सूर्यराज आचार्यको नजरमा पुराना दलको भोट घट्नुको रहस्य
सारांश
- निर्वाचनमा पुराना दलका उम्मेदवारहरूको मत घट्नुको कारण पुरानो भोट हाल्ने संयन्त्र भत्किनु हो।
- सामाजिक सञ्जालको पहुँच र कुशासनका कारण मतदाताले नेता र कार्यकर्ताको कुरा सुन्न छाडेका छन्।
- आचार्यका अनुसार, यो परिवर्तन लोकतन्त्रका लागि सकारात्मक संकेत हो र स्थानीय चुनाव गैरदलीय हुनुपर्छ।
काठमाडौँ । यसपटकको प्रतिनिधि सदस्य निर्वाचनहरूमा पुराना र ठुला भनिने दलका उम्मेदवारहरूको मत घटेको छ। यसको मुख्य कारण स्थानीय स्तरमा वर्षौंदेखि जरा गाडेर बसेको ‘सोलोडोलो’ भोट हाल्ने पुरानो संयन्त्र भत्किनु रहेको पूर्वाधारविद् सूर्यराज आचार्यले औँल्याएका छन्।
२०४६ सालपछि नेपाली समाजमा दलीय राजनीति यति सघन भयो कि सामाजिक गतिविधि, जन्ती–मलामी र पेशा–व्यवसाय सबैतिर दलीयकरण गहिरिँदै गयो। आचार्यका अनुसार चुनावमा भोट जुटाउन दलका स्थानीय नेता तथा अगुवा कार्यकर्ताको ठुलो भूमिका हुन्थ्यो । उनीहरूको केन्द्रीय नेतृत्वसँग सिधा पहुँच हुने र गाउँ ठाउँका विकास निर्माणदेखि सरकारी कामकाजसम्म प्रभाव रहने भएकाले आम मतदाताले उनीहरूलाई नै सत्ताको प्रतिनिधि मान्थे।
त्यतिबेला मतदाताले तिनै अगुवाको कुरा सुनेर सिङ्गो परिवारको भोट एउटै उम्मेदवारलाई हाल्ने गर्थे । कार्यकर्ताले अघिल्लो दिनमै कुन बुथमा कति भोट खस्छ भनेर ठोकुवा गर्न सक्ने र दलहरूबिच भोट ट्रान्सफरको हिसाबकिताब मिल्ने अवस्था थियो।
तर, यो परम्परागत ‘भोटिङ मेकानिज्म’ धरान, काठमाडौँ र धनगढीको मेयर चुनावबाट भत्किन सुरु भयो। अघिल्लो संसदीय चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयले यसलाई झनै तहसनहस बनायो । अहिले आम मतदाताले स्थानीय नेता र अगुवा कार्यकर्ताको कुरा सुनेर भोट हाल्ने शैली चटक्कै त्यागेका छन् । आचार्यले यसको मुख्य कारण कुशासन र बेरोजगारीले जन्माएको दल र नेताप्रतिको बढ्दो वितृष्णालाई मानेका छन्।
सामाजिक सञ्जालको पहुँचले सूचनाको दायरा फराकिलो बनाएपछि कसलाई भोट दिने भन्ने विषयमा घर मुली वा स्थानीय नेताको आदेश चल्न छाडेको छ। परिवारका प्रत्येक सदस्यले आफ्नै विवेक प्रयोग गरेर मत दिन थालेका छन्।
यो प्रवृत्ति आम मतदातामा मात्र नभई दलकै स्थानीय नेता र कार्यकर्ताको परिवारमा पनि देखिन थालेको छ। अचेल घर मुलीको भन्दा पनि विदेशमा रहेका सन्तानको आग्रहमा अभिभावकले भोट हाल्ने नयाँ ट्रेन्ड विकास भएको आचार्यले उल्लेख गरेका छन्।
सत्ताको आश र त्रासमा भोट बटुल्ने पुरानो संयन्त्र पूर्ण रूपमा ध्वस्त हुनुलाई आचार्यले लोकतन्त्रका लागि सकारात्मक सङ्केत भनेका छन् । सामाजिक सञ्जालमा देखिने भ्रामक सूचनाका केही नकारात्मक पक्ष भए पनि आम जनताले चुनावमा आफ्नै विवेक प्रयोग गर्ने परिपाटीले नेपालको दलीय राजनीतिको अभ्यासलाई उल्लेख्य रूपमा बदल्ने उनको विश्लेषण छ।
यसले समाजमा रहेको अनावश्यक दलीयकरण हट्दै जाने भन्दै उनले यो अवाञ्छित रोगलाई पूर्ण रूपमा हटाउन स्थानीय चुनाव गैरदलीय आधारमा गर्नुपर्नेमा जोड दिएका छन्।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण