सेनाले भन्यो, ‘निर्वाचन लक्षित भ्रामक सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको छ’
सारांश
- प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा भ्रामक सूचना फैलाइएकोमा सेनाको ध्यानाकर्षण भएको छ।
- सेनाले निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन सुरक्षा निकायहरूसँग समन्वय गरिरहेको जनाएको छ।
- निर्वाचन सुरक्षाका लागि सेनाले एकीकृत सुरक्षा योजनाअनुसार काम गरिरहेको बताएको छ।
काठमाडौँ । भोलि(बिहीबार) हुन लागेको प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा सामाजिक सञ्जाल तथा अन्य माध्यमहरूबाट सम्प्रेषण भइरहेका भ्रामक र अतिरञ्जित सूचनाप्रति सेनाले ध्यानाकर्षण भएको जनाएको छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले त्यस्ता सूचनालाई विश्वास नगर्न आम जनसमुदायलाई अपिल गरेको छ ।
जङ्गी अड्डाले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै नियोजित रूपमा फैलाइएका यस्ता गलत सूचनाहरूमा विश्वास नगर्न आग्रह गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘आसन्न निर्वाचनलाई निष्पक्ष र भयरहित तवरले सम्पन्न गराउन सबै सुरक्षा अङ्ग एवं सरोकारवाला निकायहरू समन्वयात्मक ढङ्गले काम गरिरहेको अवस्थामा प्रसारित असान्दर्भिक र अतिरञ्जित सामग्रीहरूप्रति नेपाली सेनाको गम्भीर ध्यानाकर्षण भएको छ ।’
सेनाले अन्य सुरक्षा निकायसँगको समन्वयमा संविधानले दिएको जिम्मेवारी अनुसार निर्वाचन सुरक्षाको काम गरिरहेको जनाएको छ। केही दिन अघि मतदान पुरा भएपछि सेनाले मतपेटिका ढुवानी गर्ने भन्नेबारे सञ्चार माध्यममा समाचार प्रकाशन भएको थियो ।
एकीकृत सुरक्षा योजना अनुसार सबै सुरक्षा निकायसँगको समन्वयमा मतपेटीका ढुवानीको सुरक्षा प्रदान गरिने सेनाले जनाएको छ।
सैनिक प्रवक्ता (सहायकरथी) राजाराम बस्नेतले एकीकृत सुरक्षा योजना अनुसार सेनाले काम गरिरहेको उल्लेख गर्दै मिस इन्फर्मेशन र डिस इन्फर्मेशनबारे सचेत रहन सबैलाई आग्रह गरिएको बताए । उनले भने, ‘सेनाले निर्वाचनलाई सुरक्षित रूपमा सम्पन्न गर्न आफ्नो भूमिका निर्वाह गरिरहेको छ ।’

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण