बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय
निर्वाचन

मताधिकारबाट महिला वञ्चित भएको नेपालको पहिलो निर्वाचन

मङ्गलबार, १९ फागुन २०८२, १६ : ००
मङ्गलबार, १९ फागुन २०८२

काठमाडौँ । नेपालमा सर्वप्रथम २००४ साल जेठ २९ गते काठमाडौँ म्युनिसिप्यालिटीको निर्वाचन भएको थियो । जेठ ३ गते तत्कालीन श्री ३ मोहन शमशेर राणाको घोषणाबाट मुलुकभर निर्वाचित नगरपालिका खडा गर्ने, त्यसमा मतदानबाट प्रतिनिधि छान्ने, प्रतिनिधि छान्दा सोच विचारपूर्वक असल, अनुभवी र लायक प्रतिनिधि मुलुकको उत्थानमा सहयोगी हुने आवश्यक ठानिएको थियो ।

त्यस निर्वाचनमा सर्वप्रथम काठमाडौँको सहरी क्षेत्रका जनताले आफ्नो प्रतिनिधि आफैँ छान्नका लागि मताधिकार प्रयोग गरेका थिए । निर्वाचन आयोगद्वारा प्रकाशित ‘नेपालको निर्वाचन इतिहास’ अनुसार १९७६ पुस २ गते तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले उच्च कुलीन वर्गका व्यक्ति हिँड्ने बाटो सफाइका लागि सफाइ अड्डा स्थापना गरेका थिए ।

सोही अड्डालाई २००३ साल फागुन २ गते प्रधानमन्त्री पद्म शमशेरले संस्थागत स्वरुप परिवर्तन गरी ‘म्युनिसिप्यालीटी’ स्थापना गरेका थिए ।

त्यतिबेला उत्तर महाराजगंज, दक्षिण बागमती, पूर्व धोवीखोला र पश्चिम विष्णुमती गरी यी चार किल्लाभित्र क्षेत्र कायम राखेर काठमाडौँ म्यूनिसिपलिटी रहने व्यवस्था थियो । चार किल्लाभित्रको क्षेत्रलाई विभाजित गरी २१ वडा कायम गरिएको थियो भने प्रत्येक वडाबाट एक–एक जना सदस्य छान्नुपर्ने व्यवस्था थियो ।

रोचक कुरा, प्रत्येक वडामा बसोबास गरेका २१ वर्ष उमेरभन्दा माथिका पुरुषले मात्र भोट हाल्ने व्यवस्था थियो । मतदाता संख्या कुल ६८ हजार ११८ थियो । त्यतिबेला २१ वडाबाट ६० देखि ६५ प्रतिशत मत खसेको अनुमान गरिएको थियो ।

भूवनलाल प्रधान प्रथम निर्विरोध निर्वाचित प्रतिनिधि बनेका थिए । २१ वडाबाट निर्वाचित जनप्रतिनिधि र १० जना मनोनीत गरी ३१ जनाको नगरपालिका बोर्ड गठन गरिएको थियो । ३१ जनामध्ये मनोनीत सदस्यबाट सभापति र निर्वाचित जनप्रतिनिधिबाट उपसभापति छनोट गर्ने व्यवस्था थियो । पहिलो सभापतिमा गेहेन्द्र शमशेर थापा र उपसभापतिमा शंकरदेव पन्त छानिएका थिए ।

निर्वाचित जनप्रतिनिधिहरू मध्ये तीन खण्ड सदस्यहरूले गोला प्रथाद्वारा हरेक वर्ष पदत्याग गर्नुपर्ने व्यवस्था थियो । तर मनोनीत र निर्वाचित जनप्रतिनिधिबिच मतभेद उत्पन्न हुँदा १६ जनाले राजीनामा दिएका थिए । बाँकी १५ जना २००७ सालको क्रान्तिसम्म कार्यरत थिए । त्यही वर्ष भक्तपुर र ललितपुरमा पनि निर्वाचन भएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप