आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

कर्णालीका ९ क्षेत्रमा मतगणनाः एमाले कमजोर, नेकपा–कांग्रेस बराबर

रुकुम पश्चिममा प्रलोपा, जुम्लामा राप्रपा, सुर्खेत—२ मा रास्वपा
शुक्रबार, २२ फागुन २०८२, १६ : ४६
शुक्रबार, २२ फागुन २०८२

सुर्खेत । १० जिल्ला र १२ वटा निर्वाचन क्षेत्र रहेको कर्णालीका ९ वटा निर्वाचन क्षेत्रका नजिताहरू धमाधम आइरहेका छन् । 

हिमाली जिल्ला मुगु, डोल्पा र हुम्ला बाहेक सबै जिल्लाहरमा मतगणना भइरहेको हो । जसमा कालिकोटमा सबैभन्दा पहिले शुक्रबार बिहानैदेखि मतगणना सुरु भएको थियो । यस्तै रुकुमपश्चिम, सल्यान र जाजरकोटमा दिउँसोबाट मात्रै मतगणनाको काम भयो भने जुम्ला, सुर्खेतका २ क्षेत्र, दैलेखका २ क्षेत्रमा मध्याह्नअघि नै मतगणना सुरु भएको हो ।  

मतगणना निकै ढिलोगरी भइरहेको छ । हरेक निर्वाचन क्षेत्रको अवस्था हेर्दा अहिलेसम्म खसेको मतको ५० प्रतिशत पनि गणना भएको पाइँदैन । 

९ वटा प्रतिनिधि सभा क्षेत्रमा अपराह्न ४ बजेसम्म आएका परिणाम तथा विवरण अनुसार सुर्खेत–१, दैलेख–१ र जाजरकोटमा नेपाली कांग्रेसले अग्रता लिएको छ । यस्तै नेकपा एमालेले दैलेख–२ मा मात्रै लिड गर्न सकेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुर्खेत–२ मा अग्रसता बनाएको छ । 

यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सल्यान र कालिकोटमा अग्रता बनाएको छ भने जुम्लामा राप्रपाले । रुकुम पश्चिममा प्रलोपाले लिड गरिरहेको छ । 

रास्वपाको जबरजस्त उपस्थिति

कर्णाली परम्परागत राजनीतिक दलहरूको केन्द्र हो । तर यो पटकको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जबरजस्त उपस्थिति जनाइरहेको छ । ९ क्षेत्रमध्ये सुर्खेत–२ मा कांग्रेस–एमालेलाई पछि पार्दै रास्वपाले लिड गरिसकेको छ ।  

झण्डै ७ हजार मत गणना गर्दा रास्वपाका रमेशकुमार सापकोटाले १ हजार ९७४  मतसहित अग्रता लिएका छन् । यस्तै, नेकपा एमालेका कुलमणि देवकोटाले १ हजार ९१७ र कांग्रेसका नारायण कोइरालाले १ हजार ६६३ मत पाएका छन् । 

यस्तै नेपाली कम्युनिस्ट पार्टीका झकबहादुर मल्लले १ हजार २८० मत पाएका छन् । यहाँ सुरुमा कांग्रेसले र त्यसपछि एमालेले लिड गरिरहेकोमा ३ बजेपछि भने रास्वपाले लिड गर्न थालेको छ । यस्तै रास्वपाले दैलेख–१ र सल्यानमा दोस्रो नम्बरका लागि प्रतिस्पर्धा गरिरहेको छ भने सुर्खेत–१, दैलेख–२ मा तेस्रोमा छ । 

दुई नम्बरमा उक्लिने प्रयास गरिरहेको छ ।

शक्ति बस्नेत पछि, प्रभावकरको प्रभाव कायमै 

जाजरकोटमा पूर्वगृहमन्त्री शक्ति बस्नेत तेस्रो नम्बरमा छन् । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार बस्नेतलाई कांग्रेसका उम्मेदवार खड्कबहादुर बुढा र एमाले उम्मेदवार डम्बर सिंहले पछि पारेका छन् । पश्चिम जाजरकोटबाट सुरु भएको मतगणना अनुसार कांग्रेसका बुढाले ११ सय ४१, एमालेका सिंहले ३८१ र नेकपाका बस्नेतले २२३ मत पाएका छन् । रास्वपा चौथोमा छ । 

यद्यपि उता रुकुम पश्चिममा भने प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का जनार्दन शर्मा ‘प्रभाकर’ को प्रभाव कायमै छ । सुरुदेखि नै उनले लिड गरिरहेका छन्, त्यहाँ । 

झण्डै ३ हजार मतगणना गर्दा प्रलोपाका शर्माले ११ सय ७२, नेपाली कम्युनिस्ट पार्टीका गोपाल शर्माले ८६४, कांग्रेसका राजु केसीले ५१३ र रास्वपाले १०९ मत पाएको छ । रुकुम पश्चिममा प्रतिष्ठानको लडाइँ छ । प्रभाकर एकतामा सहभागी नभएर छुट्टै पार्टी गठन गरेपछि प्रचण्ड र उनीबिच प्रतिष्ठाको लडाइँ भएको हो । प्रचण्डले जनार्दनकै चेला गोपाललाई आफुसँग तानेर नेकपाबाट चुनाव लडाइरहेका छन् । 

सुर्खेत–१ र दैलेख–१ मा कांग्रेसको निरन्तर अग्रता

सुर्खेत–१ र दैलेख–१ मा कांग्रेसले आफ्नो निरन्तरतालाई उछिन्न दिएको छैन । सुरुवातदेखि नै यहाँ कांग्रेसले लिड गरिरहेको छ ।

पछिल्लो मतपरिणाम अनुसार दैलेख–१ मा १२ हजार ४७५ मत गणना गर्दा कांग्रेसकी बासना थापाले ४ हजार ४१९ सहित लिड गरिरहेकी छिन् भने एमालेका रविन्द्र शर्माले ३ हजार ४७१ मतसहित दोस्रोमा सीमित छन् ।
यसअघि रास्वपाका नन्दकिशोर बस्नेतले उनलाई उछिनेका थिए । पुनः उनले दोस्रो स्थान ओगटेका छन् । 

बस्नेतले २ हजार ९४९ मत पाएका छन् । नेपाली कम्युनिस्ट पार्टीका र्चित नेता अम्मर थापा भने ४ सय मतसहित चौथोमै सीमित छन् ।

यता सुर्खेत–१ मा कांग्रेसका विष्णुकुमार खड्का झण्डै १ हजार मतान्तरले अघि छन् । उनले पछिल्लो नतिजा अनुसार, २ हजार ५१० मत पाएका छन् भने एमालेका ध्रुवकुमार शाहीले १ हजार ६५४ मतसहित दोस्रो र तेस्रोमा रास्वपाका टेकबहादुर सिंहले १ हजार ४४२ मत पाएका छन् ।
यहाँ नेकपा चौथोमा सीमित छ । 

एमालेको कमजोर प्रदर्शन 

हालसम्मको नजिता अनुसार, कर्णालीमा एमालेको कमजोर प्रदर्शन देखिएको छ । दैलेख–२ मा मात्रै अहिलेसम्म लिड गर्न सकेको छ, त्यहाँ उक्त दलबाट लक्ष्मीप्रसाद पोखरेलले ९४२ मतसहित अगाडि छन् ।
कांग्रेसका दिक्पाल शाहीले ५९७, रास्वपा बखत शाहीले २४१ र नेकपाका योगेन्द्र शाहीले २२७ मत पाएका छन् । यहाँ धेरै मत बदर भएको पाइएको छ । झण्डै २५ सय मत गन्दा २३७ मत बदर भएका छन् ।

सल्यान र कालिकोटमा नेकपा र जुम्लामा राप्रपा 

सल्यानमा २५ सय ३० मत मतगणना गर्दा नेकपाका रमेश मल्ल १ हजार ८४ मतसहित निरन्तर अगाडि छन् । यहाँ आश्चर्य रुपमा रास्वपाका ललितकुमार चन्दले एमाले र कांग्रेसलाई पछि पारेका छन् । उनले ५०० मत पाउँदा कांग्रेसका केशबहादुर विष्टले ४७२ र एमालेका गुलाबजंग शाहले ३१९ मत पाएका छन् । 

कालिकोटमा नेकपाका उम्मेदवार पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही झण्डै हजार मतान्तरसहित अग्रस्थानमा छन् । उनले ७ हजार १७ मत पाउँदा एमालेका नगीन्द्र शाहीले ६ हजार ६८ मत पाएका छन् । यस्तै कांग्रेसका हर्षबहादुर बमले ४ हजार ९८५ र विप्लव माओवादीका खड्गबहादुर विश्वकर्मा ‘प्रभाण्ड’ले अहिलेसम्म २ हजार ८८० मत मात्रै पाए । 

यहाँ चर्चा प्रकाण्ड र महेन्द्रको थियो । दुई पूर्व सहकर्मीबिच प्रतिष्ठाको लडाइँ हुने भनिएको कालिकोटमा प्रकाण्ड महेन्द्रको प्रतिस्पर्धामै आउन सकेनन् । 

उता जुम्लामा राप्रपाका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले निरन्तर दोब्बर मतान्तरले लिड गरिरहेका छन् । उनलाई नेकपाका नरेश भण्डारीले पछ्याउने प्रयास गरे पनि सकिरहेका छैनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप