मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

बढ्दो ऋणको बोझले ओपनएआईको भविष्य जोखिममा

आइतबार, २४ फागुन २०८२, १० : ४१
आइतबार, २४ फागुन २०८२

सारांश

  • ओपनएआईले ठूलो लगानी जुटाए पनि नाफामूलक मोडेल तय गर्न नसक्दा समस्यामा परेको छ।
  • एनभिडियाले थप लगानी गर्ने संकेत गरे पनि आईपीओ निष्कासन नभएसम्म लगानी गर्न नसकिने बताएको छ।
  • एआई कम्पनीहरूको उच्च सञ्चालन खर्च र कानुनी मुद्दाहरूले ओपनएआईको भविष्य जोखिमपूर्ण बनाएको छ।

न्युयोर्क । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दुनियाँमा एकछत्र राज गरिरहेको ओपनएआई यतिबेला निकै कठिन मोडमा पुगेको छ। विश्वभरका लगानीकर्ताहरूको प्रिय बनिरहेको यस कम्पनीले अहिलेसम्म १६८ अर्ब डलरभन्दा बढी लगानी जुटाए पनि नाफामूलक व्यावसायिक मोडल तय गर्न नसक्दा ठुला प्रविधि कम्पनीहरू सशङ्कित हुन थालेका छन्। 

हालै एनभिडियाका सीईओ जेन्सन हुआङले ओपनएआईमा थप ३० अर्ब डलर लगानी गर्ने घोषणा गरे पनि यो अन्तिम लगानी हुन सक्ने सङ्केत दिएका छन्। सार्वजनिक शेयर (आईपीओ) निष्कासन नगरेसम्म कम्पनीमा थप पैसा खन्याउन नसकिने उनको भनाइले बजारमा नयाँ तरङ्ग पैदा गरिदिएको छ।

यसअघि चर्चा गरिएको १०० अर्ब डलरको पूर्वाधार लगानीबाट समेत एनभिडिया पछि हटेको छ। एनभिडियाले अहिले गर्न लागेको ३० अर्ब डलरको लगानी पनि सानो भने होइन। यो रकम एनभिडियाको वार्षिक आम्दानीको झन्डै आठौँ हिस्सा र पछिल्लो त्रैमासिक आम्दानीको ५० प्रतिशत बराबर हो। 

एनभिडियाको पछिल्लो वित्तीय प्रतिवेदनले राम्रो आम्दानी देखाए पनि ओपनएआई जस्ता घाटामा रहेका कम्पनीहरूमा गरिएको भारी लगानीका कारण शेयर बजारमा यसको मूल्यमा गिरावट देखिएको छ। लगानीकर्ताहरू एआई कम्पनीहरूको वास्तविक मूल्याङ्कन कसरी गर्ने भन्नेमा अन्योलमा छन्।

बोस्टन कलेजका एसोसिएट डिन अलेक्जेन्डर टोमिकका अनुसार एआई क्षेत्रको भविष्य सन् १९९० को दशकको इन्टरनेटजस्तै देखिएको छ, जहाँ सम्भावना त धेरै छ तर पैसा कमाउने स्पष्ट बाटो अझै फेला परेको छैन। ओपनएआईलाई अहिलेको मूल्याङ्कन पुष्टि गर्न सन् २०३० सम्ममा वार्षिक २०० अर्ब डलर आम्दानी गर्नुपर्ने चुनौती छ, जुन अहिलेको तुलनामा १५ गुणा बढी हो। अर्कोतर्फ, यसको सञ्चालन खर्च भने आकासिएको छ। एचएसबीसीको प्रक्षेपणअनुसार सन् २०३३ सम्ममा ओपनएआईको कम्प्युटिङ शक्ति व्यवस्थापनको दायित्व १.४ ट्रिलियन डलर पुग्न सक्छ।

माइक्रोसफ्टको अवस्था पनि उस्तै छ। ओपनएआईलाई आफ्नो क्लाउड प्लेटफर्म एजोरमार्फत सेवा दिइरहेको माइक्रोसफ्टको खर्च ६६ प्रतिशतले बढेपछि यसको शेयर मूल्यमा पनि ठुलो गिरावट आएको छ। एकातिर बढ्दो ऋण र अर्कोतिर प्रतिलिपि अधिकार तथा अन्य गम्भीर कानुनी मुद्दाहरूले ओपनएआईलाई घेरेको छ। 

कतिपय विज्ञहरूले त ओपनएआईसँग आगामी १८ महिनाका लागि मात्रै पुग्ने पैसा रहेको र त्यसपछि कम्पनी आर्थिक सङ्कटमा फस्न सक्ने चेतावनीसमेत दिएका छन्। उच्च राजस्वको चरणमा पुग्नका लागि चाहिने खर्बौँ डलरको लगानी र बढ्दो ऋणको बोझले ओपनएआईको भविष्यलाई जोखिमपूर्ण बनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप