्याप्त भ्रष्टाचारले आम नागरिकमा असन्तुष्टि बढाएको चर्चा गर्दै उनले जनताका प्रतिनिधिले यस्ता खराबीका विरुद्ध आवाज नउठाउँदा, कानुन निर्माण नगर्दा र स्वयं उनीहरू पनि यस्ता गतिविधिमा संलग्न भएका कारण आम मानिसमा पैदा भएको आक्रोशले भदौ २३ र २४ को घटना भएको प्रस्ट पारे ।
‘त्यो कसका कारण भयो भन्ने सबैले बुझेकै छन्,’ पाण्डेले भने, ‘त्यसपछि जे भइरहेको छ, त्यो राष्ट्र र राष्ट्रियताका लागि चुनौतीको विषय बनेको छ ।’ आफू त्यसमा दृढतापूर्वक देखिने गरी काम गर्ने उनको भनाइ छ ।
रुपन्देही जिल्लाले तमाम सम्भावना बोकेको चर्चा गर्दै उनले विकास र समृद्धिका लागि पर्याप्त काम गर्नुपर्ने खाँचो औंल्याए ।
विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी र व्यापारको केन्द्र बुटवल यसै निर्वाचन क्षेत्रमा पर्ने भन्दै पाण्डेले बुटवल, सैनामैना र तिलोत्तमा गरी तीनवटै क्षेत्र ऐतिहासिक धार्मिक पर्यटकीय थलो रहेको बताए । ‘यसरी भन्नुपर्दा रुपन्देहीको क्षेत्र नम्बर २ नै आर्थिक समृद्धिको प्रशस्त सम्भावना बोकेको क्षेत्र हो,’ उनले भने, ‘यहाँ कृषिदेखि उद्योग र व्यवसायसम्मको सम्भावना छ, तर दृष्टिकोण र कार्यान्वयनको योजना अभावले यसले मूर्त रूप लिन सकिरहेको छैन ।’
विगतका जनप्रतिनिधिहरूले यस हिसाबले यस क्षेत्रको विकासबारे नसोचेको पाण्डेको तर्क छ । यी सम्भावनालाई परिणाममा बदल्नु नै आफ्नो मुख्य प्राथमिकता रहेको उनले प्रस्ट पारे ।
राष्ट्रिय जनमुक्ति पार्टी पनि छैन कमजोर

रुपन्देही–२ मा राष्ट्रिय जनमुक्ति पार्टीलाई पनि कमजोर आँक्न नमिल्ने अवस्था छ । अघिल्लो निर्वाचनमा यस पार्टीका उम्मेदवार केशव बहादुर थापा मगर २२ हजार २७ मतसहित तेस्रो स्थानमा थिए । अहिले पनि उनी उम्मेदवार छन् ।
उनले विभेद, बेरोजगारी र भ्रष्टाचार अन्त्यलाई मुख्य एजेन्डा बनाएका छन् । देशको अर्थतन्त्र विकास र भौतिक संरचना निर्माणमा नेपाल र नेपाली समाज सुहाउँदो विधि आवश्यक रहेको उनको तर्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
-
रेकर्ड तोडेपछि क्लोजको प्रतिक्रिया : ‘मेस्सी नै सर्वकालीन उत्कृष्ट खेलाडी’
-
अल्जेरियाको शानदार पुनरागमन, जोर्डनलाई २–१ ले हराउँदै पहिलो जित दर्ता
-
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
-
धुलिखेल–खावा सडकमा असार १४ देखि टिपरलाई पूर्ण प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण