मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
मतदानस्थलबाट...

केपी ओलीले बालकोटमा मतदान गर्दा जे देखियो

बिहीबार, २१ फागुन २०८२, १८ : ३०
बिहीबार, २१ फागुन २०८२

सारांश

  • एमाले अध्यक्ष केपी शर्मा ओली मतदान गर्न बालकोटस्थित विद्यालय पुग्दा ठूलो भिड जम्मा भयो।
  • ओली मतदानका लागि आउने खबरले मिडियाकर्मी र मतदाताको भीड लागेको थियो, सुरक्षाकर्मीलाई भिड नियन्त्रण गर्न गाह्रो भयो।
  • मतदानपछि ओलीले मिडियालाई प्रतिक्रिया दिए, बालकोटमा एमाले उम्मेदवार महेश बस्नेतलाई पनि मिडियाले घेरे।

भक्तपुर । एमाले अध्यक्ष केपी शर्मा ओली जता पुग्छन्, भिड लागि नै हाल्छ । बिहीबार चुनावको दिन ओलीले मतदान गर्ने भक्तपुरस्थित बालकोटको महेन्द्र शान्ति माध्यमिक विद्यालयमा पनि भिड लाग्यो । जेनजी आन्दोलनपछिको चुनावमा पूर्वप्रधानमन्त्री ओली मतदान गर्न आउने खबर पाएपछि बालकोटमा स्वदेशी तथा विदेशी मिडिया पनि बाक्लै थिए । 

बिहान ७ बजेदेखि भक्तपुर क्षेत्र नम्बर २ मा पर्ने बालकोटको महेन्द्र शान्ति माध्यमिक विद्यालयमा मतदाताहरूको लामै लाइन देखिन्थ्यो । मतदातामा उत्साह देखिन्थ्यो, बिस्तारै चहलपहल बढिरहेको थियो । रातोपाटीको फेसबुक पेजबाट मैले लाइभ सुरु गरें । नजिकै गएर मतदाताहरूसँग कुराकानी गर्न अघि सरें । जब प्रहरीको नजर ममाथि पर्‍यो, उनीहरूले मलाई यहाँबाट हटाए । प्रेसको कार्ड देखाउँदा पनि प्रहरीले यहाँबाट लाइभ गर्न नमिल्ने भन्दै पन्छाए । नेपाल प्रहरीले बाक्लो सुरक्षा दिएको बालकोटमा पटक–पटक सेनाका गाडीहरू ओहोरदोहोर गरिरहेका थिए । 

साढे ११ बजे एमाले अध्यक्ष ओली मतदानका लागि बालकोट आउने सूचना पाएपछि मिडियाकर्मीहरू ओइरिन थाले । लाइभ गर्न युट्युबरहरू लस्कर थियो, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरू पनि ओलीले मतदान गरेको फोटो र भिडियो खिच्न तम्तयार भएर बसिरहेका थिए । मतदान गरिसकेका मतदाताहरू ओली आउन लागेको खबर पाएपछि पर्खिएर बसे । सुरक्षाकर्मीहरूले त्यहाँबाट हटाउने जति प्रयास गरे पनि कोही पछि हटेनन् ।
जेनजी आन्दोलनमा बालकोटको घर जलेपछि गुन्डुमा डेरामा बस्दै आएका पूर्वप्रधानमन्त्री ओली १२ बजेर १० मिनेटमा मतदानस्थल महेन्द्र शान्ति माध्यमिक विद्यालय आइपुगे । जसै उनी मतदानका लागि अघि बढे, भिड उनीतिरै सोझियो । मिडियाकर्मी मात्र होइनन्, मतदाताहरूले उनलाई घेरिहाले । 

camera-oli

झापा–५ बाट एमालेका उम्मेदवार ओली मतदानका लागि मतदानस्थल प्रवेश गरेपछि महेन्द्र शान्ति माध्यमिक विद्यालयको गेट लाग्यो । एकछिन अन्य मतदाताहरूलाई भित्र प्रवेश गर्न दिइएन । केही मतदाताले सुरक्षाकर्मीहरूलाई भित्र जान अनुरोध गरे पनि गेट खोलिएन । मिडियाकर्मीहरूको हुल अर्को गेटतिर पुग्यो, जहाँबाट ओली मतदानपछि निस्कँदै थिए । ओलीको प्रतिक्रिया लिन मतदानस्थलको गेटबाहिर मिडियाकर्मीको यति ठुलो भिड जम्मा भइसकेको थियो, सुरक्षाकर्मीले नियन्त्रण गर्नै सकेनन् । केहीबेर धकेलाधकेल नै चल्यो । ओली क्यामेराअगाडि बोल्न तम्तयार देखिन्थे, तर क्यामेराको भिडबिच ओलीको अनुहारै देख्न मुस्किल भयो । 

ओली मिडियाकर्मीहरूमाझ घेरिएकै बेला महेन्द्र शान्तिसँगैको घरको छतबाट एक जेनजी युवतीले निकै बेर घण्टी बजाइन् । ओली र सँगै हिँडिरहेकी उनकी पत्नी राधिका शाक्य दुवैले घण्टी बजेको आवाज सुने । तर, उनीहरूले कुनै प्रतिक्रिया दिएनन् । ओलीको वरिपरि भिड व्यवस्थापन र सुरक्षा दिँदै हिँडिरहेका कार्यकर्तालाई भने खपिनसक्नु भयो । कार्यकर्ताले पुलुक्क घरको छतमा उभिएकी ती युवतितर्फ हेरेर भने, ‘डीएसपीको छोरी होइन ? पर्ख, हामीले फोटो खिचेका छौँ । पछि हिसाबकिताब गर्छौं ।’ 

जेनजी युवतीले घरको छतबाट एकोहोरो घण्टी बजाइरहँदा एमाले समर्थकलाई भने गिज्याएजस्तो भान हुन्थ्यो । त्यो दृश्यले सञ्चारकर्मीको ध्यान खिच्यो । तर, ओलीको प्रतिक्रिया लिने हतारोले ती युवतीको फोटो र भिडियो कैद गर्ने कसैलाई फुर्सदै मिलेन ।

balkot-ghar

निकै बेरको धकेलाधकेलपछि तिनै जेनजी युवतीले छतबाट घण्टी बजाएको घरअगाडि ओलीले मिडियालाई प्रतिक्रिया दिए । ओलीको बाइट कैद गर्न स्वदेशी, विदेशी मिडियाको निकै रस्साकस्सी चल्यो । ओली गाडी चढ्ने बेला बुबाको काँध चढेका बालकले दुई हात जोड्दै ‘नमस्ते, नमस्ते बा’ भन्दै गरेको दृश्य मार्मिक देखिन्थ्यो । ओली गाडीमा गुण्डुतिर हुइँकिएपछि भक्तपुर क्षेत्र नम्बर २ का एमाले उम्मेदवार महेश बस्नेतलाई मिडियाले घेरे । 

भक्तपुर क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसबाट कविर राणा, एमालेबाट महेश बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजीव खत्री, नेपाली कम्युनिस्ट पार्टीबाट रामप्रसाद सापकोटा ‘दीपशिखा’, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट जन्मदेव जैशी लगायत ३२ जना उम्मेदवार छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र रौले
नरेन्द्र रौले
लेखकबाट थप