मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

राष्ट्रिय लिगमा लालीगुराँसको लगातार तेस्रो बराबरी

बुधबार, २७ फागुन २०८२, १८ : ०८
बुधबार, २७ फागुन २०८२

काठमाडाैँ । लालीगुराँस एशोसिएशनले लगातार तेस्रो खेलमा बराबरीको नतिजा व्यहोरेपछि जारी राष्ट्रिय लिगमा शीर्ष स्थानको दाबेदारी कमजोर भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको पहिलो खेलमा लालीगुराँस न्युरोड टिम (एनआरटी) क्लबसँग १–१ गोलको बराबरीमा रोकिन पुग्यो ।

लालीगुराँसका आशिष गुरुङ र एनआरटीका कप्तान अञ्जन बिष्टले गोल गरे । लालीगुराँसको लगातार तेस्रो बराबरीमा हो । यसअघि लालीगुराँसले आठाैँ खेलमा फ्रेण्ड्ससँग १–१ र नवौं खेलमा संकटा क्लवसँग गोलरहित बराबरीको नतिजा बेहोरेको थियो । दशौं खेलमा पनि लालीगुराँसले जित निकाल्न सकेन ।

सातौं चरणसम्म लिगमा अग्रता लिएको लालीगुराँसको शिर्ष स्थान होड कमजोर भएको छ । एक खेल कम खेलिसकेको मच्छिन्द्रसँग लालीगुराँस दुई अंकले पछि परिसकेको छ । यद्यपि, एनआरटीविरुद्ध लालीगुराँसले खेलमा पुनरागमन गरेको हो । आशिष गुरुङले निर्धारित समयको अन्तिम मिनेटमा गोल गरेपछि लालिगुराँस एसोसिएसनले न्युरोड टिम (एनआरटी) सँग अंक खोस्यो ।

एन्फा कम्प्लेक्समा नेपाली राष्ट्रिय टोलीका स्टार अञ्जन बिष्टको कप्तानीमा रहेको एनआरटी अन्तिम समयमा समालिन नसक्दा अंक गुमाउन पुगेको हो । कप्तान अञ्जनको गोलमा एनआरटीले २६औं मिनेटमा अग्रता लिएको थियो ।

तर अन्तिम मिनेटमा सम्हालिन नसक्दा एनआरटी अंक बाँड्न बाध्य भयो । जारी लिगमा एनआरटीको चौथो बराबरी हो । वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका आशिषले गोल गर्दै लालीगुराँसलाई हारबाट बचाएका हुन् ।

बराबरीपछि एनआरटीले लिगको दोस्रो स्थानमा उक्लिने अवसर पनि गुमाउन पुग्यो । अहिले एनआरटी सातौं स्थानमै सीमित भएको छ । १० खेलबाट एनआरटीले १९ अंक जोडेको छ । समान १० खेलबाट लालीगुराँस २० अंक जोड्दै चौथो स्थानमा उक्लियो ।

जितले लालीगुराँस कम्तिमा पनि शिर्ष दुईमा पुग्ने थियो । बुधवार नै भएको खेलमा जावलाखेल युथ क्लव र सातदोबाटो युथ क्लव १–१ को बराबरीमा रोकिए । जावलाखेल ९ खेलबाट १० अंक जोड्दै १०औं स्थानमा छ । सातदोबाटोलाई हराए टोलीले दुई स्थान सुधार गर्ने थियो । तर, इन्जुरी समयमा जगजित श्रेष्ठले गोल फकार्एपछि जावलाखेलको लक्ष्य पूरा भएन । सातदोबाटो ९ खेलबाट सात अंकसहित १४औं स्थानमा उक्लिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप