बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

सर्लाहीका चार वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता, कुन क्षेत्रको अवस्था कस्तो ?

शुक्रबार, २२ फागुन २०८२, २३ : १६
शुक्रबार, २२ फागुन २०८२

सर्लाही । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत सर्लाही जिल्लाका चार वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले अग्रता लिएका छन् ।

क्षेत्र नम्बर १, २ र ३ को तुलनामा क्षेत्र नम्बर ४ मा रास्वपा उम्मेदवारको अग्रता अन्तर तुलनात्मक रूपमा कम छ । बाँकी तीन वटा क्षेत्रमा भने रास्वपाका उम्मेदवारले निकटतम प्रतिस्पर्धीको तुलनामा फराकिलो मतान्तरसहित अग्रता बनाएका हुन् ।

पछिल्लो विवरण अनुसार क्षेत्र नम्बर १ मा रास्वपाकी उम्मेदवार नितिमा भण्डारी कार्कीले १४ हजार ६१६ मतसहित अग्रता लिँदा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मनोज कुमार देवकोटाले दुई हजार ५८४ मतमात्र पाएका छन् । यहाँ नेपाली कांग्रेसका शम्भुलाल श्रेष्ठ दुई हजार २४५ मतसहित तेस्रो स्थानमा छन् ।

क्षेत्र नम्बर २ मा रास्वपाका उम्मेदवार रबिन महतो १२ हजार ५८३ मतसहित अग्रस्थानमा रहँदा दोस्रो स्थानमा रहेका नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार महिन्द्र राय यादवले ३ हजार १५८ मतमात्र पाएका छन् । तेस्रो स्थानमा राष्ट्रिय मुक्ति पार्टी नेपालका राजेन्द्र महतोले एक हजार ४०८ मत प्राप्त गरेका छन् ।

क्षेत्र नम्बर ३ मा रास्वपाका नरेन्द्र साह कलवारले ११ हजार ७५ मतसहित अग्रता लिएका छन् । यहाँ नेपाली कांग्रेसका विनोद कुमार खनाल एक हजार ९२१ मतसहित दोस्रो स्थानमा छन् भने नेपाली कम्युनिस्ट पार्टीका नारायणकाजी श्रेष्ठले एक हजार ६५८ मत प्राप्त गरेका छन् ।

क्षेत्र नम्बर ४ मा भने रास्वपाका अमरेश कुमार सिंह ६ हजार २६४ मतसहित अग्रस्थानमा रहँदा नेपाली कांग्रेसका गगन कुमार थापा ३ हजार ६७१ मतसहित दोस्रो र नेकपा एमालेका अमनिश कुमार यादव ८९४ मतसहित तेस्रो स्थानमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप