आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

धादिङ–१ : ८ पटक चुनाव लडेका पाण्डे पराजित

आइतबार, २४ फागुन २०८२, ०७ : ०९
आइतबार, २४ फागुन २०८२

धादिङ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत धादिङबाट ८ पटक चुनाव लडेका राजेन्द्र प्रसाद पाण्डे यस पटक पराजित भएका छन् । पहिलो पटक २०६४ मा चुनाव हारेका पाण्डे हालै सम्पन्न निर्वाचन पनि जित्न सकेनन् । 

२०४८ देखि हालसम्म निरन्तर चुनाव लड्दै आएका पाण्डेलाई यस पटक रास्वपाकी आशिका तामाङले पराजित गरिन् । २०६४ मा तत्कालीन माओवादी केन्द्रका शालिकराम जम्कट्टेलसँग चुनाव हारेका पाण्डे नेकपाका हेविवेट नेता हुन् । 

राजनीतिका चतुर खेलाडी पाण्डे २०४८ मा पहिलो पटक चुनाव लडेका थिए । २०४८ मा धादिङ–३ बाट चुनाव लडेका उनी विजयी भएका थिए भने २०५१ र २०५६ मा पनि धादिङ–३ बाटै चुनाव जितेका थिए । ०६२–६३ को जनआन्दोलपछि २०६४ मा धादिङ–३ बाट चुनाव लडेका पाण्डे तत्कालीन माओवादी केन्द्रका शालिकराम जम्कट्टेलसँग १० हजार ४५८ मतान्तरले हारे । जम्कट्टेलले २५ हजार ७५ मत पाउँदा पाण्डेले १४ हजार ५८० मत पाएका थिए ।

२०७० मा पुनः धादिङ–३बाट नै चुनाव लडेका पाण्डेले माओवादी नेता जमरकट्टेललाई ६ हजार ४९८ मतान्तरले हराए । पाण्डेले २२ हजार १९६ मत पाउँदा जमरकट्टेलले १५ हजार ६९८ मत पाए । २०७४ मा बागमती प्रदेशसभा सदस्य पदमा चुनाव लडेका पाण्डे निर्वाचन क्षेत्र पुन संरचना पछि बनेको धादिङ १ (क) बाट विजयी भए । २०७४ धादिङ १ (क) मा प्रदेशसभा सदस्यमा २७ हजार ३३२ मत सहित विजयी भएका पाण्डे बागमती प्रदेशका मुख्यमन्त्री समेत बने । 

एमालेबाट ६ वटा चुनाव लडेका पाण्डे २०७८ मा पार्टी विभाजनपछि माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा रहे । उनले २०७९ मा एकीकृत समाजवादीबाट धादिङ–१ चुनाव लडे । कांग्रेस, माओवादी केन्द्र बिचको गठबन्धनबाट चुनाव लडेका पाण्डेले सो चुनाव पनि जिते । सो निर्वाचनमा उनले एमाले उम्मेदवार भूमिप्रसाद त्रिपाठीलाई ८ हजार २१ मतान्तरले पराजित गरे । उनले ३६ हजा १८ मत ल्याउँदा एमालेका त्रिपाठीले २७ हजार ९९७ मत पाए ।

पञ्चायतदेखि गणतन्त्रसम्मको यात्रामा संसदीय राजनीतिका चतुर खेलाडी पाण्डेलाई हालै सम्पन्न निर्वाचनमा रास्वपाकी आशिका तामाङले हराइन् । उनी ३९ हजार १२८ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीले १५ हजार ३२ मत ल्याए ।  तामाङले २४ हजार ९६ मतान्तरले पराजित गरेकी हुन् । नेकपाबाट चुनाव लडेका पाण्डेले १४ हजार ७ सय ९ मत ल्याउँदा नेपाली कांग्रेसका कृष्ण रिजालले १० हजार ८० मत ल्याए ।

dhading-1-2026-03-08-07-06-15

पञ्चायती व्यवस्थादेखि संघीय गणतन्त्रसम्मको राजनीतिक यात्रामा पाण्डे निरन्तर रुपमा उपभोग गर्दै आएका छन् । नेकपाका वरिष्ठ नेता रहेका पाण्डेको राजनीतिक यात्रा २०३१ बाट सुरु भएको हो । विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका उनी पञ्चायत विरोधी आन्दोलनका क्रममा उनले जेल जीवन बिताएका थिए ।

२०४४ मा जिल्ला पञ्चायत निर्वाचनमा पाण्डे धादिङ जिल्ला पञ्चायतको सभापतिमा समेत निर्वाचित भएका थिए । २०६२/०६३ को आन्दोलनबाट संसद् पुनस्र्थापना भएपछि उनी स्थानीय विकासमन्त्री समेत बने । पाण्डे २०७८ साल कात्तिकदेखि २०७९ साल पुससम्म बागमती प्रदेशको मुख्यमन्त्री थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप