इलाम-१ मा निश्कल राईको ‘ब्रेक-थ्रु’
सारांश
- इलाम निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले २६ वर्षपछि जित हासिल गरेको छ, जसमा निश्कल राई विजयी भए।
- राईले नेकपा एमालेको विरासत तोड्दै श्रम संस्कृति पार्टीका उम्मेदवारलाई पराजित गरे, जसले कांग्रेसको पुनरागमन गरायो।
- विजयी राईले शिक्षा सुधार, रोजगारी, पूर्वाधार विकास र युवालाई मूलधारमा ल्याउने प्रतिबद्धता जनाए।
विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचन-२०८२ अन्तर्गत इलाम निर्वाचन क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसले २६ वर्षपछि सफलता हासिल गरेको छ । निकै कडा र रोचक प्रतिस्पर्धाबिच कांग्रेसका युवा नेता निश्कल राईले नेकपा एमालेको वर्षौँदेखिको विरासतलाई तोड्दै संसदको यात्रा तय गरेका हुन् । तर यो निर्वाचनमा कांग्रेसको निकटतम प्रतिद्वन्द्वी एमाले होइन, श्रम संस्कृति पार्टी बन्यो ।
अन्तिम मतपरिणाम अनुसार राईले १४ हजार ५४३ मत प्राप्त गरी विजयी भए । उनले आफ्ना निकटतम् प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका विनोद नेम्बाङलाई ९११ मतान्तरले पराजित गरे । नेम्बाङले १३ हजार ६३२ मत प्राप्त गरे । यो निर्वाचनले इलाम-१ मा २६ वर्षपछि कांग्रेसको पुनरागमन भएको छ । यसअघि २०५६ सालको निर्वाचनमा कांग्रेसका बेनुपराज प्रसाईंले तत्कालीन एमाले नेता झलनाथ खनाललाई पराजित गरेका थिए । त्यसयताका करिब तीन दशकसम्म यो क्षेत्रमा एमालेको पकड रहँदै आएको थियो ।
यसपटकको निर्वाचनमा इलाम–१ मा बहुपक्षीय र रोचक प्रतिस्पर्धा देखिएको थियो । एमालेका उम्मेदवार काजीमान कागतेले ११ हजार ९६६ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदालले ९ हजार १६० मत ल्याए । त्यसैगरी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रणबहादुर राईले ७ हजार ६६५ मत प्राप्त गरे ।
२०४८ सालयताका अधिकांश निर्वाचनमा एमालेले पकड जमाउँदै आएको यस क्षेत्रमा पछिल्लो पटक २०७९ सालको निर्वाचनमा एमालेका महेश बस्नेत निर्वाचित भएका थिए । त्यसबेला बस्नेतले २५ हजार ७५३ मत प्राप्त गर्दा पूर्वप्रधानमन्त्री झलनाथ खनाल २ हजार ६ सय ६४ मतान्तरले पराजित भएका थिए । उक्त निर्वाचनमा खनालले २३ हजार ८९ मत ल्याए ।
लामो समय एमालेमै रहेर यस क्षेत्रबाट एकलौटी जित हासिल गर्दै आएका खनालको संसदीय यात्रालाई २०७९ को नतिजाले रोकेको थियो भने यसपटक युवा नेता निश्कल राईको उदयले एमालेको विरासतलाई नै अन्त्य गरिदिएको छ । देशैभर कांग्रेसले हारिरहँदा इलामका कांग्रेस नेता तथा कार्यकर्ताका लागि भने राईको यो जितले खुसी बनाएको छ ।

३६ वर्षीय निश्कल इलामका लागि मात्र नभई राष्ट्रिय राजनीतिमै एक शिक्षित र वैचारिक युवा नेताका रूपमा परिचित छन् । विद्यार्थी राजनीतिबाट सार्वजनिक जीवन सुरु गरेका राईले व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् भने हाल उनी अर्थशास्त्रमा एमफिल अध्ययनरत छन् । उनको प्राज्ञिक पृष्ठभूमिले पनि मतदातालाई आकर्षित गरेको देखिन्छ ।
काठमाडौंस्थित शंकरदेव क्याम्पसमा प्राध्यापन गरेको अनुभवले उनलाई नेपालको शिक्षा प्रणाली, आर्थिक नीति र युवाहरूका समस्याका विषयमा गहिरो बुझाइ दिएको मानिन्छ । कांग्रेस इलाम–१ प्रदेश निर्वाचन क्षेत्र २ का क्षेत्रीय सभापति समेत रहेका राईले संगठन र जनस्तरमा आफ्नो बलियो उपस्थिति बनाएका थिए । कोशी प्रदेश सरकारको ‘हामी स्वयंसेवक’ कार्यक्रमका संयोजकका रूपमा उनले युवाहरूलाई विपद् व्यवस्थापन र सामुदायिक सेवामा जोड्ने काम गरेका थिए । उनी नेपाल रेडक्रस सोसाइटी र जागृति ग्रामीण विकास मञ्च नेपाल जस्ता सामाजिक संस्थाहरूमा आबद्ध थिए ।
अध्ययन र अनुभवको सिलसिलामा दक्षिण कोरिया र हंगेरी लगायत देशहरूको भ्रमण गरेका राईसँग अन्तर्राष्ट्रिय विकास र प्रविधिको ज्ञान समेत छ । जसलाई उनले आफ्नो निर्वाचन क्षेत्रको विकाससँग जोड्ने योजना बनाए ।
विजयपछि उनले इलाम–१ का मतदाताप्रति हार्दिक आभार प्रकट गर्दै शिक्षामा व्यापक सुधार, रोजगारीका अवसरहरूको सिर्जना, पूर्वाधार विकास र युवाहरूलाई राजनीतिक तथा सामाजिक मूलधारमा ल्याउने कार्यलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन् । उनको जितलाई लामो समयदेखि परम्परागत नेतृत्वको वरिपरि घुमिरहेको इलामको राजनीतिमा नयाँ पुस्ताको सशक्त उदयका रूपमा हेरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्यो हेटौँडा उपमहानगरपालिकाको बजेट, आगामी वर्षका लागि २ अर्ब ८५ करोडको बजेट पेस
-
रास्वपा महाधिवेशनः एक जनाले एक उम्मेद्वारको मात्र प्रस्तावक बन्न पाउने
-
चिकित्सकहरू विदेश पलायन हुने क्रम तीव्र, सन् २०२० यता ११ हजारभन्दा बढी बाहिरी मुलुकतर्फ
-
ई–पासपोर्ट छपाई प्रकरण : राहदानी विभागका महानिर्देशक अर्यालसहित सात जनाको बयान सुरु
-
कफीखेतीबाट बदलिँदै भोजपुरका किसानको जीवनस्तर
-
अमेरिकाले इरानमाथिको तेल प्रतिबन्ध बनायो खुकुलो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण