कविन्द्र बुर्लाकोटीको युवा अभियानदेखि संसद्सम्मको यात्रा
गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी गोरखा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् । आइतबार साँझ क्षेत्र नं २ को निर्वाचन कार्यालयले २६ हजार ६ सय ६० मत प्राप्त गरेका बुर्लाकोटीलाई प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएको घोषणा गरेको हो ।
कुल एक लाख आठ हजार ५ सय ३३ मतदाता रहेको गोरखा २ मा ५७ हजार १५६ मत खसेको थियो । जसमध्ये ५४ हजार १४७ (९४.७३ प्रतिशत) मतमात्र सदर र तीन हजार नौ (५.२६ प्रतिशत) मत बदर भएको थियो । विजयी बनेका बुर्लाकोटीले सदर मतको ४९ प्रतिशत मत प्राप्त गरेका हुन् ।
बुर्लाकोटीले प्रतिस्पर्धी नेपाली कांग्रेसबाट उम्मेदवार प्रकाशचन्द्र दवाडीले भन्दा १४ हजार ९६० बढी मत प्राप्त गरे । दवाडीले ११ हजार ७०० मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका लेखनाथ न्यौपानेले ११ हजार ७३ मत प्राप्त गरे । अर्का प्रतिस्पर्धी नेकपा (एमाले)का मिलन गुरुङ (चक्रे मिलन)ले तीन हजार ८७ मत मात्र पाए ।
प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित बुर्लाकोटी राष्ट्रिय स्वतन्त्र पार्टीको संस्थापक सदस्यमध्येका एक हुन्। विसं २०७९ असारमा पार्टी स्थापना हुँदा उनी केन्द्रीय सदस्य थिए भने दुई महिनामै सहमहामन्त्री र दुई वर्षमै महामन्त्री बन्न सफल भए । अहिले पनि उनी रास्वपाका महामन्त्री हुन् ।
उनको जन्म २०३६ साल मङ्सिरमा बुबा राजाराम र आमा डम्मरकुमारी बुर्लाकोटीको सन्तानका रूपमा धादिङको सल्यानटारमा भएको थियो । पाँच वर्षको उमेरमा गोरखाको पालुङ्टार–९ मा बसाइँ सरी आएका अभिभावकले उनलाई धर्मोदय माविमा कक्षा १ मा भर्ना गरिदिएका थिए ।
गोरखा नगरपालिका–१२ स्थित महेन्द्र मावि कुन्दुरटारबाट एसएलसी पूरा गरेपछि नयाँजीवनको सुरुआत गर्न उनी राजधानी काठमाडौँ प्रवेश गरे । कमजोर आर्थिक अवस्थाबाट गुज्रिएका उहाँ एसएलसी उत्तीर्ण गरेपछि सरस्वती क्याम्पसमा कमर्स पढ्न सुरु गर्नुभयो । स्नातक तह अध्ययन गर्ने सिलसिलामा भने उनी युवा सशक्तीकरणका विभिन्न अभियानको संलग्न भए । फाइनान्समा स्नातकोत्तर गरेका उनले अस्ट्रेलियाको न्यू साउथवेल्स युनिभर्सिटीबाट ह्युमनराइट्स एन्ड बिजनेस कोर्स अध्ययन गरे ।
मलेसियाको आइकम इन्स्टिच्युटबाट उनले ‘युथ लिडरसिप’ कोर्स पूरा गरे । त्यसपछि २०५७ सालमा उनले भ्रष्टाचार विरोधी गतिविधि गर्ने संस्था युनाइटेड युथ नामक संस्था दर्ता गरी संस्थापक अध्यक्ष पदमा रहेर युवा सशक्तिकरण अभियान सुरु गरे । त्यसपछि २०६४ सालमा उनकै नेतृत्वमा देशभरका युवाको संस्थाहरूको सञ्जाल ‘नेपालयुवा संस्था सञ्जाल’ गठन भएको थियो ।
त्यस लगत्तै उनले २०६९ सालतिर फेरि अर्को युवाहरूको छाता संस्था ‘राष्ट्रिय युवा महासङ्घ’ दर्ता गरेका थिए । यसमा देशभरकै युवा संस्थाहरू आबद्ध थिए । “यो महासङ्घमा आबद्ध रहेका धेरै युवा अहिले मसँगै सांसद भएका छन्”, उनी भन्छन्, “यही बिचमा संयुक्त राष्ट्र सङ्घको नेपाल च्याप्टरको युथ एड्भाइजर भएर सन् २००८ देखि २०१२ सम्म काम गरेँ । एउटा बेसाएर खाने गरिब परिवेशमा गुज्रिएको म पछि युवा गतिविधिमा सरिक भएँ । तीस वटा देश घुम्ने मौका पाएँ ।”
पार्टीका लागि जीउ ज्यान दिएको प्रतिफल अहिले देश घण्टीमय भएको उनको बुझाइ छ । अहिले देशभरका नागरिकको रोजाइमा राष्ट्रिय स्वतन्त्र पार्टी पर्नाका पछाडि आफूहरूको इमानदारिता, क्षमता, दक्षता भएको उनको भनाइ छ । “नयाँ पार्टी त जति पनि थिए तर हामीमै किन यति धेरै विश्वास र भरोसा भयो भने हामीमा काम गर्न सक्ने क्षमता छ भनेर सबैले बुझेका छन्”, उनी भन्छन्, “अब यो विश्वास र भरोसालाई सदा सर्वदाका लागि टिकाइराख्नु हाम्रो चुनौती हो ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सकहरू विदेश पलायन हुने क्रम तीव्र, सन् २०२० यता ११ हजारभन्दा बढी बाहिरी मुलुकतर्फ
-
ई–पासपोर्ट छपाई प्रकरण : राहदानी विभागका महानिर्देशक अर्यालसहित सात जनाको बयान सुरु
-
कफीखेतीबाट बदलिँदै भोजपुरका किसानको जीवनस्तर
-
अमेरिकाले इरानमाथिको तेल प्रतिबन्ध बनायो खुकुलो
-
कतारको ग्यास प्रशोधन केन्द्रमा भएको विस्फोटमा मर्नेमा १२ जना भारतीय नागरिक
-
ठेक्कापट्टाको ढिलासुस्ती र ‘लो बिडिङ’ अन्त्य गर्ने गरी सार्वजनिक खरिद ऐन संशोधन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण